Prakash Adhikari July 31, 2020

 

काठमाडौ., १६ साउन । काठमाडौं उपत्यकामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएका मानिसको सङ्ख्या ५ सय २७ पुगेको छ।

शुक्रवारमात्र काठमाडौंका ३२ जना, ललितपुरमा ५ जना र भक्तपुरमा एक जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको थियो।

शुक्रबारको सहित काठमाडौं कुल सङ्क्रमितको सङ्ख्यामा काठमाडौंमा ४ सय २२ जना, ललितपुरमा ९६ जना र भक्तपुरमा ५६ जना पुगेको छ।

सङ्क्रमितमध्ये छ जनाको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. गौतमले सतर्कता अपनाउन अनुरोध गर्दै भन्नुभएको छ, “काठमाडौंमा सङ्क्रमितको सङ्ख्या बढिरहेको छ। हामीले जारी गरेको निर्देशिकाहरू राम्ररी पालना भएको छैन, यसले दुर्घटना निम्त्याउन सक्छ।”

Image

एकैदिन ४ जनाको मृत्यु

कोरोना भाइरसको संक्रमणको कारण नेपालमा एकै दिन ४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शुक्रवार अपराह्ण जानकारी दिएको छ।

यससँगै अहिलेसम्म ५६ जनाको मृत्यु भएको सरकारी तथ्याङ्क छ।

शुक्रवार मन्त्रालयले मृत्यु पुष्टि गरेका चारै जना पर्सा जिल्लाका भएको बुझिएको छ । मन्त्रालयका अनुसार कोरोनाबाट पछिल्लो पटक जीवन गुमाउने तीन जना पर्सा जिल्ला निवासी पुरुष र एक जना पर्सा घर भई ललितपुरमा बसोवास गरिरहेकी महिला हुन्।

वीरगञ्ज नगरपालिकाका ५६ वर्षीय पुरुषको सघन उपचार कक्षमा भेन्टीलेटरमा उपचारको क्रममा गण्डक अस्थायी कोरोना अस्पतालमा बिहीवार राति मृत्यु भएको हो। उनलाई मुटुको समस्या रहेको बताइएको छ।

अर्का ३५ वर्षीय पुरुषको पनि बिहीवार बेलुकी निधन भएको हो भने ६५ वर्षीय पुरुषको बिहीवार बिहान निधन भएको हो।

बिहीवार निधन भएको पुरुषको मृत्युपश्चात् गरिएको परीक्षणमा सङ्क्रमण पुष्टि भएको डा. गौतमले बताउनुभयो।

ललितपुर बस्दै आएकी ६५ वर्षीया महिलाको भने पाटन अस्पतालमा शुक्रवार बिहान निधन भएको हो।

उनी १० दिन अगाडिदेखि उपचाररत रहेको र मधुमेहको बिरामी रहेको बताइएको छ।

पर्सामा शुक्रवार थप ४१ जनामा सङ्क्रमण पुष्टि भएको छ।

कोरोनाभाइरस परीक्षण

संंक्रमित २० हजारको निकट

शुक्रवार विभिन्न जिल्लामा थप २ सय २४ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. गौतमले बताउनुभएको छ।

यससँगै हालसम्म पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या १९ हजार ७ सय ७१ पुगेको छ।

सङ्क्रमितको सङ्ख्यासँगै निको हुनेको सङ्ख्या पनि बढिरहेको छ। विगत २४ घण्टामा १ सय ५१ जना निको भएसँगै अहिलेसम्म १४ हजार ३ सय ९९ जना रोगमुक्त भएका छन्।

मन्त्रालयको तथ्याङ्कअनुसार अहिले देशभरि सक्रिय सङ्क्रमण भएका कुल ५ हजार ३ सय १६ व्यक्ति छन्।

सबैभन्दा बढी दैनिक परीक्षण

विगत २४ घण्टामा पीसीआर विधिबाट १० हजार ७ सय ६८ वटा परीक्षण भएको मन्त्रालयले जनाएको छ।

कुल पीसीआर परीक्षणको सङ्ख्या ३ लाख ७५ हजार ४ सय १६ रहेको छ।

अहिले देशभरि १२ हजार भन्दाबढी मानिस क्वारन्टाइनमा छन्।

Image

Share Now

Leave a comment.