लण्डन(संयुक्त अधिराज्य), १७ साउन । विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरसको संक्रमणबाट मानव जातिलाई बचाउन विश्वका विकसित र विकाससिल राष्ट्रहरुमा कोरोनाभाइरसको खोपको बारेमा अध्ययन,अनुसन्धान,विकास र परीक्षणका विभिन्न चरणहरु चलिरहेका छन् । धरैलाई आशावादी बनाएको छ, बेलायतको अक्सफार्ड विश्वविद्यालयको अनुसन्धानले । प्रख्यात ब्रिटिस स्वीडिस बहुराष्ट्रिय औषधी कम्पनीको सहयोगमा भैरहेको यो अनुसन्धान तथा विकास आयोजनाको नेतृत्व वैज्ञानिक प्राध्यापक सेरा गिल्बर्टले गर्नुभएको छ । खोपको अनुसन्धान र विकास विश्वसनीयताको बारेमा के भन्नुहुन्छ त प्राध्यापक सेरा गिल्बर्ट :
“हामीले यो काम एकदमै तीव्र, तीव्र र तीव्र गतिमा गर्नुपर्ने छ”, प्राध्यापक सेरा गिल्बर्टले बीबीसीलाई भन्नुभयो।
अक्सफर्ड विश्वविद्यालयकी यी वैज्ञानिकलाई आफू हतारमा रहेको थाहा छ।
हालसम्म विश्वभरि एक करोड ६० लाखभन्दा बढी व्यक्तिलाई सङ्क्रमित बनाइसकेको र करिब साढे ६ लाख व्यक्तिको ज्यान लिइसकेको कोरोनाभाइरसलाई रोक्ने खोप बनाउन उहाँ प्रयासरत हुनुहुन्छ।
अक्सफर्ड विश्वविद्यालयस्थित उहाँको ३ सय सदस्यीय सशक्त टोलीले ‘सामान्यतया करिब पाँच वर्षमा पूरा गर्नुपर्ने खोप विकासका विभिन्न चरण’ पार गरिसकेको छ।
‘र, हामीले ती कुराहरू चार महिनामा पूरा गरेका छौँ ‘, यी भ्याक्सिनोलोजिस्टले भन्नुभयो।
शुरूमा नतिजा उत्साहप्रद छन् : मानवमा गरिएका परीक्षणले खोप सुरक्षित रहेको र भाइरसविरुद्ध प्रतिरोधी क्षमतालाई सक्रिय तुल्याएको देखाएको छ।
यो वर्षको अन्त्यसम्ममा मानिसहरूमा प्रयोगका लागि तयार हुने सुनिश्चित नभए पनि हामी खोप विकासको नजिक पुगिसकेको विश्वास छ।
बाईस वटा सम्भावित खोप क्लिनिकल ट्रायलमा रहेको र करिब १०० वटा प्रारम्भिक अनुसन्धानको चरणमा रहेका पृष्ठभूमिमा अक्सफर्ड विश्वविद्यालयको टोलीले कडा प्रतिस्पर्धाको सामना गरिरहेको छ।
को हुन् सेरा गिल्बर्ट ?

प्राध्यापक सेरा गिल्बर्ट
प्राध्यापक गिल्बर्टले कोरोनाभाइरस विरुद्धको खोप बनाउने कार्यको नेतृत्व गरिरहनुभएको छ।
ब्रिटिश(स्वीडीश बहुराष्ट्रिय फर्मास्युटिकल आस्ट्राजेनेकासँग मिलेर अक्सफर्ड विश्वविद्यालयको टोलीले १ हजार ७७ जनामा खोपको परीक्षण गरिरहेको छ।
यो टोलीको पहिलो सफलताको समाचार बाहिर आएपछि प्राध्यापक गिल्बर्ट रातारात विज्ञान सेलिब्रिटी हुनुभयो।
स्वयंसेवकहरूमा गरिएको परीक्षणले प्रतिरोधी क्षमतामा त्यसको असर देखियो। खोपले कोरोनाभाइरसलाई परास्त गर्न सक्ने एन्टिबडी तथा टी सेल बनाएको पाइयो।
हुन त कोरोनाभाइरसबाट बचाउन त्यो खोप पर्याप्त हुन्छ वा हुँदैन भन्ने कुरा अहिले भन्न सकिन्न तर नतिजा उत्साहजनक छ र ठूलो स्तरमा परीक्षण जारी छ।
प्राध्यापक गिल्बर्टको नाम सञ्चारमाध्यममा छायो र अन्तर्वार्ताका लागि उहाँलाई थुप्रै आग्रहरू आए।
वैज्ञानिक गिल्बर्टले दुई दशकभन्दा बढी समय प्रयोगशालामा, अनुसन्धनमा, खोप विकासमा र भावी कामका लागि रकम सुनिश्चित गर्नमा बिताउनुभएको छ।

महिला युवा वैज्ञानिक
प्राध्यापक गिल्बर्टका अनुसार चिकित्सा अनुसन्धानमा काम गरौला भन्ने भनेर उहाँलाई पहिलेदेखि नै थाहा थियो।
तर १७ वर्षको छँदा उहाँले कहाँबाट शुरू गर्ने भन्ने कुराको भेउ पाइउनुभएन।
पहिलो खुड्किलोको रूपमा उहाँले इस्ट एङ्गलिआ विश्वविद्यालयबाट बायोलोजीमा स्नातकोत्तर गर्नुभयो र त्यसपश्चात् बायोकेमेस्ट्रीमा विद्यावारिधी ।
त्यसपछि उहाँले बायोटेक्नोलोजी उद्योगबारे पोस्ट(डक अनुसन्धान गर्नुभयो जहाँ गिल्बर्टले औषधि उत्पादनबारे ज्ञान पाउनुभयो।
सन् १९९४ दखि प्राध्यापक अक्सफर्ड विश्वविद्यालयमा वरिष्ठ पोस्ट(डकको पद सुनिश्चित गर्नुभएको छ र उहाँले जेनेटिक्स, होस्ट(पारासाइट तथा मलेरियाबारे काम गर्नुभएको छ।
अन्ततः उहाँको अनुसन्धानले खोप विकास गर्ने कामतर्फ डोर्यायो।
कामकाजी आमा

काम र व्यक्तिगत जीवन
सन् १९९४ मा प्राध्यापक गिल्बर्टले तिम्ल्याहा सन्तानको जन्म दिनुभयो। त्यसको एक वर्षपछि उहाँ विश्वविद्यालयमा लेक्चरर हुनभयो।
‘काम र व्यक्तिगत जीवनबीच सन्तुलन मिलाउन बडो गाह्रो हुन्छ”, उहाँ भन्नुहुन्छ, “यदि परिवारको कसैको सहयोग रहेन भने असम्भवजस्तै लाग्छ। मेरा तीन सन्तान थिए र उनीहरूको नर्सरीको शुल्क मेरो तलबभन्दा बढी हुन्थ्यो।”
गिल्बर्टका पतिले त्यतिबेला कामलाई थाती राख्न र बच्चाहरूको हेरचाह गर्न भने। त्यस बेला उनलाई एकदमै गाह्रो थियो।
“सुत्केरी बिदा जम्मा १८ हप्ताको थियो। मैले समय नपुग्दै जन्मिएका तीन सन्तानको हेरचाह गर्नुपरेको थियो, एकदमै तनावपूर्ण थियो “,यी वैज्ञानिक भन्छिन्।
तर प्राध्यापक गिल्बर्टका अनुसार वैज्ञानिक हुनुको सबैभन्दा राम्रो पाटो के हो भने अरू पेशामा जस्तो तपाईँले सधैँ घण्टौँ काम गर्नुपर्दैन। हुन त कहिलेकाहीँ स्थिति जटिल पनि भइदिन्छ।
परिवारबाट सानो सहयोग

रुसस्थित एउटा प्रयोगशाला
तीनटा सन्तान हुर्किएपछि स्थिति केही सहज भयो।
“हुन त अहिले मैले प्रयोगशालाको नेतृत्व गरिरहेकी छु तर मैले सिक्काको अर्को पाटो पनि हेरेकी छु”, उहाँले थप्नुभयो।
प्राध्यापक गिल्बर्टका तिम्ल्याहा सन्तान अहिले २१ वर्षका भए। उनीहरू पनि आमाजस्तै बायोकेमिस्ट बन्न चाहन्छन्।
खासमा उनीहरूलाई आफ्नी आमाको काममा यति रुचि छ कि कोभिड-१९ विरुद्धको खोपको परीक्षणका लागि स्वयंसेवी बन्ने उनीहरूले निर्णय गरे।
“हामीले १८ देखि ५५ वर्ष उमेर भएका मानिसहरूमा खोपको परीक्षण गर्नुपर्ने हुन्छ”, गिल्बर्टले बीबीसीलाई भन्नुभयो।
प्राध्यापक गिल्बर्टले खोप परीक्षणका निम्ति वैज्ञानिकहरूको एउटा राम्रो समूह खोजिरहनुभएको थियो।
आफ्नै परिवारबाट त्यसका लागि सहयोग पाएकोमा उहाँ दंग नै पर्नुभयो ।
आफूलाई कुनै चिन्ता नलागेको पनि उहाँ बताउनुुहुन्छ।
“हामीले यसअघि धेरै पटक यस्ता खोपको प्रयोग गरेका छौँ। अतः हामीले केही आश्चर्यजनक कुरा हुने अपेक्षा गरिरहेका छैनौँ “, प्राध्यापक गिल्बर्टले थप्नुभयो।
उहाँका अनुसार अहिलेको सबैभन्दा महत्त्वपूर्ण कुरा “महामारी फैलिनबाट रोक्नका निम्ति क्लिनिकल ट्रायलमा केन्द्रित भइरहेका छौँ र हामीले उत्पादनमा तीव्रता दिइरहेका छौँ।”


















