काठमाडौंm २८ आषाढ । कुमारी बैंक लिमिटेडले साविकको देवःविकास बैंक लिमिटेडलाई प्राप्त गरी आइतबारदेखि आधिकारिक रुपमा एकीकृत कारोबार शुभारम्भ गरेको छ ।
दुवै बैंकको एकीकृत कारोबार कुमारी बैंकको नाममा भएको छ ।
कुमारी बैंक लिमिटेडको टंगालस्थित प्रधानकार्यालयमा आयोजित एक कार्यक्रममा कुमारी बैंक लिमिटेडका अध्यक्ष अमिर प्रताप जब राणा तथा साविकको देवःविकास बैंकका अध्यक्ष तथा नेपाली सेनाका अवकाशप्राप्त उपरथी बज्र गुरुङले संयुक्त रुपमा समुद्घाटन गर्दै एकीकृत कारोबारको शुभारम्भ गर्नु भएको हो ।
शुभारम्भ समारोहलाई सम्बोधन गर्दै दुवै अध्यक्षहरुले एकीकृत भएपछि बैंक पूँजी कोष,जनशक्ति, शाखा सञ्जाल लगायत निक्षेप र लगानीमा पनि सबल भएको दावी गर्नुभयो ।
देव विकास बैंकलाई प्राप्त गरेपछि कुमारी बैंकको सेयर पूँजी रु १२.५२ अर्ब, कुल निक्षेप रु १ सय २४ अर्ब, कुल कर्जा प्रवाह रु. १ सय १२ अर्ब कुल शाखा एवं एक्सटेन्सन काउन्टर संजाल २ सय १६, एटीएम संख्या १ सय ३८ लगायत तथा पुगेको छ ।
एकीकृत बैंक पहिले भन्दा सबल भई आगामी दिनमा बैंकका शाखा÷एटीएम विस्तारित तथा बैंकिङ्ग सेवा सुविधा अझै उत्कृष्ट र ग्राहकमुखी हुदैं जाने विश्वास बैंकको व्यवस्थापनले लिएको छ ।
कुमारी विकास बैंक र देव विकास बैंक बीच १ : ०.८६ को दरमा अर्थात देवः विकास बैंकको १०० कित्ता सेयर कुमारी बैंकको ८६ कित्ता शेयर बराबर हुने गरी एकापसमा गाभिने संझौता भएको थियो ।


















