काठमाडौं, १५ साउन । नेपाली क्रिकेट स्टार सन्दीप लामिछानेको क्यारेबियन प्रिमियर लिग(सीपीएल) टी २० प्रतियोगितामा सहभागिता सुनिश्चित भएको छ ।
कोरियन एअरको चार्टर्ड उडानमार्फत बिहिबार (आज) बिहान १० बजे उनी वेस्टइन्डिजतर्फ प्रस्थान गर्ने भएका छन्।
उनी अमेरिका हुँदै अगष्ट १ मा प्रतियोगिताको आयोजनास्थल ट्रिनिडाड एण्ड टोबागो पुग्नेछन्।
ट्रिनिडाड एण्ड टोबागो पुगे पछि सन्दीप १४ दिन क्वारेन्टाइनमा बस्नु पर्नेछ।
सम्पूर्णमा धेरै धेरै धन्यबाद। यो @CPL को यात्रामा सहभागी हाथहरूलाई मेरो हृदयदेखि धन्यबाद। सबै शुभचिंतकहरूको यो माया र यो साथ सधै यसरी नै रही रहोस।
आभारी,
सन्दिप लामिछाने।— Sandeep Lamichhane (@Sandeep25) July 29, 2020
१८ अगष्टदेखि सुरु सीपीएल २०२० मा नेपाली खेलाडी सन्दीपले जमैका तल्लावाजबाट खेल्नेछन्।
जमैकाको पहिलो खेल खेल अगस्ट १९ बुधबार सेन्ट लुसिया जुक्ससंग हुनेछ। दोश्रो खेल ट्रिनबागो नाइट राइडर्ससंग अगष्ट २० मा र तेस्रो खेल अगष्ट २२ मा गुएना अमेजन वारियर्ससंग हुनेछ ।
कोरोनाका कारण सिपिएल टी २० का खेलहरु दर्शक विहिन मैदानमा खेलिने छन्। लिगमा कुल ३३ वटा खेल खेलिने छन्। सबै खेलहरु ट्रिनिडाड एण्ड टोबागोको स्टेडियमहरुमा खेलिने छन्।
नेपाली स्पिनरलाई जमैकाले ९० हजार डलर ( नेपाली रु. १ करोड ७ लाख ४६ हजार ) खर्चेर टिममा भित्र्याएको हो।
सन्दीपको टिममा आन्द्रे रसेल, कार्लोस ब्राथवेट, चाडविक विल्टन, आसिफ अलि, ओशेन थोमस, फिडेल एडवर्ड्स जस्ता खेलाडीहरु रहेका छन्।
क्यारेबियन प्रिमियर लिगमा बार्बाडोस ट्राइडेन्ट, गुएना एमेजन वारियर्स, जमैका तल्लावाज , सेन्ट किट्स एण्ड नेभिस पेट्रिएट्स, सेन्ट लुसिया जुक्स र ट्रिनबागो नाइट राइडर्स गरि ६ वटा टिम सहभागी छन्। सीपीएल टी २०, २०१९ को उपाधि गुएना अमेजन वारियर्सलाई फाइनलमा पराजित गर्दै बार्बेडोस ट्राइडेन्टले जितेको थियो।
It's official now @Sandeep25
will be traveling to caribbean to participate @CPL representing from @JAMTallawahs on July 30 through Korean chartered flight, he will reach to his destination on Aug. 1 as per CPL schedule. Thank you everyone who made this difficult task possible. pic.twitter.com/rxqwK9ccJL— Raman Shiwakoti (@CricketRaman) July 29, 2020
सन्दीपको टीम जमैका तल्लावाजको खेल तालिका यस्तो छ :
अगस्ट १९ : सेन्ट लुसिया जुक्स , अगस्ट २० : ट्रिनबागो नाइट राइडर्स
अगस्ट २२ : गुएना अमेजन वारियर्स , अगस्ट २५ : गुएना अमेजन वारियर्स
अगस्ट २६ : बार्बेडोस ट्राइडेन्ट , अगस्ट २९ : सेन्ट किट्स एण्ड नेभिस
सेप्टेम्बर १ : ट्रिनबागो नाइट राइडर्स , सेप्टेम्बर ३ : सेन्ट किट्स एण्ड नेभिस
सेप्टेम्बर ५ : बार्बेडोस ट्राइडेन्ट , सेप्टेम्बर ६ : सेन्ट लुसिया जुक्स
सहभागी सबै ६ वटा टिमले एक अर्का बिरुद्ध १/१ खेल खेलिसकेपछि अंकतालिकामा शिर्षमा रहने चार टिमले सेमिफाइनल खेल्नेछन्।

नेपाली क्रिकेटका तारा सन्दीपले यस अघि सीपीएल टी २० को दुइ संस्करण खेलिसकेका छन् । उनले पहिलोपटक सेन्ट किट्स एण्ड नेभिस पेट्रिएट्स ५ हजार डलरबाट सीपीएल डेब्यु गरेका थिए । गएको बर्ष बार्बेडोस ट्राइडेण्ट्सको लागि खेल्दा उनले ७० हजार डलर पाएका थिए।
सीपीएलबाट सीधै आइपीएल !
सीपीएल टी २० खेलेपछि सन्दी त्यहीबाट इन्डियन प्रिमियर लिगमा सहभागी हुन जान सक्ने बताइएको छ। भारतमा कोरोना महामारी व्यापक फैलिएकोले आईपीएल २०२० यस बर्ष युएईमा १९ सेप्टेम्बरदेखि आयोजना हुदैछ।

जाने बेलामा क्रिकेट मैदानका कर्मचारीलाई सहयोग
सीपीएल खेल्न जाने सुनिश्चित भएपछि प्रफुल्ल भएका उदारमनका धनी सन्दीप लामिछानेले त्रिवि क्रिकेट मैदानमा कार्यरत कर्मचारीलाई १ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन्।
बुधबार पत्रकार सम्मेलन गर्दै उनले मैदानमा कार्यरत कर्मचारीलाई १ लाख रुपैयाँ सहयोग गर्ने बताएका हुन्।
त्रिवि क्रिकेट मैदानमा हाल १५ जना कर्मचारी छन्।
‘कोरोनाले प्रभावित भएको बेला उहाँहरुलाई धेरै कठिन भयो होला, हामी आउँदा सधैँ पिच र मैदान तयार पार्नुहुन्छ। मैले आफ्नो तर्फबाट सक्ने सहयोग गर्न चाहन्छु ‘, उनले पत्रकार सम्मेलनमा भनेका थिए ।
सीपीएल खेल्न जानका लागि कोरोना परीक्षण गराएका सन्दीपको रिपोर्ट नेगेटिभ आएको छ।


















