Prakash Adhikari May 17, 2026

काठमाडौं, ३ जेठ । विशेष महाधिवेशनबाट निर्वाचित नेपाली काग्रेसका सभापति गगनकुमार थापाले सो महाधिवेशनमा नसमेटिएको पार्टी पड.तिमा जाने चाहना व्यक्त गर्नुभएको छ । उहाँले १४ औं महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई ससम्मान पार्टीमा राखेर संगै काम गर्न लालयित भएको पनि बताउनुभएको छ ।

उहाँले राजधानीमा आयोजित एक सार्वजनिक कार्यक्रममा भन्नुभयो, ‘म अहिलेको केन्द्रीय समितिभित्र ल्याएर मानका साथ वरिष्ठ नेता बनाउनुपर्नेलाई वरिष्ठ नेता, जसलाई जे ठाउँमा राखेर हुन्छ म उहाँहरूलाई सँगै राखेर काम गर्न चाहन्छु । मेरो प्रस्ताव हो यो ।’

प्रजातान्त्रिक विचार समाजको स्थापना दिवसको अवसरमा राजधानीमा आयोजित कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । उहाँले निर्वाचन समिति, सदस्यता छानबिन समिति र अनुशासन समितिमा पनि बाहिर रहेका नेतालाई समेटेर १५ औं महाधिवेशन पारदर्शी रुपमा सम्पन्न गर्न चाहेको बताउनुभयो । उहाँले त्यसका लागि छलफलमा आउन इतर पक्षका नेतासँग आग्रह गर्नुभएको छ ।

उहाँले पार्टीमा विशेष महाधिवेशनमा सहभागी भएको र नभएको आधारमा विभेद नगर्ने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो। ‘को विशेष महाधिवेशनबाट आएको थियो, को आएको थिएन भन्ने आधारमा पार्टीभित्र अवसर प्राप्त गर्ने कुरा पनि हुँदैन, पार्टीको निर्णय पनि चाहे त्यो प्रादेशिक सरकार होस्, चाहे संसदीय दलका बारेमा होस्, चाहे त्यो स्थानीय सरकारका बारेमा होस्, चाहे त्यो भातृसंस्थाका बारेमा होस्,’ सभापति थापाले भन्नुभयो ।

सभापति थापाले फागुन २१ गतेको प्रतिनिधि सभाको निर्वाचनमा कांग्रेसले १० लाख मत गुमाएको उल्लेख गर्दै आफू ती मतदाता र शुभेच्छुकमाझ जान चाहेको बताउनुभयो ।

“कांग्रेस भनेको लार्जर डेमोक्रेटिक पार्टी हो। एउटा आइडिया एउटा फेथ हो। तर यसपाली कांग्रेसले १० लाख समर्थक शुभेच्छक मत गुमाएको छ। यो म १० लाखको माझमा जान चाहन्छ। भरोसा दिन चाहन्छ। रिगेन गर्ने त्यो ठाउँमा म कुरा गर्न चाहन्छु। म कम्युनिटीमा जान चाहन्छु”, सभापति थापाले भन्नुभयो।

उहाँले यसपटकबाट कांग्रेसमा ३० वर्षमुनिकालाई महाधिवेशन प्रतिनिधिमा कोटासमेत छुट्याएको बताउनुभयो।

Share Now