काठमाडौं, १९ साउन (बीबीसी) । कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या प्रतिशतका हिसाबले देशभरिको तुलनामा राजधानी काठमाडौंमा त्यति धेरै नदेखिएको भए पनि स्वास्थ्य सङ्कट नआओस् भनेर निकै सजग हुनुपर्ने समय आएको सरकारी अधिकारीहरूले बताएका छन्।
शनिवार देशभरि कोरोनाभाइरसबाट सङक्रमित हुनेको सङ्ख्या २० हजार नाघेको थियो।
एक दशकअघि गरिएको जनगणनामा उपत्यकाको जनसङ्ख्या २५ लाख देखिएको थियो। अहिले जनसंख्या उल्लेख्य वृद्धि भएको राजधानीमा शनिवारसम्म ५ सय ८१ सङ्क्रमित फेला परेका थिए।
तीमध्ये ४ सय भन्दा बढीमा सक्रिय सङ्क्रमण भएको सरकारी तथ्याङ्क छ।
खासगरी लकडाउन खुकुलो पारिएपछि सङ्क्रमण पुष्टि हुने क्रम हेर्दा सङ्ख्यामा उल्लेख्य वृद्धि हुनसक्ने जोखिम देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले बताउनुभयो।
काठमाडौं उपत्यका किन उच्च जोखिम ?
लकडाउन खुकुलो पार्नुभन्दा ११ दिनअघि (असार २७ गतेदेखि साउन ६ गतेसम्म) को विवरण हेर्दा झन्डै ४८ हजार पीसीआर परीक्षण हुँदा १ हजार ३ सय ४५ मा सङ्क्रमण देखिएको थियो।
तर लकडाउन खुकुलो भएपछिको ११ दिन (साउन ७ गतेदेखि १७ गतेसम्म) को विवरण हेर्दा झन्डै ५८ हजार परीक्षणमध्ये २ हजार ९२ वटामा कोरोनाभाइरस देखियो।
यसको अर्थ लकडाउन अघि र पछि सङक्रमणको दर २.८ प्रतिशतबाट बढेर ३.६ प्रतिशत पुगेको छ।

केही सातादेखि वीरगन्ज र भारतसँग सीमा जोडिएका अन्य सहरहरूमा सङ्क्रमितको सङ्ख्या बढेको छ। काठमाडौंमा सङ्क्रमण व्यापक रूपमा फैलिन सक्ने र बिरामीको सङ्ख्या ह्वात्तै बढ्न सक्ने जोखिम भएको डा. अधिकारी बताउनुहुन्छ।
ठूलो जनघनत्व र मानिसहरूको निर्वाध आवतजावत भइरहेकाले त्यस्तो जोखिम भएको बताइन्छ।
जनस्वास्थ्यविद् डा. सेनेन्द्रराज उप्रेतीले सङ्क्रमण देखिएका अन्य जिल्लाबाट मानिसहरू आउने क्रम जारी रहेको र भविष्यमा बढ्न सक्ने भएकाले काठमाडौं जोखिममा रहेको बताउनुभयो।
‘पछिल्लो समय काठमाडौं उपत्यकामा बाहिरबाट आएका मानिसहरूको भन्दा फरक तरिकाले कोभिड-१९ पोजिटिभ भएकाहरू देखेका छौँ। खासगरी त्यस्ता मानिसहरू नाकामा देखिरहेका छौँ। परीक्षण नभई काठमाडौं छिरेका मानिस पनि छन् र त्यस्ता मानिस ०.७ प्रतिशत छन्। ती व्यक्तिबाट पनि अरू मानिसलाई सरेको हुनसक्छ’, डा. अधिकारी भन्नुहुन्छ।
त्यसबाहेक समुदायमा गरिएको परीक्षणमा अन्यत्र यात्रा नगरेका मानिसमा पनि कोरोनाभाइरस देखिएकाले जोखिम धेरै रहेको ठानिएको उहाँले बताउनुभयो।
काठमाडौं उपत्यकामा के छ स्थितिरु
साउन १८ गते अपराह्णसम्मको तथ्याङ्क
- ५८१ कुल सङ्क्रमित
- ५ मृत्यु
- ४०७ सक्रिय सङ्क्रमण
- ३१५ काठमाडौंमा
- ६५ ललितपुरमा
- २७ भक्तपुरमा
स्रोतः स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय
के छ स्वास्थ्य प्रणालीको स्थिति ?
सङ्क्रमणदर ह्वात्तै बढे बिरामीको चाप अस्पतालहरूले थेग्न कठिन हुनेतर्फ विज्ञहरूले सचेत गराउँदै आएका छन्।
सरकारसँग लकडाउन सुरु गरेको समयमा आईसीयू शय्या १५५१ र ७७० भेन्टिलेटर रहेकोमा अहिले त्यो सङ्ख्यामा २०० जति मात्रै वृद्धि भएको तथ्याङ्कले देखाउँछ।

कोरोनाभाइरस परीक्षण
अहिले उपलब्ध शय्या र भेन्टिलेटर सङ्क्रमितहरूको सङ्ख्या बढ्दै जाँदा बिरामीको चाप थेप्न पर्याप्त नहुने स्वास्थ्यविद्हरूको तर्क छ।
‘त्यसैले हाम्रो प्राथमकिता भनेकै सङ्क्रमणको रोकथाम हो। बिरामीको सङ्ख्या बढ्न थालेपछि क्षमताले नभ्याउन सक्छ’ डा. अधिकारीले भन्नुभयो,’काठमाडौंभित्र रोगसँग लड्ने क्षमता कम भएका व्यक्तिहरूको सङ्ख्या बढी हुने र अलि बढी जोखिममा भएका ठाउँहरूबाट आउने मानिसहरूको सङ्ख्या पनि बढेका कारणले पनि उपत्यका अलि बढी जोखिममा छ।’
के फेरि लकडाउन लाग्न सक्छ?
कोरोनाभाइरसका कारण लगाइएको लकडाउन खुकुलो पारेपछि झापा, विराटनगर, बाँकेजस्ता सहरमा सङ्क्रमितको सङ्ख्या बढेको पाइयो। त्यसलगत्तै ती ठाउँहरूमा लकडाउन पुनस् लगाइएको छ।
सङ्क्रमितको सङ्ख्या बढिरहँदा अस्पतालहरूले पर्याप्त सेवा दिन नसकिरहेको भनिएको वीरगन्जमा त निषेधाज्ञा नै जारी गरिएको छ।

ट्राफिक प्रहरीलाई कोरोनाभाइरस सङ्क्रमण देखिएपछि महानगरीय ट्राफिक प्रहरी महाशाखा पनि सील गरिएको छ
ट्राफिक प्रहरीलाई कोरोनाभाइरस सङ्क्रमण देखिएपछि महानगरीय ट्राफिक प्रहरी महाशाखा पनि सील गरिएको छ
आइतवार काठमाडौंस्थित महानगरीय ट्राफिक महाशाखा पनि सील गरिएको छ।
लकडाउन खुकुलो गरिएपछि मानिसको आवतजावतका कारण सङ्क्रमणको जोखिम बढेकाले हिँडडुल र व्यापार(व्यवसायमा केही कडाइ गर्नपर्छ कि भन्नेबारे मन्त्रालयमा छलफल भएको जानकारी सहप्रवक्ता अधिकारीले दिए।
जनस्वास्थ्यविद्हरूले पनि काठमाडौंमा सङ्क्रमितको सङ्ख्या अहिलेसम्म थोरै देखिए पनि जोखिम भने उच्च रहेको बताएका छन्।
‘सीमामा परीक्षण कडाइ गर्नैपर्छ। त्यसबाहेक सर्वासाधारण आफैँ पनि सचेत हुनुपर्छ। लकडाउन खुलेको अवस्थामा जोखिम नै नभए जसरी अनावश्यक हिँडडुल गर्ने, मास्क नलगाउने र भौतिक दूरी कायम नगर्दा जोखिम धेरै रहन्छ’, डा. उप्रेतीले भन्नभयो ।
अब के गर्नुपर्छ ?
जनघनत्व धेरै भएका विदेशका सहरमा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या बढ्न धेरै समय नलागेको देखिएकोले नेपालमा पनि त्यही अवस्था आउन सक्ने चेतावनी विज्ञहरूले दिएका छन्।

भक्तपुर
” दुवै खालका उदाहरण छन्। मानिस सचेत भएका विदेशी सहरमा सङ्क्रमण नियन्त्रणमा पनि आएको छ भने लापरबाही गर्ने सहरमा सङ्क्रमण निकै छिटो बढेको पनि छ। हामीले कुन उदाहरण मान्ने भन्ने मुख्य विषय हो “,जनस्वास्थ्यविज्ञ डा. शरद वन्तले बताउनुभयो, “भोलि काठमाडौं ‘हटस्पट’ बन्न सक्छ भन्ने सम्भावना ख्याल गरेर सरकारले र आमनागरिकले त्यसैअनुसार सचेत भएर काम गर्नुपर्छ।”
लकडाउन खुकुलो पारिएपछि खासगरी जनसङ्ख्या धेरै भएकै ठूला सहरहरू सङ्क्रमण धेरै देखिएकाले पुनू लकडाउनमा फर्किएका छन्।
काठमाण्डूमा पनि जोखिम उच्च रहेकाले त्यो लकडाउनमा जानुपर्ने स्थिति आउन सक्ने बताइन्छ।
“अब हामीले सङ्क्रमणको साङ्लो भङ्ग गर्ने काम जति छिटो गर्छौं त्यतिपछि सर्छ र हटस्पट नै नहुन पनि सक्छ। यसमा उदासीन भयौँ भने चाहिँ चाडबाडको मुखमा सङ्क्रमणको दर ह्वात्तै बढेर व्यवस्थापन गर्न गाह्रो हुनसक्छ” , डा. वन्तले भन्नुभयो।


















