काठमाडौं, १७ साउन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसमा विभाग र समितिहरु गठनको लफडा चर्किरहेको बेला भातृ संगठनहरुको म्याद थपको बिषय थपिन गएको छ ।
पार्टीका सभापति शेरबहादुर देउवाले शुक्रबार पार्टीबाट पछि अनुमोदन गर्ने गरी नपाल तरुण दल,नेपाल विद्यार्थी संघ, नेपाल किसान संघ, प्रजातन्त्र सेनानी संघ, दलित संघ,आदिवासी जनजाति संघ, राष्ट्रिय लोकतान्त्रिक अपांग संघ र नेपाल ठाकुर समाजको पदावधि ६ महिनाको लागि थप गर्ने निर्णय गर्नुभएको छ ।
नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले शुक्रबार जारी गर्नुभएको विज्ञप्तिमा पार्टीको आगामी केन्द्रीय समितिको बैठकबाट अनुमोदन हुने गरी ती भातृ सघहरुको म्याद सकिएको मितिबाट आगामी ६ महिनासम्मको लागि निर्देशनानुसार म्याद थपिएको जानकारी गराइएको छ ।

नेपाली कांग्रेसका अधिकांश केन्द्रीय सदस्यहरु राजधानीमा नै रहेका छन् । विभिन्न कार्यक्रममा सरिक भैरहेकै छन् । पार्टीका भातृ संगठनहरुको म्याद सकिने र थप्नुपर्ने आवश्यकता खट्किदा पनि गुटगुटको भेला गर्न पार्टी कार्यालयमा उपस्थित भैरहने नेताहरुले केन्द्रीय समितिको बैठक बसाउने हिम्मत नगरेर सभापतीय अधिकारको उपयोग गरी पछि अनुमोदन गराउने हुकुमी शैलीको अनुशरण गर्नपर्ने अवस्थामा लोकतान्त्रिक संस्कारको जननी भनिने नेपाली कांग्रेसलाई किन पुर्याए ? यो आश्चर्यको विषय बनेको छ ।
सभापतिको दया र मायाले पदावधि बढेको आभाष हुने गरी गरिएको यस कार्यले आगामी चुनावलाई प्रभावित पार्ने देखिन्छ । यसको जस सिंगो केन्द्रीय समितिलाई जान नदिएर सभापतिमा जाने परिस्थिति सिर्जना गर्न खोजिएको देखिन्छ ।


















