Prakash Adhikari August 3, 2020

 

काठमाडौं, १९ साउन । कोरोना भाइरसको दैनिक संक्रमण र मृत्युमा भारत विश्वको शीर्षस्थानतिर पुगेको छ । दैनिक संक्रमण र मृत्युदर उच्च रहेका अमेरिका र ब्राजिललाई उछिनेर यो खराबस्थितिको शीर्षतिर  भारत पुगेको हो।

विगत २४ घण्टामा भारतमा कोरोना संक्रमणबाट ७ सय ५८ जनाले ज्यान गुमाएका छन्। सोही अवधिमा ब्राजिलमा ५ सय १४ र अमेरिकामा ४ सय ६७ जनाले ज्यान गुमाएका छन्।

यस अवधिमा संक्रमित पनि भारतमा धेरै देखिएका छन्। भारतमा ५२ हजार ७ सय ८३ जनामा संक्रमण पुष्टि भएको छ भने अमेरिकामा ४९ हजार ३१ र ब्राजिलमा २४ हजार ८ सय १ जनामा संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा विश्वभर कोरोना संक्रमणको कारण ४ हजार ३ सय ६८ जनाले ज्यान गुमाएका छन्।

त्यस्तै मेक्सिकोमा ७ सय ८४ जनाले ज्यान गुमाएका छन् भने कोलम्बियामा ३ सय २०, दक्षिण अफ्रिकामा २ सय १३, पेरुमा २ सय ६, इरानमा २ सय ८ जनाले ज्यान गुमाएका छन्।

पछिल्लो २४ घण्टामा विश्वभर २ लाख १२ हजार भन्दा धेरैमा संक्रमण देखिएको छ। यो सँगै विश्वभर संक्रमितको संख्या १ करोड ८२ लाख २१ हजार नाघेको छ भने मृतकको संख्या ६ लाख ९२ हजार नाघेको छ।

अहिलेसम्म १ करोड १४ लाख भन्दा धेरै संक्रमित उपचारपछि निको भएका छन्।

Share Now

Leave a comment.