Prakash Adhikari July 30, 2020

काठमाडौं, १५ साउन । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीमा देखिएको विवाद समाधान गरी पार्टीको संगठन सबल र गतिशील बनाउदै मुलुकलाई देश र जनताको हितमा समर्पित गरेर मुलुकको आर्थिक सामाजिक विकासलाई दिशा र गति दिनका तत्काल केन्द्रीय कमिटी बैठकको माग गर्दै १ सय ५२ जना केन्द्रीय सदस्यले पार्टीको केन्द्रीय कार्यालयमा निवेदन दर्ता गरेका छन् ।

पार्टीका केन्द्रीय सदस्य हरि दाहालले पार्टीको केन्द्रीय समितिको बैठक अबिलम्ब माग गर्दै बुधबार पार्टी कार्यालय धुम्बाराहीमा निवेदन दर्ता गरेको बताउनुभएको छ।

पार्टीको एकपक्षले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजीनामा माग गरेपछि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीमा आन्तरिक विवाद चुलिएको छ ।

नेकपाको विधानअनुसार २५ प्रतिशत अर्थात् ११० जना सदस्यले हस्ताक्षर गरि केन्द्रीय कमिटी बैठक माग गरे एक महिनाभित्र बैठक बोलाउनु पर्छ। ४ सय ४१ सदस्यीय केन्द्रीय कमिटीमा बैठक बोलाउन १ सय १० जना सदस्यको हस्ताक्षर आवश्यक पर्छ। विधानको धारा ५९ (१) अनुसार केन्द्रीय कमिटीको बैठक ६–६ महिनामा बस्नुपर्नेछ। तर नेकपाभित्रको विवादका कारण बैठक बस्न सकेको छैन। यसअघि नेकपाको केन्द्रीय कमिटीको बैठक गत माघ १५ गतेदेखि १९ गतेसम्म बसेको थियो।

letter 111letter 222 1

जारी स्थायी कमिटी बैठक पनि माग गरेरै बोलाइएको हो। अध्यादेश प्रकरणपछि वैशाख १० गते स्थायी कमिटीका २० जना सदस्यले बैठक माग गर्दै हस्ताक्षर बुझाएका थिए ।

पार्टीको शीर्ष तहमा चुलिएको विवादले पार्टीपंक्तिलाई निकै निराश बनाएको हुँदा यसलाई छिटो सुल्झाउनकालागि केन्द्रीय कमिटी नै उचित निकाय भएको हस्ताक्षरकारीहरुले बताएका छन् ।

स्थायी कमिटी र सचिवालयले विवाद सुल्झाउन नसकेपछि महाधिवेशन पछिको शक्तिशाली र वैधानिक निकाय केन्द्रीय कमिटीबाट यसको छिनोफानो गर्न नेकपाका केन्द्रीय सदस्यहरु अग्रसर भएका हुन् ।

मंगलबार अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले स्थायी कमिटीको बैठक एकपक्षीय रुपमा स्थगित गरेपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बहुमत सदस्यको बैठक राखेपछि नेकपा विवाद नयाँ ढंगले बढेको छ ।

केन्द्रीय समितिको बैठकको माग गर्ने निवेदनमा हस्ताक्षर गर्ने सबै १ सय ५२ जना प्रचण्ड र नेपाल समूहका केन्द्रीय सदस्यहरु भएको बताइएको छ ।

 

Share Now

Leave a comment.