पाँचपोखरी(सिन्धुपाल्चोक), १६ साउन । नेशनल हाइड्रोपावरद्वारा प्रवर्धित इन्द्रावती तेस्रो जलविद्युत् आयोजनाको बाँधस्थलमा गएको भीषण पहिरोले आयोजनाको उत्पादन ठप्प भएको छ ।
पाँचपोखरी थाङ्पाल–८ तिपेनीमा रहेको ७।५ मेगावाट उत्पादन क्षमता भएको उक्त आयोजनाको बाँधस्थलमा गए राति २ बजेतिर पहिरो खसेकोे थियो ।
पहिरोले आयोजनाको सुरुङ मार्गको मुख्य प्रवेशद्वार,फ्लसिङ सिस्टम( पोखरीबाट बालुवा फाल्ने)तथा डिस्याण्डिड. बेसिन(बालुबा थ्रिगाउने( पोखरीलाई पूर्णरूपमा क्षति पु¥याएको छ।

पहिरोले तिपेनी बजार तथा पहिरो माथिको मानव बस्तीसमेत जोखिममा परेको छ ।
निरन्तरको वर्षा तथा पाँचपोखरी पर्यटन मार्गको निर्माण र विस्तारका कारण उक्त क्षेत्रमा यसअघि पनि पहिरो खस्दै आएको थियो ।

पहिरोका कारण सवारी साधन तथा मानिसको आवतजावतसमेत बन्द भएको छ । उक्त स्थानमा वैकल्पिक बाटोसमेत नहुँदा सयौँ मानिस बीचबाटोमै अलपत्र परेका छन् ।
पहिरोका कारण अलपत्र मानिसको उद्धार तथा अवरुद्ध बाटो खुलाउन तत्काल लागि पर्ने पाँचपोखरी थाङ्पाल गाउँपालिकाका अध्यक्ष टासी लामाले जानकारी दिनुभएको छ ।


















