Prakash Adhikari July 30, 2020

काठमाडौं, १५ साउन । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालयका सञ्चालक तथा व्यवस्थापकहरुलाई विद्यालयहरुको सञ्चालनका लागि तयारी अवस्थामा राख्न निर्देशन दिएको छ ।

मन्त्रालयका तर्फबाट बुधबार जारी गरिएको ७ बुँदे निर्देशनमा कोरोना भाइरस संक्रमणको कारण बन्द रहेका विद्यालयमा जनस्वास्थ्यका मापदण्ड र सुरक्षाका मापदण्ड पालना हुनेगरी सञ्चालनको तयार गर्ने कुरा उल्लेख छ ।

मन्त्रालयको निर्देशनहरु :
क) शैक्षिक सत्र २०७६ को नतिजा प्रकाशन गर्न बाँकी रहेको भए नतिजा प्रकाशन गर्ने।

ख) २०७७ भाद्र १ गतेदेखि नयाँ विद्यार्थी भर्ना गर्ने र कक्षागत रुपमा विद्यार्थीको सङ्ख्यात्मक विवरण यकीन गर्ने, भर्ना भएका विद्यार्थीको शैक्षिक तथ्यांक भराउने।

ग) नयाँ शैक्षिक सत्रमा अध्ययन गर्ने विद्यार्थीलाई पाठ्यपुस्तक उपलब्ध गराउन बाँकी भए उपलब्ध गराउने।

घ) विद्यालयको शैक्षिक क्रियाकलाप सञ्चालनार्थ विद्यालय शिक्षकहरु विद्यालय पुगिसक्ने व्यावस्था मिलाउने।

ङ) शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय पुनःसञ्चालन सम्बन्धी कार्यढाँचा जारी गर्ने।

च) विद्यालय भवन तथा परिसरमा क्वारेन्टिन र आइसोलेशन सम्बन्धी कार्यहरु सञ्चालन नगर्ने। क्वारेन्टिन र आइसोलेशनको रुपमा प्रयोग हुन छाडेका विद्यालय भवनलाई तोकिएको मापदण्ड बमोजिम स्थानीय तहले निर्मलीकरण गरी अध्ययन अध्यापन गर्न योग्य बनाउने।

छ) विद्यालय र विद्यालय परिसरभित्र तथा विद्यार्थी आवागमनमा प्रतिकूल असर पर्ने गरी वा विद्यालय क्षेत्रको निकट हुने गरी कोभिड–१९ रोकथाम र नियन्त्रण सम्बन्धी संरचनाहरु नराख्ने।

Share Now

Leave a comment.