Prakash Adhikari August 1, 2020

हैदरावाद(आन्ध्र प्रदेश, भारत), १७ साउन (बीबीसी) । भारतको दक्षिणी राज्य आन्ध्रप्रदेशको एउटा गाउँमा रक्सी बेच्ने पसलहरू बन्द भएकाले अल्कोहोलमा आधारित स्यानिटाइजर सेवन गरेपछि कम्तीमा १० जनाको ज्यान गएको छ।

कुरीचेडु नामक गाउँमा कोरोनाभाइरस सङ्क्रमण बढेका कारण लकडाउन गरिएको छ।

जिल्लाका प्रहरी प्रमुख सिद्धार्थ कौशलले ती मानिसहरूले स्यानिटाइजरमा पानी तथा हल्का पेय पदार्थ मिसाएर पिएको बताउनुभयो।

कौशलका अनुसार ती मानिस पियक्कड थिए र तिनले मर्नुभन्दा १० दिन अगाडिदेखि त्यसरी स्यानिटाइजर पिउन थालेका थिए।

“ती स्यानिटाइजरमा अन्य विषालु पदार्थ पनि थिए कि भनेर हामी अनुसन्धान गरिरहेका छौँ “, जिल्ला प्रहरी प्रमुख कौशलले पत्रकारहरूलाई बताउनुभयो।

स्यानिटाइजरको नमुना रासायनिक परीक्षणका निम्ति पठाइएको छ।

“कतिपय रक्सी पिउने लत लागेका मानिसहरूले स्यानिटाइजर पिएका थिए”, कौशललाई उघृत गर्दै रोयटर्स समाचार संस्थाले उल्लेख गरेको छ, “लकडाउनका कारण रक्सी उपलब्ध छैन। तर स्यानिटाइजर भने सजिलै पाइन्छन्।”

स्थानीय लकडाउन

भारतको सङ्घीय सरकारले आर्थिक सङ्कट टार्न सबैजसो व्यापार व्यवसाय पुन: सञ्चालनको अनुमति दिइसकेको छ।

यो साताको सुरुमा योग सिकाउने संस्था तथा व्यायामशाला पनि खोल्न दिइने भनिएको छ। मानिस तथा मालसामानको आवतजावत तथा ओसारपसार खुकुलो पारिएको छ।

तर कैयन् राज्यहरूले भने स्थानविशेषमा भाइरस सङ्क्रमण रोक्न लकडाउन लागु गरेका छन्।

आन्ध्रप्रदेश राज्यमा गत महिना सङ्क्रमितको सङ्ख्या नौ गुनाले बढेको छ।

यसबीच भारतमा गत २४ घण्टामा थप ५५ हजार मानिस सङ्क्रमित भएका छन्। त्यहाँ कोरोनाभाइरसबाट ज्यान गुमाउनेको सङ्ख्या एकैदिनमा ७७९ ले बढेर साढ ३५ हजार पुगेको छ।

Share Now

Leave a comment.