Prakash Adhikari August 2, 2020

प्रकाश अधिकारी
काठमाडौं, १८ साउन । साउनको मध्यमा झरी रोकिएसंगै पहिरो,बाढी,घाइते,मृतक,उद्धार र पुनस्थापनका समाचारबाट नेपाली सञ्चारमाध्यमको प्राथमिकता देशमा फैलदै गएको कोरोना भाइरसको संक्रमण, सत्तारुढ दलभित्रको सत्ता संघर्ष,प्रमुख प्रतिपक्षी दलभित्र नेतृत्वको लागि भैरहेको दाउपेच र विगत ६ दिनदेखि राजधानीमा सनसनी मच्चाएको सुनकाण्डमा केन्द्रित भएको छ ।

कोरोना भाइरसको संक्रमणको त्रासका कारण प्रतिबन्धित गरिएका लामो दूरीका सडक यातायात र हवाई यातायात, अधिक ग्राहक वा उपभोक्ताको सामूहिक उपस्थिति रहने व्यवसायका साथै कोरोना पहिले सुसञ्चालन भएका उद्यम व्यवसाय बन्द भएर वा मन्दी आएर आम नेपालीको जनजीवन कष्टकर बनिरहेको बेलामा राजधानीमा एकाएक चर्चामा आएको १६ किलो सुनकाण्डले नेपालको आर्थिक र राजनीतिक क्षेत्रमा ठूलो तरंग ल्याइदिएको छ ।

घट्ना के हो ?

मंगलबार बिहानै एउटा खबर फैलियो, काठमाडौंको कमलादीबाट १५ किलो सुन बरामद भयो भन्ने । सोही दिन दिउँसो महानगरीय प्रहरी परिसरले यसबारे जानकारी दिन पत्रकार सम्मेलन गर्यो। तर, पत्रकार सम्मेलनमा तथ्य सामु राखियो । बिहान १५ किलो भनिएको सुनमध्ये साढे १४ किलो चाँदी रहेछ । शंकास्पद व्यक्तिहरू बा६च ५५१९ नम्बरको स्कर्पियोबाट सुन भएको झोला फ्याँकेर भागे भन्ने । सो गाडीमा सवार तीनजनाले फालेको झोला खोल्दा साढे १४ किलो चाँदी, आधा केजी सुन र दुईथान पेस्तोला फेला परेको थियो ।


काठमाडौँ प्रहरी प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले पत्रकार सम्मेलन गरेर कमलादीस्थित नविल बैंक मोडबाट साढे १४ केजी चाँदी र आधा केजी सुन बरामद गरेको बताउनुभएको थियो । ज्ञवालीको निर्देशनमा क्राइम सिन परिवर्तन गरिएको अनुसन्धान अधिकृतहरु बताउँछन् ।

कमलादीमा झोला फालेको स्कोर्पियो तीब्र गतिमा हुँइकियो समाउन सकिएन भन्ने तर्क दिनु केही घण्टाको बीचमा साढे १४ किलो सुन चाँदीमा परिणत भएको कुराले प्रहरी विवादमा तानियो। दालमा रहेको कालो केलाउन महानगरीय प्रहरी कार्यालय रानीपोखरीले यसमा अनुसन्धान गर्न एसएसपी सुशीलसिंह यादवको संयोजकत्वमा छानबिन समिति गठन गर्यो ।

यादव समितिले अनुसन्धान थालेपछि १५ किलो सुनकाण्डका नयाँ पाटाहरु उजागर हुँदै गए । प्रहरीले कमलादीबाट सुन बरामद गरेको दावी गरेको थियो तर त्यो सुन्धाराको आकाशे पुलबाट बरामद भएको रहेछ। सुनकाण्डका खेलाडीहरुले पिछा गरेका प्रहरीलाई नै सुन बुझाएर प्रहरीको मिलेमतोमा चारभञ्ज्याड. कटेर नवलपरासी पुगेका रहेछन्। सुन बुझ्ने प्रहरी टोलीका जवान प्रसन्न श्रेष्ठको कोठामा शुक्रबार छापा मार्दा एक किलो सुन भेटिएको छ। सो सुनमा पनि बाहिर सुनको लेप लगाइएको र भित्र चाँदी राखिएको रहेछ ।

प्रारमिभक अनुसन्धानले के देखायो भने नेपालमा सुनको ब्यापक तस्करी भएको छ र यसमा प्रहरीको राम्रो संलग्नता छ । यसले नेपाल प्रहरीको पदाधिकारीहरुको खस्किदो पेशागत मर्यादा, इमान्दारी, आचारण र संगठनको गिर्दो साःखलाई पनि उजागर गरेको छ ।

घट्नाको उद्गम

यस घटनामा महानगरीय प्रहरी वृत्त, दरबारमार्गका डिएसपी रञ्जन दाहाललाई दरबारमार्गकै घुमुवा प्रहरी जवान प्रसन्न श्रेष्ठबाट राजधानीमा सुनको अवैध कारोबारीहरु ठूलो परिमाणमा सुन लिएर काठमाडौंको नक्सालबाट निस्कने तयारीमा रहेको सूचना प्राप्त भएको थियो । प्रसन्नलाई साथी प्रहरी जवान बहादुरसिंह कडायतबाट यस्तो सूचना आएको रहेछ ।

सुन बरामद गर्न डिएसपी दाहाल र उहाँको टोली मंगलबार कमलादीको सिद्धार्थ बैंकअगाडि छेको थापेर बसेको थियो । सुन बोकेका व्यक्तिहरू भने मेरियट होटल छेउको अपार्टमेन्टबाट स्कोर्पियो चढेर कमलपोखरीबाट पुतलीसडक हुँदै टेकुतिर हानिए । प्रसन्न र बहादुरसिंहले उनीहरू अर्कै बाटो गएको थाहा पाएपछि मोटरसाइकलमा पिछा गर्नुभयो। प्रहरीको नजरबाट बच्न नसकिने देखिएपछि गाडी टेकु पुगेपछि मोडिएर सुन्धारातिर आयो । सुन्धारा पुगेपछि उनीहरूले गाडी रोके र सुन भएको झोला लिएर एक जना गाडीबाट ओर्ले। त्यसपछि उनी सुन्धाराको आकाशे पुल चढे र झोला प्रहरीलाई बुझाएर स्कारपियो लिएर सानेपा हुँदै नखिपोटतिर लागे ।

१६ किलो सुन समातेको भ्रममा रहेका प्रसन्न र बहादुर सिंहले एक किलो सुन आफ्ना लागि छुट्याएर कारोबारीहरु बाँकी सुन फ्याँकेर भागे भन्ने जानकारी डिएसपी दाहाललाई दिए । डिएसपी दाहाल सुन्धारा पुगुञ्जेल स्कोर्पियो उनीहरुको आँखाबाट ओझेलमा परिसकेको थियो । ठूलो परिमाणमा सुन पाएकोले दंग प्रसन्न र बहादुरसिंहले सुन बरामद गर्दा प्राप्त हुने कमिसनको लोभ देखाएर डिएसपी दाहाललाई घटनास्थल परिवर्तन गर्न सल्लाह दिनुभयो । सुन्धारा उनीहरूको कार्यक्षेत्रमा नपर्ने भएकोले आफ्नै कार्यक्षेत्रको कमलादीमा भेटियो भन्ने पार्न लगाइयो । अन्यथा जसको कार्यक्षेत्रमा यस्तो सुन बरामद भयो त्यहीको प्रहरीलाई सुन बुझाउनुपर्ने हुन्छ ।

बरामदमध्येको लुकाएको १ किलो र कमिशनको सुन पचाउने दाउमा सत्यसेवा सुरक्षणको सपथ खाएका नेपालका प्रहरी काविल राष्ट्रसेवकहरुले बिहान ९ बजे भएको भनिएको घटनाबारे प्रहरी परिसर वा कन्ट्रोलमा ढिला गरी जानकारी दियो। घटनामा विवादमा परेपछि डिएसपी दाहाललाई बिहीबार पुलिस एकेडेमी तानिएको छ। उहाँको सट्टा महानगरीय प्रहरी वृत्त प्रमुखको जिम्मेवारी डिएसपी रामशरण पौडेललाई दिइएको छ।

प्रारम्भिक अनुसन्धानमा प्रहरी जवान बहादुरसिंहलाई सुराकी दिने व्यक्ति लाजिम्पाटको जेम एन्ड ज्वेलरी सञ्चालक कौशल पटेल भएको पत्ता लागेको छ । कौशल र उहाँका दाइ देवानसिंह पटेलमार्फत् निलेश शाखिया लगायत अन्य दुई जना व्यापारीले उक्त सुनमा लगानी गरेका पाइएको छ । भारतमा लगेर बढी मूल्यमा बेच्न गरिएको लगानीमा कौशल र देवानले तस्करीको सुनमा अर्को घोटाला गरेको देखिन्छ चाँदीमा सुनको जलप लगाएर बेच्ने। न्यूरोडका एक कालिगढ मनिष मल्लिकलाई केही हजार रकम दिएर चाँदीमा सुनको जलप लगाइएको पुष्टि भएको छ।

कौशल र देवानले नै चाँदीमा सुनको जलप लगाएर १६ किलो मध्ये १५ किलो सुन पनि पचाउने र तस्करीको सुराकी दिएर सुन जफत गराएर सुराकी कमिशन पनि पचाउन खोजेको देखिन्छ । प्रहरीलाई नक्कली सुन जिम्मा लगाएर फरार देवानसिंह, निलेश शाखिया र विजय पटेललाई नवलपरासीको दुम्कीबासमा प्रहरीले पक्राउ गरेको थियो ।

प्रहरीले यो घटनामा ९ जनालाई समातेको छ। पक्राउ पर्नेमा निलेश, कौशल, देवानसिंह, विजय, प्रहरी जवान प्रसन्न र उनका घरबेटी उमेश श्रेष्ठ, बहादुरसिंह, ट्याक्सी चालक र कालिगढ मनिष छन्।प्रहरीले उनीहरूलाई हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको छ।

गाडी भेटियो तर स्वरुप परिवर्तन

मंगलबार प्रहरीलाई नक्कली सुन भिडाएर फरार भएका सुन तस्करहरुले प्रयोग गरेको स्कारपियो बिहीबार दिउँसो ललितपुरको नखिपोटमा फेला पर्यो तर गाडीको भर्यालङ र ऐना परिवर्तन गरेको अवस्थामा । सीसीटिभी फुटेजमा देखिएको गाडीको पछाडी भर्याुङ र ऐना देखिन्छ । तर, बिहीबार दिउँसो फेला परेको गाडीमा भ-याङ र ऐना छैन् । छतको दायाँबायाँ राखिएको कालो रंगको शो पनि हटाइएको अवस्थामा गाडी फेला परेको छ ।


बा ६ च ५५१९ नम्बरको स्कोर्पियो ललितपुरको नख्खिपोटस्थित अम्बर बहादुर राईको घरमा फेला परेको हो ।बुधवार कोठा खोज्न आएका एक अपरिचित युवाले गाडी छोडेर गएको राईको जिकीर छ । बुधवार मध्यान्ह १२ बजेतिर पैदल हिँड्दै २ युवतीसहित एक युवा कोठा खोज्न आएका एक युवकलाई सिंगापुर प्रहरीबाट अवकाश पाएर नेपाल फर्केका अम्बर राईले दोस्रो तल्लामा फ्ल्याट देखाउनुभएको थियो । २२ हजार भाडा लिनेदिने सहमति भएपछि ११ हजार एडभान्स दिएर ती युवा ‘बेलुका सामान लिएर आउँछु’ भनेर हिँडेका थिए । साँझ ९ः२० बजे बा ६ च ५५१९ नम्बरको स्कोर्पियो लिएर आएका युवाले गाडी राखे, अनि बाहिर निस्किएका थिए ।

स्कोर्पियो बारा घर भएका इल्साम हुसेनको नाममा रहेको यातायात व्यवस्था विभागको रेकर्डबाट थाहा भएको छ ।

छानबिन समिति

प्रहरीले हात थापेको साढे १४ केजी चाँदी, आधाकेजी सुन र २ थान पेस्तोलको अनुसन्धानमा काठमाडौं प्रहरी विवादमा मुछिएपछि घटना अनुसन्धानको जिम्मा काठमाडौँ प्रहरीबाट खोसेर अपराध महाशाखालाई दिइएको छ ।

महानगरीय प्रहरी कार्यालयले अपराध महाशाखाका प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) दिपक थापाको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको हो । छानबिन समितिमा महानगरीय प्रहरी कार्यालयमा कार्यरत एसएसपी किरण बज्राचार्य, एसपी सामेन्द्र सिंह राठौर, अपराध महाशाखाका डीएसपी दुर्गा दाहाल र परिसरका राजकुमार केसी रहनुभएको छ ।

प्रहरी चेकजाँचका क्रममा सामान बरामद भएपनि गाडी कसरी फुत्किन सफल भयो भन्नेबारे छानबिन गरेर यथार्थ विवरण बाहिर ल्याउन समितिलाई कार्यादेश दिइएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख डीआईजी विश्वराज पोखरेलले जानकारी दिनुभएको छ । समितिलाई पाँच दिनभित्र छानविन प्रतिवेदन पेश गर्ने कार्यादेश दिइएको छ ।

१६ किलोले जन्माएका अनगिन्ति प्रश्न

देशमा अपूर्व सुशासन कायम छ भनेर दावी गर्न नथाक्ने प्रधानमन्त्री के.पी. ओलीकै शासनकालमा देश कोराना भाइरसको संक्रमणबाट भयभित भएर लकडाउन भर्खर समाप्त भए पनि लामोदुरीको सडक यातायात तथा नियमित हवाई सेवा( आन्तरिक र अन्तर्राष्ट्रिय दुवै) प्रतिवन्ध लगाइएको बेला निकै ठूलो परिमाणको सुन काण्ड सार्वजनिक भएको छ ।

सुनकाण्डमा घट्ना स्थल परिवर्तन गरिनु, तस्करी हुन लागेको भनिएको सुनमा आधा किलो सक्कली सुन भेटिनु र साढे १५ किलो(प्रहरी जवान प्रसन्नको कोठाको समेत गरी) नक्कली भेटिनु, सुनको साथमा चाइनिज पेस्तोल पनि भेटिनु तर हतियार लिएर हिडेका तस्करहरुलाई प्रहरीले ससम्मान, चारभञ्ज्याड. कट्न मद्त गर्नुले थुप्रै प्रश्नहरु जन्माएका छन् ।

सुशील यादवको नेतृत्वमा गठित समितिले उजागर गरेको प्रारभ्भिक प्रतिवेदनले नै यस प्रकरणमा निखिल शाखिया लगायत दुईजना सुन व्यापारीले लाजिम्पाटमा जेम्स एण्ड ज्वेलरी ब्यापार गर्ने कौशल पटेल, विजय पटेल र उनका दाइ देवानसिंह पटेलमार्फत ठूलो परिणामा सुन नेपाल ल्याएर भारतमा तस्करी गर्न ठूलो लगानी गरेको तथ्य सार्वजनिक गरिसकेको छ ।

सुन्धाराको १६ किलो सुन प्रकरणले जलप लगाउने धन्दा चोरमाथि चकोरमात्र भएको पुष्टि गर्दछ । सुन खरिदमा लगानी गर्ने निखिल शाखियाले त सक्कली सुनलाई नै लगानी गरेको बुझ्न कठिन छैन् । कौशल,उनका दाइ दिवान सिंह र नवलपरासीमा भेटिने विजय पटेलले १६ किलोको यो खेपको साढे १५ किलो सक्कली सुन कहाँ लुकाएका छन ? निखिल सखियाले कति सुनको लागि कहिलेदेखि लगानी गरिरहेका छन? अहिले उनको मात्रै कति परिमाणको सक्कली सुन आएको छ ? सुन कहाँबाट ल्याइन्छ ? उनी बाहेक सुन तस्करीमा लगानी गर्ने भारतीयहरु कति छन् ? ३३ किलो सुन प्रकरणसंग यसको साइनो छ कि छैन ?

नेकपा र सुनको कनेक्सन

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीमा पद पाउने र नपाउने, खान पाउने र नपाउने तथा हुने र नहुनेबीचको रडाको मच्चिएको साढे ३ महिना नाधेको छ । गत बैशाख ८ गते प्रधानमन्त्री के.पी. शर्मा ओलीले राजनीतिक दलहरुलाई विभाजन गर्न सहज हुने गरी राजनीतिक दल सम्बन्धी अध्यादेश जारी गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरी सो अध्यादेश जारी भएपछि सतहमा आएको सो पार्टीभित्रको विवाद अहिले चरमोत्कर्षमा पुगेको छ ।

पार्टीभित्र ९ सदस्यीय सचिवालयमा , ४५ सदस्यीय स्थायी समितिमा र ४ सय ४९ सदस्यीय केन्द्रीय समितिमा आफ्नो पक्षमा बहुमत पुर्याउन प्रधानमन्त्री के.पी. शर्मा ओलीलाई निकै पापड पेल्न परिरहेको छ । यो सत्ता संर्घषमा केन्द्रमा रहेका र अत्यन्तै अस्थिर रुपमा कित्ता परिवर्तन गरिरहने केही व्यक्तिहरु विगतमा सुन तस्करीको मामलामा संसदीय समितिबाट परोक्ष रुपमा पोलिएका व्यक्तिहरु रहेका छन् । प्रश्न उठेको छ कतै सरकारी संरक्षणमा नै यो सुनतस्करी धन्दा मौलाएको त छैन् ?

राजनीति र मुलुकको आर्थिक अवस्थामा चासो राख्नेहरु नेपाल कम्युनिष्ट पार्टीका नेताहरुको तस्करहरुसंग निकट सम्बन्ध रहेको बताउछन् । २०५४ सालमा तात्कालिन सांसद परि थापाको संयोजकत्वमा गठित संयुक्त संसदीय समितिले आफ्नो प्रतिवेदनमा नाम उल्लेख गरेका दीपक मल्होत्रासंग प्रधानमन्त्री के.पी.शर्मा ओलीकै अत्यन्त राम्रो सम्बन्ध रहेको छ । उहाँको अन्तराष्ट्रिय भ्रमणदलमा नेपाल उद्योग परिसंघ,नेपाल उद्योगबाणिज्य महासंघ र नेपाल चेम्बर अफ कमर्शका वर्तमान र पूर्व अध्यक्षहरुलाई स्थान नभएपछि मोबाइल र सुन व्यापारी मल्होत्रा छुटिनु हुन्न । वाइडबडी जहाज खरिदमा भएको आर्थिक घोटालाको कमिशन नेपाल ल्याएर बुझाउने कार्यमा मल्होत्राको साथ रहेकोले ३३ किलो सुन तस्करीको छानवीनको सुई दीपक मल्होत्रामा पुगेपछि टक्क रोकिएको थियो । माथिको आदेशले छानवीन रोकिएको त्यतिबेलै चर्चामा आएको थियो ।

प्रधानमन्त्री मुनिका अर्कामन्त्रीलाई पनि विगतमा वामपन्थी मिडियाहरुले एक वद्नाम सुन तस्करसंग जोडेर प्रचार गर्ने गरेको परिप्रेक्षमा सत्ता संघर्ष उत्कर्षमा भएको बेला सहतमा आएको सुन र हतियार तस्करीको प्रकरणले अर्को प्रश्न जन्माएको छ, जब सरकारका प्रमुख व्यक्तिहरुको हिमचिम सुन तस्करहरुसंग छ भने कतै लकडाउनमा नियमित हवाई सेवा बन्द भएका बेलामा गरिएको चार्डर्ड उडानहरुलाई तस्करहरुले त दुरुपयो गरेका छैनन् ? संसदीय समिति र प्रमुख प्रतिपक्षी दलहरुले यसमा खोजिनीति गर्नुपर्ने भएको छ ? प्रधानमन्त्री के.पी. शर्मा ओलीकै प्रत्यक्ष निर्देशन र निगरानीमा समाजवादी पार्टीलाई फुटाउन जनकपुरबाट सांसद डा. सुरेन्द्र यादवको अपहरण गर्न नेपाल प्रहरीको महानिरीक्षकबाट भर्खर अवकाश पाउनुभएका सर्वेन्द्रनाथ खनाललाई दुरुपयोग गरिएको घट्नालाई हेर्ने हो भने सरकारले प्रहरी संगठनलाई गैरव्यवसायिक काममा दुरुपयोग गरेको देखिन्छ । यो प्रकरणलाई त्यसबाट अलग राखेर हेर्न मिल्दैन ।

Share Now

Leave a comment.