Prakash Adhikari May 2, 2026

 

काठमाडौं, १९ बैशाख । नेपाल पुलिस क्लबले दसौं पिएम कप एनभिए लिगको महिलातर्फको उपाधि चौथो पटक जितेको छ।

सेमी फाइनलसम्म अपराजित यात्रा गरेको टिपटप न्यु डायमण्ड युथ स्पोर्ट्स क्लबलाई ३-१ ले हराउँदै पुलिसले उपाधि रक्षा गरेको हो। यो सँगै पुलिस सर्वाधिक चार पटक यो उपाधि जित्ने महिला टोली बनेको छ। यो जितसँगै पुलिस लगातार तेस्रो पटक काभा क्लब च्याम्पियन्सिपको लागि छनोट भएको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा भएको फाइनलको पहिलो सेटमा पुलिसले सुरुवात राम्रो गर्यो। १०-२ को स्पष्ट अग्रता बनाउन सफल रह्यो।

यसपछि न्यु डायमण्डले कमब्याक गर्दै खेललाई २१-२० सम्म पुर्ययो। तर पुलिसलाई माथ दिन भने सकेन । यो सेट पुलिसले २५-२१ ले जित्दै खेलमा १-० को अग्रता बनायो।

दोस्रो सेटमा भने न्यु डायमण्डले पकड बनायो। सुरुदेखि नै बलियो न्यु डायमण्डले १२-९ को अग्रता बनाएको थियो। यो अग्रतालाई पुलिसले १४-१४ को बराबरीमा पुर्यायो।

तर यसपछि पुलिसले थप अंक बनाएपछि अंक जोड्न सकेन । लगातार ८ अंक जोडेर न्यु डायमण्डले दोस्रो सेट २५-१७ ले जित्दै खेललाई १-१ को बराबरीमा पुर्यायो।

तेस्रो सेट निकै प्रतिस्पर्धात्मक बन्यो। १५-१० को अग्रतालाई न्यु डायमण्डले जोगाउन सकेन । पुलिसले खेललाई १८-१८ को बराबरीमा ल्याएपछि रोमाञ्चक बनेको यो सेट पुलिसले २५-२३ ले जित्दै खेलमा २-१ को अग्रता कायम गर्यो।

खेल जित्ने संभावनालाई कायमै राख्न न्यु डायमण्डलाई चौथो सेट जित्नुको विकल्प थिएन । तर पुलिसले यो सेटमा पकड बनायो। १२-६ को अग्रता बनाउँदा पुलिस उपाधि नजिक पुगेको थियो।

तर न्यु डायमण्डले १८-१८ को बराबरीमा पुर्याउँदै आश जगाएपनि पुलिसले मौका दिएन । कमला पुनको सर्भिसमा लक्ष्मी चन्दको स्पाइकमा पुलिसले च्याम्पियनसिप प्वाइन्ट हात पार्यो। २५-१९ ले चौथो सेट जित्दै च्याम्पियन बन्न सफल भयो।

न्यु डायमण्डसँग लिग चरणमा भोगेको हारको बदला लिंदै विजेता पुलिसले उपाधिसँगै १० लाख रुपैयाँ प्राप्त गरेको छ। दोस्रो भएको न्यु डायमण्डले ५ लाख प्राप्त गर्यो। महिलातर्फ कुल ६ टिमले प्रतिस्पर्धा गरेका थिए।

 

Share Now