काठमाडौं, ६ साउन । नेपाली कांग्रेसका संस्थापक नेता तथा लामोसमयसम्म सभापति रहनु भएका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको योगदानको स्मरण गरी ३८ औँ स्मृति दिवस आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ।
नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर सङ्घर्ष गर्नुभएका कोइरालाको विसं २०३९ साउन ६ गते निधन भएको थियो।

कोइरालाको जन्म विसं १९७१ भदौ २४ गते भएको हो। विसं २०१५ को संसदीय निर्वाचनपछि २०१६ जेठमा पहिलो निर्वाचित प्रधानमन्त्री बन्नुभएको थियो।
जीवनको लामो समयसम्म काङ्ग्रेसको नेतृत्व गरी २०१५ सालको आमनिर्वाचनमा पार्टीले दुई तिहाइ बहुमत प्राप्त गरेपछि प्रथम जननिर्वाचित प्रधानमन्त्री बनेका कोइरालाले नेपालमा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका लागि राजनीतिक नेतृत्व प्रदान गर्नुभयो ।
प्रधानमन्त्रीत्वकालमा उनले बिर्ता उन्मूलन र ‘जग्गा जोत्नेको हुनुपर्छ’ भन्ने भूमिसुधार कार्यक्रम अगाडि बढाउनुभएको थियो।
विसं २०१७ पुस १ गते शाही नेपाली सेनाको शक्तिका भरमा जननिर्वाचित सरकार अपदस्त गरिएपछि कोइरालालगायत नेतालाई सिंहदरबारमा बन्दी बनाइएको थियो। एक महीनापछि सेनाको सुन्दरीजल आर्सनलका प्रमुखको सरकारी निवासलाई वरिपरि पर्खालले घेरेर प्रधानमन्त्रीबाट अपदस्थ नेता कोइराला, विघटित संसद्का प्रथम सभामुख कृष्णप्रसाद भट्टराई, अपदस्त मन्त्रीपरिषद्का निर्माण, सञ्चार तथा नहर मन्त्री गणेशमान सिंहलगायतका मन्त्रीलाई सुन्दरीजल बन्दीगृहमा बन्दी बनाइएको थियो।
२०१६ साल असार १६ गते गठन भएको मन्त्रिमण्डल
- १ प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला – रक्षा मन्त्रालय
- २. उपप्रधानमन्त्री सुवर्णसम्शेर ज.ब.रा. – अर्थ, योजना तथा विकास मन्त्रालय
- मन्त्री
- ३. गणेशमान सिंह – निर्माण, सञ्चार तथा नहर
- ४. सूर्यप्रसाद उपाध्याय – गृह तथा कानुन
- ५. रामनारायण मिश्र – उद्योग वाणिज्य
- ६. काशीनाथ गौतम – स्वास्थ्य, स्थानीय स्वायत्तशासन
- ७. परशुनारायण चौधरी – शिक्षा
- ८. शिवराज पन्त – खाद्य, कृषि र वन
- ९. सूर्यनाथदास यादव – संसदीय प्रवन्ध
- १०. प्रेमराज आङदेम्बे – ग्राम-विकास
- ११. डा. तुलसी गिरी – परराष्ट्र
- सहायकमन्त्री
- १२. त्रिवेणीप्रसाद प्रधान – योजना विकास
- १३. ललित चन्द – सञ्चार, निर्माण र नहर
- १४. द्वारिकादेवी ठकुरानी – स्वास्थ्य र स्थानीय स्वायत्तशासन
- १५. मीनबहादुर गुरुङ – रक्षा
- १६. जमानसिंह गुरुङ् – मालपोत
- १७. नेवबहादुर मल्ल – वन
- १८. योगेन्द्रमान शेरचन – खाद्य कृषि
- १९. शिवप्रसाद शाह – अर्थ र आयकर
- २०. दिवानसिंह राई – गृह
- २१. होराप्रसाद जोशी – कानुन
घाँटीको क्यान्सर रोगले पीडित नेता कोइरालालाई विसं २०२५ मा स्वास्थ्य परीक्षणका लागि कारागारमुक्त गरिएपछि उहाँले आठ वर्षसम्म भारतमा निर्वासित जीवन बिताउनुभएको थियो।
भारतमा निर्वासित भएर प्रजातन्त्र पुनस्र्थापनाका पक्षमा २०२९ सालमा सशस्त्र सङ्घर्षको सञ्चालन गर्नुभएका कोइराला छिमेकमा रहेका दुई ठूला देशहरुले साना र छिमेकमा रहेका कमजोर राष्ट्रलाई आफूमा गाभ्ने नीति लिएको देखेपछि राष्ट्रियता कमजोर भएको विश्लेषण गरी आठ वटा ज्यान मुद्दाको पर्वाह नगरी २०३३ साल पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्कनुभएको थियो। उहाँद्धारा प्रतिपादित राष्ट्रिय मेलमिलापको नीति आज पनि मुलुकको राजनीतिमा उत्तिकै सान्दर्भिक छ।
प्रथम जननिर्वाचित सरकारका प्रधानमन्त्री, संसद्का सभामुख एवम् मन्त्रीहरुलाई बन्दी बनाइएको सुन्दरीजल बन्दगृहलाई विसं २०६१ भदौ २४ गते विपी सङ्ग्रहालयका रुपमा उद्घाटन गरिएका थियो।
वी.पीको जीवनकालमा उहाँले प्रजातन्त्र स्थापना तथा पुनस्थापनाको संघर्षमा उपयोग गर्नुभएका सामग्री सहित उहाँको व्यक्तिगत उपयोगका महत्वपूर्ण सामग्रीहरुको सङ्कलन गरी दर्शनीय बनाइएको सङ्ग्रहालय २०७२ साल वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त भई हाल पुनःनिर्माण भइरहेको छ।
सङ्ग्रहालयमा वी.पीको जीवनका महत्वपूर्ण सामग्रीका साथै विसं २००७ सालको क्रान्तिमा प्रयोग गरिएको ट्याङकर, काङ्ग्रेसले २०२९ सालमा क्रान्तिलाई खर्च जुटाउन अपहरण गरेको नेपाल वायु सेवा निगमको विमान पनि राखिएको छ।
वी.पी स्मृति दिवसका अवसरमा काङ्ग्रेस, भ्रातृ संस्था र विपी सङ्ग्रहालय समितिले कार्यक्रम गर्ने छ।
वी.पी.का मूल्य,मान्यता,विचार र आर्दशको खोजी
सादा जीवन शैली, समाजमा वर्गान्तर कम गरी सबैको व्यक्तित्व विकासको अवसर दिलाउने तथा न्यायपूर्ण, विभेदरहित सामाजिक व्यवस्थाको माध्यमबाट आर्थिक समुन्नति गराउने प्रजातान्त्रिक समाजवादका प्रणेता कोइरालाको विचार,आचारण र ब्यबहार तथा उहाँले सामाजिक विकासका लागि देखाएको प्रजातान्त्रिक समाजवादको आदर्शलाई नेपाली कांग्रेसले विर्सदै गएकोले नेपाली जनतालाई राणाहरुको जहानिया र तानाशाही व्यवस्थाबाट मुक्त गराउने, राजाको प्रत्यक्ष नेतृत्वमा रहेको निर्दलीय पञ्चायतलाई परास्त गरी देशमा सबै राजनीतिक विचारमा आस्था राख्ने व्यक्तिहरुले आर्थिक तथा सामाजिक विकासको लागि राजनीतिमा लाग्न पाउने बहुदलीय संसदीय लोकतान्त्रिक व्यवस्थाको पुनस्थापना गराउने र निरड.कुश राजतन्त्रको जरो उखलेर गणतन्त्रको स्थापना मात्रै हैन, त्यसलाई संस्थागत गर्न जननिर्वाचित संंविधानसभाबाट संघीयतासहितको लोकतान्त्रिक संसदीय परिपाटीमा आधारित राजनीतिक व्यवस्थालाई केन्द्रमा राखेर मौलिक संविधान निर्माण गर्ने कार्यको सफल नेतृत्व गर्ने नेपाली कांग्रेस त्यसलाई कार्यान्वयन गर्ने निर्वाचनमा पराजित बन्नुलाई नेतृत्वको कमजोरीको रुपमा लिइएको छ ।
वी.पी.कोइराला जसले १८ महिना सरकारको नेतृत्व गर्दा तात्कालीन राष्ट्रप्रमुख राजा, नेपाली कांग्रेसले २००७ सालको जनक्रान्तिबाट विस्थापित गरेका राणा शासकका अवशेषहरुको विरोधलाई झेल्दै आर्थिक सामाजिक सुधारका साथै शैक्षिक विकास र पूर्वाधार विकासमा देशलाई नयाँ गतिदिनुभयो, २०४६ सालको राजनीतिक परिवर्तन पछि सत्ता सम्हाल्ने अवसर पाएका कांग्रेसका सरकारहरुले उहाँले नेपाली कांग्रेस र नेपालका लागि उपयोगी संझेर प्रतिपादित गर्नुभएको प्रजातान्त्रिक समाजवादको मर्मलाई आत्मसात गर्न नसक्दा, त्यस अनुरुपको लक्ष्य तथा त्यसलाई हासिल गर्ने नीति तथा कार्यक्रम तर्जुमा गरेर कार्यान्वयन गर्न नसक्दा आम जनताले समाजवादमुखी बैकल्पिक शक्तिको खोजीमा कम्युनिष्टहरुलाई रोजेको यथार्थलाई नेपाली कांग्रेसले आत्मसात गर्न जरुरी छ ।
सत्ता सञ्चालन गर्दा समेत आर्थिक अनियमितता, भ्रष्टाचार, कमजोर शासनको दाग लाग्न नदिनुभएका वी.पी. कोइरालाले आफ्नो आदर्श र पार्टीलाई बचाउन जेलको कठोर जीवन रोज्नुभएको यथार्थलाई नेपाली कांग्रेसको वर्तमान नेतृत्वले अझै आत्मसात गर्न बाँकी छ किनकी वर्तमान नेतृत्वले सत्ताको लागि पार्टीको मूल्य,मान्यता,आदर्शलाई नै बन्धक राखेको देखिएको छ । संसदमा प्रतिपक्षमा रहेको दलले आफ्नो प्रतिद्धन्दी पार्टीको सरकारको सत्तायात्रालाई सुगम बनाउन जनताका एजेण्डामा नबोलेर,सरकारको सरकारको सत्ता यात्रालाई निष्कण्टक बनाउन आफ्ना एजेण्डा बेचेको रहस्य सत्तारुढ नेकपाभित्र संकट उत्पन्न भएपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न पुगेको कांग्रेस तथा नेकपाका दोस्रो तहका नेताहरुले उजागर गरेका थिए ।
आफ्नो र जनताका एजेण्डा समेत बेचेर खाने व्यक्तिका हातमा पार्टी पुगेको बेला वी.पी.ले नेपाल र नेपाली कांग्रेसका लागि प्रतिपादित गर्नुभएको प्रजातान्त्रिक समाजवादको मूल्य,मान्यता,आर्दश र त्यसको प्राप्तिका लागि तय गर्ने लक्ष्य, नीति,कार्यक्रमहरुको कांग्रेसभित्रै खोजी भैरहेको छ । यद्यपि उहाँले प्रतिपादित गर्नुभएको प्रजातान्त्रिक समाजवादको निर्माणको लक्ष्य संविधानको प्रस्तावनामा अभिलिखित गरिएको छ ।
साहित्यमा वी.पीको योगदान
उहाँले नेपाली साहित्यका क्षेत्रमा पनि महत्वपूर्ण योगदान पुर्याउनुभएको छ।
प्रजातान्त्रिक समाजवादका चिन्तक एवम् प्रयोक्ता कोइरालाले स्वतन्त्र रुपमा चिन्तन, आयाम, परम्परा र शैली दिएर साहित्यका माध्यमबाट नेपाली वाङ्मयलाई शिखरमा पु¥याउन योगदान दिनुभयो। नेपाली साहित्यमा मनोवैज्ञानिक यथार्थवादी धाराका प्रवर्तक कोइरालाका डेढ दर्जन कृति प्रकाशित छन्। उहाँका ‘तीन घुम्ती’, ‘मोदी आइन’, ‘हिटलर र यहुदी’, ‘सुम्निमा’, ‘नरेन्द्रदाइ’, एवम् ‘बाबु, आमा र छोरा’ गरी छ उपन्यास प्रकाशित भएका छन्।
त्यसैगरी दुई कथा सङ्ग्रह ‘श्वेत भैरवी’ र ‘दोषी चस्मा’, हरिप्रसाद शर्माको सम्पादनमा ‘विश्वेश्वरप्रसाद कोइरालाका कथा र कविता’, प्रकाशित छ।
वरिष्ठ अधिवक्ता गणेशराज शर्मासँगको वार्तामा आधारित ‘आत्मवृत्तान्त’, सुन्दरीजल बन्दी गृहमा बस्दाको दैनिकीमा आधारित ‘जेल जर्नल’, विसं २०३३ पुस १६ गते राष्ट्रिय एकता र मेलमिलापको नीति लिई स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधै सुन्दरीजल बन्दी गृहमा लगिएपछि लेखिएको दैनिकी ‘फेरि सुन्दरीजल’ ले नेपालको तत्कालीन राजनीतिक अवस्थाको यथार्थ चित्रण गरेको छ।
ज्ञाननिष्ठ ज्ञवालीको सम्पादनमा प्रकाशित सिसार पत्रिकामा ‘साहित्यमा प्रगतिशीलता’ विषयक कोइरालाको निबन्ध लगायत रचना पनि प्रकाशित छन्।








