काठमाडौं, २४ आषाढ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमका थप एकजना पाइलट र तीन उडान कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिएको छ।
पाटन अस्पतालमा गरिएको परीक्षणमा उनीहरूमा संक्रमण पुष्टि भएको निगमकी प्रवक्ता अर्चना खड्काले जानकारी दिनुभएको छ।
निगमले संक्रमित चारजनालाई बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा उपचारका लागि लगेको छ। यसअघि पनि एयरलाइन्सका तीन पाइलटसहित १४ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको थियो।
त्यस पहिले पनि एक पाकिस्तानी मूलका पाइलटलाई कोरोना संक्रमण भएको थियो ।
उनीहरू सबै बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा उपचाररत छन्।
निगमले लकडाउनको अवधिमा चार्टर्ड उडान गर्न छनोट भएका पाइलटसहित उडान कर्मचारीलाई सोल्टी होटलमा क्वारेन्टाइनमा राख्दै आएको छ।
खड्काका अनुसार उनीहरूलाई चारवटा उडानपछि पिसिआर परीक्षण गरेर घर पठाइने गरिएको छ।
विभिन्न देशको उद्धार उडानमा जाने उडान कर्मचारीलाई कुन उडानका यात्रुहरुबाट कोरोना भाइरस सरेको हो पत्ता नलागेकोले निगमले उद्धार गरी ल्याएका सबै यात्रुहरुलाई स्थानीय तहमा कडा निगरानी गर्न सुझाइएको छ ।


















