Prakash Adhikari August 2, 2020

 

काठमाडौं, १८ साउन । सरकारले यस वर्षको शरद ऋतुलाई लक्षित गर्दै पर्वतारोहण र पदयात्रालाई खुला गर्ने निर्णय गरेपनि कोरोनाभाइरसको महामारीका माझ त्यसको कार्यान्वयन चुनौतीपूर्ण रहेको पर्वतारोहण क्षेत्रका अनुभवीहरूले बताएका छन्।

कोरोनाभाइरसको महामारीका कारण लकडाउन गर्नुपर्ने अवस्था आएपछि सरकारले बसन्त ऋतुमा पर्वतारोहण र पदयात्रा सम्बन्धी सम्पूर्ण गतिविधिहरूमा बन्देज लगाएको थियो।

तर लकडाउन खुला भएसँगै पर्यटन क्षेत्र धरासायी बन्न नदिन र पर्यटकीय गतिविधि ‘चलायमान रहेको’ सन्देश दिन पर्वतारोहण र पदयात्राको अनुमति दिने निर्णय गरिएको अधिकारीहरूले बताएका छन्।

आठ हजार मिटर भन्दा अग्ला विश्वका १४ मध्ये ८ वटा हिमाल नेपालमा रहेकाले नेपाल पर्वतारोहण जस्ता साहसिक पर्यटकीय गतिविधिको महत्त्वपूर्ण केन्द्र रहँदै आएको छ।

अनुमति दिनसक्ने अवस्थामा सरकार

पर्यटन विभागका महानिर्देशक रूद्रसिंह तामाङका अनुसार पर्यटन क्षेत्रलाई धरासायी बन्न नदिने र चलायमान बनाउने उद्देश्य सहित पर्वतारोहण सहितका गतिविधि खुला गरिएको हो।

महानिर्देशक तामाड. भन्नुहुन्छ, “हिमालहरूकै कारण नेपाल विश्वमा चिनिन्छ। मूलरूपमा पर्वतारोहण क्षेत्र पनि खुला छ भन्ने सन्देश दिन खोजेका हौँ। यो क्षेत्रलाई चलायमान बनाएर पर्यटनलाई धराशायी बन्न नदिने हाम्रो लक्ष्य छ।”

कोरोनाभाइरसको महामारीका माझ गएको फागुन महिनामा सरकारले बसन्त ऋतुका लागि जारी गरिएका सम्पूर्ण अनुमति पत्र स्थगित गर्ने निर्णय गरेको थियो।

गोक्यो ताल

गोक्यो ताल
कोभिड-१९ महामारीलाई ध्यान दिएर लगाइएको लकडाउन खुकुलो बनाउने सरकारी निर्णयसँगै साउन महिनाको १५ गतेबाट पर्वतारोहण र पदयात्राका लागि अनुमति पत्र दिने निर्णय मन्त्रिपरिषद्ले गरेको थियो।

उक्त निर्णयको कार्यान्वयन आफूहरूले सुरु गरिसकेको उल्लेख गर्दै पर्यटन विभागकी निर्देशक मिरा आचार्यले त्यसका लागि स्वास्थ्य सम्बन्धी विभिन्न निर्देशिकाहरू बनाउन थालिएको बताउनुभयो।

त्यसअन्तर्गत होटल, रेस्टुराँहरूले पालना गर्ने निर्देशिका बनिसकेको र पर्वतारोहीको निर्देशिका पनि केही समयमै टुङ्गिने उहाँको भनाइ छ।

“कोभिड-१९ नियन्त्रणका लागि सरकारले गठन गरेको सीसीएमसीले बनाएका कतिपय निर्देशिकाको अधिनमा रहेर नै यी व्यवस्थाहरू गरिन्छन् ”,आचार्यले भन्नुभयो ।

आशाको सञ्चार

बसन्त ऋतुमा आफ्नो पेशा व्यवसाय सम्पूर्ण रूपमा ठप्पहुँदा निराश बनेका पर्वतारोहीहरू पछिल्लो सरकारी निर्णयबाट आशावादी बनेका छन्।

२४ पटक सगरमाथाको चुचुरो चुमेका कीर्तिमानधारी पर्वतारोही कामीरिता शेर्पाले युरोपका कैयौँ देशमा पर्वतारोहण सम्बन्धी गतिविधि खुला नै रहेको उल्लेख गर्दै सरकारले सुरक्षित रूपमा पर्वतारोहणको वातावरण सुनिश्चित गर्नुपर्ने बताउनुभयो।

त्यसका लागि पर्वतारोहीहरू नेपाल प्रवेश गरे लगत्तै उनीहरूलाई क्वारन्टीनमा राख्ने, उनीहरूले आरोहण गर्ने हिमाल नजिकै हेलिकप्टरबाट आवश्यक पर्दा उद्धारका कामलाई चुस्त बनाउनुपर्ने र स्वास्थ्यकर्मीको टोली खटाउनुपर्ने शेर्पाको सुझाव छ।

“महामारी सबैभन्दा सुरूमा देखापरेको चीनले आफ्नो क्षेत्रबाट सर्भेयरहरूलाई सगरमाथाको चुचुरोमा पुर्‍यायो। हाम्रोमा हिमालमा लकडाउन गरिरहनुपर्छ भन्ने मलाई लाग्दैन ”, कामीरिताले भन्नुभयो, “कुनै पर्वतारोहीमा कोरोनाभाइरसको लक्षण देखियो भने तत्काल उद्धार गर्नसक्ने गरी स्वास्थ्य टोली र हेलिकप्टर खटाउनुपर्छ। हेलिकप्टरबाट उद्धार गर्ने प्रक्रिया अलिकति झन्झटिलो पनि छ त्यसलाई सजिलो बनाउनुपर्छ।”

पुनहिलमा रमाइरहेका पर्यटकहरू

पुनहिलमा रमाइरहेका पर्यटकहरू, अन्नपूर्ण क्षेत्रको पुनहिल र घान्द्रुकमा बाह्रै महिना पर्यटकहरूको भिड लाग्छ

बसन्तयाममा सगरमाथा आरोहण गर्ने गरेका शेर्पाले यसपाली शरद याममा आफू ८,१६३ मिटर अग्लो मनासलुतर्फ जान लागेको बताउनुभयो।

उहाँले आफ्नो समूहमा जाने भनेका कतिपय विदेशी पर्वतारोहीहरूसँग सम्पर्क भइरहेको र उनीहरूले पनि आरोहण दलमा सहभागी हुन तयार रहेको बताइरहेको जानकारी दिनुभएको छ।

अप्ठेरा यस्ता छन्

तर पर्वतारोहण मामिलाका जानकार एवम् व्यवसायी आङ छिरिङ शेर्पा सरकारले खुला भएको बताएपनि अझै अन्यौल रहेको बताउनुहुन्छ।

“हाम्रो देशले विमानस्थल खोल्ने भनेको छ तर पर्वतारोहीको देशले आउन दिएन भने त्यो त्यति लाभदायी हुँदैन। तर उडानहरू भयो भने अग्ला हिमालहरू सम्भव नभएपनि आमादब्लम जस्ता ६ हजारदेखि ७ हजार मिटरका साना हिमालहरूको प्रवर्द्धन हुन्छ कि भन्ने हाम्रो पनि आशा छ।”

शेर्पाले नेपालमा आठ हजार मिटर भन्दा अग्ला हिमाल प्राय जसो बसन्तयाममा नै आरोहण हुने गरेको उल्लेख गर्दै विमानस्थल खुलेपछि नेपालसम्म आइपुगेर त्यस्ता हिमाल चढ्ने तयारी गर्न समय पनि अपुग हुनसक्ने धारणा राख्नुभयो।

खुम्बु लगायत उच्च हिमाली क्षेत्रमा कोभिड-१९ को खासै सङ्क्रमण नदेखिएको उल्लेख गर्दै उहाँले स्वास्थ्य सम्बन्धी मापदण्डहरू भने पालना गरिनुपर्ने बताउनुभयो।

स्वास्थ्य सावधानी

अन्नपूर्ण क्षेत्रमा दुई पदयात्राी

अन्नपूर्ण क्षेत्रमा दुई पदयात्री : नेपाल आउने पदयात्री मध्ये आधाभन्दा बढी अन्नपूर्ण क्षेत्रमा पुग्ने गरेको अनुमान छ

पर्यटन विभागका महानिर्देशक तामाङ कोभिड-१९ लाई ध्यान दिँदै जारी गरिएको पर्वतारोहण सम्बन्धी सुरक्षाको प्रोटोकल लगभग स्वीकृतिको चरणमा रहेको बताउनुभयो।

त्यसमा पीसीआर परीक्षण नेगेटिभ भएको प्रमाणपत्र, नेपाल आएपछि उनीहरूले पालना गर्नुपर्ने क्वारेन्टाइन र हिमाल आरोहणका क्रममा अपनाउनुपर्ने सावधानीको विषय समेटिने उहाँले जानकारी दिनुभयो।

उक्त मापदण्डमा भरिया, पथप्रदर्शक, सम्पर्क अधिकृत सबैलाई समेट्ने र बेस क्याम्पदेखि हिमालको चुचुरोसम्म पुग्दाको अवस्थालाई ध्यानमा राखिने उहाँको भनाइ छ।

उहाँले उच्च हिमाली क्षेत्रमा हेलिकप्टरमार्फत् गरिने उद्धारमा पनि ध्यान दिइने र पर्वतारोहण टोलीसँगै स्वास्थ्यकर्मीहरू पठाउने गरेको पनि जानकारी दिनुभयो।

कोरोनाभाइरसको महामारीका कारण सरकारले बसन्त यामको पर्वतारोहण बाहेक नेपाल भ्रमण वर्ष पनि रद्द गरेको थियो।

नेपाल भ्रमण वर्षका क्रममा २० लाख पर्यटक नेपाल भित्र्याउने र झण्डै २ अर्ब डलर आम्दानी गर्ने लक्ष्य नेपालले राखेको थियो।

कोभिड-१९ माहामारीका कारण पर्यटन क्षेत्रमा मात्रै एक अर्ब डलरको राजश्व नोक्सानी भएको र लाखौँको सङ्ख्यामा रोजगारी गुमेको अधिकारीहरूले बताएका छन्।(बीबीसीबाट)

Share Now

Leave a comment.