Prakash Adhikari July 17, 2020

 

काठमाडौं, २ साउन । नेपाली कांग्रेसभित्र १४ औं महाधिवेशनको दाउपेच चल्न थालेको छ ।

महाधिवेशनको तिथि मितिको टुंगो लागेर सबै संरचनाको निर्वाचनको कार्यतालिका सार्वजनिक भएपछि भावि निर्वाचन आफ्नो पक्षमा पार्न सभापति शेरबहादुर देउवा पार्टीका ४७ वटा विभागलाई पूर्णता दिन प्रयासरत देखिनु भएको छ भने उहाँको विरुद्धमा रहेको समूह त्यसलाई रोक्न ।

निर्वाचित कार्यसमितिको निर्धातिर ४ बर्षे कार्यकालको अधिकांश समय बुढानील कण्ठको आफ्नो निवासको आलिशान महलभित्रै गुजार्नु भएका पार्टी सभापति शेरबहादुर देउवाले त्यसपछि थपिएको एक बर्षको कार्यकाललाई सदुपयोग गरी चुनावी नतिजा आफ्नो पक्षमा पार्ने प्रयास गर्नुभएको छ ।

No photo description available.

त्यसका निमित्त पार्टीका विभागहरुलाई पूर्णता दिन गृहकार्य गरिएको र केही विभागबाट विभिन्न व्यक्तिहरुलाई विभिन्न पदमा मनोनयन गरिएको सूचना सार्वजनिक भएपछि पार्टीका वरिष्ठ नेता तथा १३ औं महाधिवेशनमा उहाँका प्रतिद्धन्दि रामचन्द्र पौडेलको नेतृत्वमा निर्वाचित महामन्त्री डा. शशांक कोइराला र कोषाध्यक्ष सीतादेवी यादवले बिहिबार पार्टी केन्द्रीय कार्यालयमा सो कार्य निर्वाचन आचारसंहिताको समेत विरुद्ध भएको भन्दै रोक्न संयुक्त निवेदन दिनुभएको छ ।

कांग्रेसका नेता त्रयले महाधिवेशन भएको ६ महिनाभित्र गठन भइसक्नुपर्ने विभागहरु अर्को महाधिवेशनको प्रक्रिया सुरु भइसकेपछि गठन गर्नु विधान र निर्वाचन आचारसंहिता विपरीत भएकोले सो कार्य रोक्न अनुरोध गर्नुभएको छ ।

नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा रहेको निर्वाचन समितिलाई बुझाएको उजुरीमा भनिएको छ, ‘निर्वाचनको सर्वमान्य मान्यता एवं आचारसंहिता विपरीत हुन गइरहेको यो कार्य आसन्न महाधिवेशनलाई अनुचित प्रभाव पर्ने दुराशयबाट समेत प्रेरित भएको हुँदा तत्काल रोक्न र बदर गर्न गराउन पार्टी सभापति र निर्वाचन समितिको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छौं ।’

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला र कोषाध्यक्ष सीतादेवी यादवले विधि र पद्धति मिचेर गठन भएका विभागहरु अस्वीकार गर्ने प्रतिबद्धता व्यक्त गर्दै महाधिवेशनको मुखमा दिइने पदमा लोलुप नहुन विवेकशील र इमान्दार कार्यकर्ताहरुलाई आह्वान पनि गर्नुभएको छ।

गत २६ मंसिरमा भएको केन्द्रीय कार्यसमिति बैठकमा विधानमा रहेको २८ वटा विभागलाई बढाएर ४२ बनाउने प्रस्ताव पेस भए पनि ११ पुसमा भएको बैठकले बहुमतका आधारमा निर्णय गर्दै केन्द्रीय विभागको संख्या ४७ बनाउने निर्णय गरेको थियो । पौडेल समूहको बहिष्कारका बीच सो बैठकले १४ औं महाधिवेशन २०७७ फागुन ७ देखि १० सम्म काठमाडौं गर्ने निर्णय गर्दै २०७६ फागुन १९ गते सकिने कार्यकाललाई विशेष परिस्थिति भन्दै १ वर्ष थप गरेको थियो।
महाधिवेशनको कार्यतालिकाबारे संस्थापन र पौडेल समूहबीच सहमति भएपनि विभागबारे विवाद कायमै थियो ।

पार्टी सभापति देउवाले आफू निकटका नेताहरुलाई विभाग प्रमुख मनोनित गरिसक्नुभएको छ भने पौडेल पक्षको चर्को विरोधपछि सदस्यहरुको नियुक्ति रोकिएको थियो ।

कांग्रेस सभापति देउवा आफ्ना पक्षमा लागेका वा तटस्थ देखिएका प्रभावशाली र सक्रिय कार्यकर्ताहरुलाई विभागमा स्थान दिएर १४ औं महाधिवेशनभरि आफ्नो पक्षमा परिचालन गर्ने रणनीतिमा हुनुहुन्छ भने उहाँको विरुद्धमा रहेको पौडेल,कोइराला र यादवको समूह साढे चार बर्ष मौका पाउदा कसैलाई कुनै जिम्मेवारी नदिएर सम्पूर्ण अधिकार आफूमा निहित गर्ने अधिनायवादी व्यक्तिले चुनावको मुखमा पार्टीको विधान र निर्वाचनको आचारसंहिता एवम् लोकतान्त्रिक मूल्य,मान्यता र मर्म विपरीत दिएको नियुक्तिबाट कार्यकर्ताहरुलाई ध्रुबीकरण गर्न बाहेक कुनै उपलब्धि वा लाभ नहुने दावी गरिरहेको छ ।

जसरी पार्टीको बैठक बहिष्कार गरेर विभागहरुको गठनमा पौडेल समूहले देउवालाई यो बिचमा डेग चल्न दिएन पौडेल समूहको त्यही नीतिले अबका केही महिना काम गर्दछ कि गर्दैन प्रतीक्षाको विषय भएको छ ।

Share Now

Leave a comment.