फ्लोरिडा(संयुक्त राज्य अमेरिका), २९ आषाढ (बीबीसी) । संयुक्त राज्य अमेरिकाको फ्लोरिडा राज्यमा घातक कोरोेना भाइरसको प्रकोप अनपेक्षित गतिमा बढेको छ ।
अमेरिकी राज्य फ्लोरिडामा कोरोनाभाइरस सङ्क्रमितहरूको गन्ती एकैदिनमा अहिलेसम्मकै उच्च १५ हजार २ सय ९९ पाइएको छ।फ्लोरिडामा बढेको सङ्ख्या अमेरिकाभर पछिल्लो चौबीस घण्टामा बढेको सङ्क्रमितको झण्डै एक चौथाइ हो।
७ प्रतिशत अमेरिकी जनसङ्ख्या भएको उक्त राज्यले यसअघि क्यालिफोर्नियामा रहेको दैनिक उच्च वृद्धिको विन्दु तोडेको हो।
यससँगै अमेरिकामा यस महामारीको अवस्था थप गहिरिएको ठानिएको छ।
अवस्था

फ्लोरिडालाई यदि एउटा देश मान्ने हो भने नयाँ सङ्क्रमितको सङ्ख्याका आधारमा यो यतिखेर विश्वमै चौथो नम्बरमा पर्ने रोयटर्स समाचार संस्थाको एक विश्लेषणले जनाएको छ।
यस्तो वृद्धिसँगै उक्त राज्यको स्वास्थ्य प्रणालीमा निकै चाप परेको देखिएको छ।
चार दर्जनभन्दा बढी अस्पतालहरूले आफ्नो सघन उपचार क्षमता पूर्ण अवस्थामा चलिरहेको बताएका छन्।
यो विवरणले एप्रिल महिनामा न्यूयोर्कमा देखिएका निकै खराब दैनिक वृद्धिका दरलाई छायाँमा पारिदिएको छ।
पछिल्लो एकदिनमा थप ४५ जनाले उक्त राज्यमा भाइरसका कारण ज्यान गुमाएका छन्।
महामारी सुरु भएयता अमेरिकामा १,३४,००० भन्दा बढी मानिसहरूको कोभिड(१९ का कारण मृत्यु भएको छ।
दबाब
फ्लोरिडाले मे महिनाबाट कोरोनाभाइरसका कारण लगाइएको प्रतिबन्ध खुकुलो पार्न थालेको थियो।
जुन त्यहाँको पर्यटन र वृद्धवृद्धाको जनसङ्ख्याका कारण असुरक्षित पाइएको छ।
रिपब्लिकन पार्टीबाट प्रतिनिधित्व गर्ने राज्यका गभर्नर रोन देशान्तिसले मानिसहरूलाई मास्क लगाउन निर्देशन नदिनाले यस्तो अवस्था आएको भन्दै आलोचना भइरहेको छ।

फ्लोरिडामा चार दर्जनभन्दा बढि अस्पतालहरूले आफ्नो सघन उपचार क्षमता पूर्ण अवस्थामा चलिरहेको बताएका छन्।तस्बिर स्रोत,भ्एब्
गभर्नरले त्यस्तो निर्णय लिने काम स्थानीय निकायहरूलाई छोडेका थिए।
उनले लकडाउन लगाउन रूचि देखाएका थिएनन् र प्रतिबन्धहरू समेत छिट्टै खुकुलो पारेका थिए।
पछिल्लो महिनाबाट उनले पुनस् केही बारहरूमा प्रतिबन्ध लगाउन थाले पनि त्यसले वृद्धिको क्रम रोकेको थिएन।
आलोचना
ह्वाइटहाउसको कोरोनाभाइरस सम्बन्धी कार्यदलका प्रमुख सल्लाहकार डा. एन्थोनी फाउचीले सङ्क्रमित वृद्धिको क्रमले लकडाउन खुलाउन नसुझाएको भन्दै फ्लोरिडाको त्यस्तो कदमको आलोचना गर्नुभएको थियो।
अमेरिकामा मास्क लगाउने विषयको निकै राजनीतिकरण भएको देखिन्छ।
मास्क विरोधी मतले त्यसले व्यक्तिगत स्वतन्त्रतामा हानी गर्ने बताउने गरेका छन्।
थुप्रै राज्यमा मास्क र अन्य कोरोनाभाइरससँग जुझ्ने उपायका विरूद्धमा प्रदर्शनहरू भएका थिए।
अमेरिकाभर पछिल्ला दिनमा दैनिक ६० हजार जति नयाँ सङ्क्रमितहरू थपिएका छन्।
सङ्क्रमितहरू निरन्तर बढिरहेका अन्य राज्यहरूमा एरिजोना, क्यालिफोर्निया र टेक्सस रहेका छन्।


















