काठमाडौं, १२ साउन । राजनीतिमा पाइला टेकेको छोटो समयमै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा महामन्त्रीको महत्त्वपूर्ण भूमिका पाएका सुनिल थापा मंगलबार नेपाली कांग्रेसमा प्रवेश गर्ने हुनुभएको छ ।
नेपाली कांग्रेस प्रवेश गर्ने तयारी स्वारुप थापासहित रापप्राका एक दर्जन बढी केन्द्रीय सदस्यहरुले पार्टी परित्याग गरिसक्नुभएको छ । थापासंगै पार्टी परित्याग गरेका विष्णुविक्रम थापाले मङ्गलवार कांग्रेस प्रवेश गर्ने निचोडमा पुगेको तर आफूलाई के जिम्मेवारी दिइने भन्नेबारे प्रवेशपछि नै निर्णय हुनसक्ने जानकारी दिनुभएको छ।
राप्रपाका संस्थापक एवम् पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा सुनिल थापाले राप्रपामा महामन्त्री र सरकारमा मन्त्रीको जिम्मेवारी पाइसक्नुभएको छ।
कांग्रेस नेताका अनुसार थापाले राप्रपामा आफ्नो भूमिकासरहको जिम्मेवारी खोज्नुभएको थियो, तर महामन्त्री नभई सहमहामन्त्री दिन कांग्रेस तयार भएको बताइएको छ।
थापाले आफूसँगै राप्रपा परित्याग गरेकामध्ये १३ जनालाई केन्द्रीय सदस्य बनाउन कांग्रेससँग माग राखेको बताउनुभएको थियो तर तीनदेखि पाँचजनालाई मात्र केन्द्रीय सदस्य बनाउने कुरा भएको जानकारी कांग्रेसको तर्फबाट दिइएको छ।
त्यसबारे छलफल चलिरहेको बताइएको छ।
नेता सुनिल थापाले भन्नुभयो, “हामीले नेपाली कांग्रेस प्रवेश गर्ने निर्णय गरेर त्यो जानकारी कांग्रेसलाई पनि दिइसकेका छौँ।”
थापाले अहिले राजनीतिक सन्तुलन नभएको, वामपन्थीहरूलाई राजनीतिक प्रक्रियामा सन्तुलनमा ल्याउन प्रजातान्त्रिक शक्तिहरूलाई बलियो बनाउन राप्रपाले नसक्ने र त्यसको निम्ति प्रजातान्त्रिक शक्ति कांग्रेसलाई बलियो बनाउन आफूसहित अन्य नेताले कांग्रेस प्रवेश गर्ने निर्णय लिएको बताउनुभयो।
डोकोभरि पद राप्रपामै
थापाले आफू निःसर्त कांग्रेसमा प्रवेश गर्न लागेको बताउनुभएको छ।
चर्चा भए जस्तो कुनै पद नमागेको उहाँको दाबी छ।
“हामीलाई कुन जिम्मेवारी दिँदा सुहाउँछ त्यो उहाँहरूको कुरा हो। सभापतिको विशेषाधिकार हो।” पद पाउन कांग्रेस नरोजेको उल्लेख गर्दै थापाले भन्नुभयो,”तर म पदको निम्ति जान लागेको होइन, डोकोभरि पद त राप्रपामै दिइरहेका थिएन नि।”
त्यसको अर्थ बिनासर्त प्रवेश हो भन्ने प्रश्नमा उहाँले सहमति जनाउनुभयो।
थापासँग अन्तर्राष्ट्रिय संस्थामा जागिर गरेको लामो अनुभव छ भने राजनीतिक यात्रा छोटो छ।
धनकुटाबाट चुनाव जितेपछि संयुक्त सरकारमा उहाँले बाणिज्य र आपूर्ति मन्त्री बन्ने अवसर पाउनुभएको थियो। तर राष्ट्रिय राजनीतिमा अहिलेसम्म प्रभावशाली भूमिकामा देखा परेका पर्नुभएको छैन।
कतिपयका बुझाइमा विभिन्न महत्त्वपूर्ण कालखण्डमा निर्णायक राजनीतिक भूमिकामा देखिएका पिताको बलियो राजनीतिक उत्तराधिकारको अवसर पाएका थापाले पार्टीका प्रभावशाली वा पुराना नेताहरूको साथ नपाएको टिप्पणी गरेका छन्।
थापा प्रवेशको अर्थ
पुरानो पार्टी कांग्रेसले पदाधिकारीको रूपमा स्वीकार गर्नुलाई कतिपयले सामाजिक सञ्जालमा ुउनको ठूलो सफलता र कांग्रेसका पुराना तथा प्रभावशाली नेताको अवमूल्यनु को रूपमा अर्थ्याएको पाइन्छ।
कांग्रेस नेता मिन विश्वकर्माले थापाको समूहसँग छलफल चलिरहेको जानकारी दिँदै कुन पद दिइन लागेको हो भन्नेबारे आफूलाई थाहा नभएको बताउनुभयो।
बाहिर भइरहेका चर्चाबारे प्रतिक्रिया माग्दा उहाँले भन्नुभयो, “हाम्रो विधानमा कुनै पार्टीसँग एकीकरण हुँदा, विलय हुँदा, कोही प्रवेश गर्दा दिने सम्मानको व्यवस्था छ। त्यसको अर्थ भइरहेका साथीहरूलाई अपमान होइन, बाहिरबाट आउने साथीहरूलाई सम्मान दिएर प्रवेश गराउने हो।”
जनमतको प्रतिकूल दिशामा सहभागी भइरहेपछि जनमतको अपमान हुने कार्यमा साथ दिन नसक्नेु निष्कर्षसहित थापाले पार्टी परित्याग गर्नुभएको थियो ।
धर्मनिरपेक्षता र गणतन्त्रलाई स्वीकार नगरेकोमा राप्रपामा उहाँको असन्तुष्टि रहदै आएको थियो।
राप्रपाको प्रतिक्रिया
राप्रपाका एक अध्यक्ष प्रकाशचन्द्र लोहनीले पार्टी छाड्नु दुई दिनअघिसम्म थापाले पार्टीका आधिकारिक दस्तावेजमा हस्ताक्षर गरेरै बसिरहेको बताउनुभयो। उहाँले भन्नुभयो, “अब जान लाग्नुभयो भने जाने मित्रलाई शुभकामना छ। उहाँको राम्रो होस्, अरू के भन्ने !
थापालाई रोक्न नखोज्नुको कारणबारे सोध्दा उहाँले भन्नुभयो, “यसअघि असन्तुष्टिको कुरा सुनेपछि थापासँग जिज्ञासा राखेको तर त्यस्तो केही होइन भन्ने उत्तर पाएको बताउनुभयो।”
लोहनी भन्नुहुन्छ, “तर अब जानुभएछ।”
अर्का अध्यक्ष कमल थापा निकट नेता राजाराम बर्तौलाका भनाइमा कुनै जिम्मेवारी र भूमिकालगायतमा असन्तुष्टि भएको भए त्यो नेतृत्वतहबाट सम्बोधन हुने थियो।
“तर वैचारिक र सैद्धान्तिक रूपमै जुन ढङ्गले उहाँले असहमति प्रकट गरिरहनुभएको थियो, त्यो कुरामा रोक्न हुन्न भन्ने नै सबैको विचार हो।” बर्तौलाले भन्नुभयो ।
बर्तौलाले राजनीतिक धैर्य नदेखाएर थापाले हतारमा निर्णय लिएको टिप्पणी गर्दै पछि पछुताउनुपर्ने बताउनुभयो।(बीबीसी)


















