काठमाडौँ, १९ बैशाख। काठमाडौँको बयाँ बसपार्क नजिकै विष्णुमती नदी किनारमा रहेका संरचना भत्काउन पुगेको डोजर स्थानीयले लालपुर्जा देखाएपछि रोकिएको छ ।
शनिबार नदी किनारका अनधिकृत संरचना हटाउने अभियानअन्तर्गत डोजर पुगेको थियो । तर स्थानीयले लालपुर्जा देखाएपछि प्रहरी र डोजर चालक हच्किए ।
विष्णुमती किनारमा रहेका ६ वटा घरका धनीहरूले आफ्ना घरको भित्तामा जग्गाको लालपुर्जा टाँसेर विरोध जनाएका छन् । ती घरहरू खोलाको किनारै छुने गरी निर्माण गरिएका छन् । घरधनीहरूले आफूसँग वैधानिक लालपुर्जा रहेको दाबी गर्दै कुनै पनि हालतमा घर भत्काउन नदिने अडान लिएका छन् ।
अहिले घटनास्थलमा ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । लालपुर्जा देखिएपछि कानुनी जटिलता आउन सक्ने भन्दै कसरी अगाडि बढ्ने भन्ने विषयमा प्रहरी र सम्बन्धित निकायका अधिकारीहरू छलफलमा जुटेका छन् ।
जग्गाको लालपुर्जा र खोलाको मापदण्डका विषयमा सरकारी रेकर्डसँग भिडान गरेर मात्रै थप कदम चालिने बुझिएको छ ।


















