Prakash Adhikari July 12, 2020

काठमाडौं, २८ आषाढ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी ओलीको नेतृत्वमा चलेको नेपाल कम्युनिष्ट पार्टीको सरकारले संविधानले अंगीकार गरेको समाजवादलाई भ्रष्टाचार,अनियमितता र लुटतन्त्रमा रुपान्तरण गरेको आरोप लगाउनुभएको छ ।

गण्डकी प्रदेशका नेपाली कांग्रेस नेता कार्यकर्ताहरुसंगको अर्चुअल बैठकमा नेता पौडेलले सो आरोप लगाउनुभएको हो ।

उहाँले संसदको दुई तिहाई मत लिएर प्रधानमन्त्री बन्नुभएका ओलीको पालामा भएका वाइडबडी विमानको खरिदको अर्बौै घोटाला, सेक्युरिटी प्रेस खरिदको काण्ड, ३३ किलो सुन काण्ड, गोकर्ण फरेष्ट रिसोर्ट र यति समूह प्रकरण, कोरोना जस्तो विश्वव्यापी महामारीबाट आम नागरिकलाई जोगाउन खरिद गरिएको औषधी र औषधोपचारका सामग्रीमा समेत भ्रष्टाचार अनियमितता प्रकरणले कम्युनिष्ट नेताहरु जनतालाई राष्ट्रियताको चर्को मुद्दामा अल्झाएर आफू देश र जनता लुटेर ऐश आराम र भोगविलासमा लिप्त हुन्छन भन्ने कुरालाई पुष्टि गरेको बताउनुभयो ।

राष्ट्रियताको मुद्दालाई प्रधानमन्त्री ओलीले कागजी बाघ मात्र बनाएको बताउनुभयो । उहाँले प्रधानमन्त्री ओलीले आफूले विगतमा गरेका गलत क्रियाकलापलाई छायामा पार्न चर्को राष्ट्रवादको नारा उचालेको आरोप प िन लगानउनुभयो ।

प्रधानमन्त्री ओलीले आफू परराष्ट्रमन्त्री हुँदा नेपालको परराष्ट्र र सुरक्षा मामिला छिमेकी राष्ट्रलाई दिनुपर्छ भनेर ३ पटक प्रस्ताव क्याबिनेटमा लैजादा तात्कालिन उपप्रधान तथा स्वास्थ्य मन्त्री एवम् संयुक्त जनमोर्चाका अध्यक्षलाई अगाडि सारेर तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले सो प्रस्ताव तुहाउन लगाउनु भएको थियो ।

कांग्रेसका वरिष्ठ नेता पौडेलले कुटनीतिक वार्ताका माध्यमबाट समाधान गर्नुपर्ने कतिपय विषयलाई राष्ट्रवादको श्रीपेच लगाएर विगतका पाप पखाल्ने पाखण्ड गर्दा अप्ठ्यारो अवस्थामा पुर्याएको आरोप पनि उहाँले लगाउनुभयो । नेपालको ब्यापारिक,आर्थिक,सामाजिक,धार्मिक,सांस्कृतिक सम्बन्धलाई समेटेर शान्त कुटनीतिक मार्गबाट सुल्झाउन सकिने सीमा विवादलाई फर्किन नसकिने बिन्दुमा लगेर वेवारिस बनाएर छोडेको आरोप पनि उहाँले लगाउनुभयो ।

कांग्रेस नेता पौडेलले कम्युनिष्टहरुले जनतालाई समाजवाद र समानताको नारा भट्याउन लगाएर आफूभने भ्रष्टाचार गरेर नयाँ सामान्त,सभ्रान्त र पूँजीपतिको वर्गमा स्तरोन्नति भएको आरोप पनि लगाउनु भयो ।

कांग्रेसका वरिष्ठ नेता पौडेललले कांग्रेसको १४ औं महाधिवेशन फागुनमा हुँदैन कि भन्ने शंका नगर्न आम नेता कार्यकर्तालाई आग्रह गर्दै फागुनमा महाधिवेशन नगर्नका सक्रिय हुनेहरुलाई खबरदारी गर्न आग्रह गर्नुभयो ।

नेता पौडेलले क्रियाशील सदस्य वितरण गरेको दुई महिनामा सबै स्थानीय अधिवेशन सम्पन्न हुने स्पष्ट पार्नुभयो ।

कांग्रेस नेता पौडेलले कम्युनिष्टहरुले संसदीय व्यवस्थालाई बदनाम गर्ने र यसको स्वस्थ्य प्रयोगबाट आर्थिक र सामाजिक विकास हुन नदिने नियत राखेको उल्लेख गर्दै पहिलो संविधानसभामा तत्कालिन सभामुख र प्रधानमन्त्रीले व्यवस्थालाई बदनाम गराउनका लागि प्रधानमन्त्रीको चुनाव १७ १७ पटक गराएको बताउनुभयो ।

कम्युनिष्ट सिद्धान्त भएका सभामुख र प्रधानमन्त्रीले संसदीय व्यवस्थाको बदनाम गराउनका लागि निर्विरोध प्रधानमन्त्री घोषणा गर्न छोडेर १७ पटक चुनाव गराएको बताउनुभयो ।

उहाँले कांग्रेसको नेतृत्व विना संसदीय लोकतन्त्रको स्वस्थ्य विकास र आर्थिक तथा सामाजिक विकास र समुन्नति पनि कोरा कल्पना बाहेक केही हुन नसक्ने बताउनुभयो ।

Share Now

Leave a comment.