काठमाडौं, १९ साउन । सरकारले बैदेशिक लगानी प्रबर्धन गर्नको लागि स्थापना गरेको लगानी बोर्डको नेतृत्व गर्ने जिम्मेवारी ई. सुशील भट्टलाई सुम्पिएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले बोर्डको प्रमुख कार्यकारी अधिकृतमा सुशील भट्टलाई नियुक्त गरेको छ ।
अहिले राष्ट्रिय योजना आयोगको सदस्य रहनुभएका ई.भट्टले आयोगमा पूर्वाधार विकास, राष्ट्रिय आयोजना बैंक र सुदूरपश्चिम प्रदेशसंगको समन्वयको जिम्मेवारी सम्हालिरहनुभएको छ ।
इञ्जिनियरिड.मा स्नातक र काठमाडौं विश्वविद्यालयबाट एमबीए गर्नुभएका भट्टसंग राष्ट्रिय योजना आयोगमा काम गर्दाको राष्ट्रको आर्थिक सामाजिक विकासका आवश्यकता, नेपाली जनताको आवश्यकता र अपेक्षाका साथै आन्तरिक स्रोत साधनको अवस्था र बाह्य स्रोत अर्थात विदेशी लगानीको आवश्यकताको बारेमा राम्रो ज्ञान रहेको छ ।
आयोजनाहरुको तर्जुमा, चयन,कार्यान्वयन र व्यवस्थापनको डेढ दशक लामो उहाँको अनुभवलाई राष्ट्रिय योजना आयोगले राष्ट्रिय आयोजना बैंकको स्थापना र सञ्चालनमा भरपुर उपयोग गरेको थियो । आवश्यकता र औचित्यपूर्ण ढंगले आयोजनाको चयन गर्ने र तयारी अवस्थामा पुगेका र स्रोतको सुनिश्चितता आयोजनालाई मात्र सरकारको बार्षिक(बहुबर्षीय समेत) बजेटमा समावेश गर्ने ढंगले आयोजनाहरुको भण्डार तयार गर्ने कार्य राष्ट्रिय योजना आयोगले सुरु गरिसकेको छ । यसले राजनीतिक दबावका भरमा तयारी नपुगेका आयोजनाहरुमा बजेट छरेर देशको दुर्लभ स्रोत साधन दुरुपयोग नगर्न सरकारलाई सघाउने अपेक्षा गरिएको छ । यसले आयोजनाको चयनमा स्थानीय जनताको सहभागितालाई पनि सुनिश्चित गरेको छ ।
सन २००३ देखि २००५ सम्म सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुरमा ग्रामीण विद्युतीकरण परियोजना अन्तरगत ६० हजार घरधुरीमा विद्युत सेवा पुर्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका भट्टले राष्ट्रिय योजना आयोगमा यस पहिले नै सार्वजनिक निजी साझेदारीको विज्ञका रुपमा आफ्नो ज्ञान,सीप र अनुभवले सेवा दिनुभएको थियो ।
नेपालका उत्कृष्ट व्यवस्थापन कलेजहरुमा समेत आबद्ध रहनुभएका नवनियुक्त कार्यकारी अधिकृत भट्ट विभिन्न कलेजहरुमा विज्ञ अतिथि वक्ताको रुपमा प्राध्यापनमा पनि संलग्न हुदैं आउनुभएको छ ।
व्यवसायिक संगठनहरुमा कुशल नेतृत्व दिंदै आउनुभएका ई.भट्ट नेपालका व्यवस्थापकहरुको छाता संगठन नेपाल व्यवस्थापन संघको निवर्तमान अध्यक्ष पनि हुनुहुन्छ । उहाँले संघको १८ औं कार्यकारी समितिको अध्यक्षको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरी निर्वाचित कार्यसमितिलाई कार्यभार सुम्पेर सफल रुपमा नेतृत्व हस्तान्तरण गरेको उदाहरण पनि पेश गर्नु भएको छ । नेपाल इञ्जिनियर्स एशोसिएसन, नेपाल मध्यस्थकर्ता परिषद् र सुदूर पश्चिम सरोकार समाजको सक्रिय सदस्य रहनुभएका भट्टको नेतृत्वमा नै सन २०१७ मा नेपाल व्यवस्थापन संघको धनगढी शाखाले नेपाल सरकार र संयुक्त राष्ट्र संघीय कार्यक्रमको सहयोगमा पहिलो प्रदेशस्तरीय विकास मार्गचित्रसम्बन्धी कार्यशाला गोष्ठी आयोजना गरेको थियो ।
नेपालका प्रमुख कार्यकारी अधिकृतहरुको संस्था सिइओ क्लब र बिजनेश प्लस टेलिभिजनको आयोजनामा भएको सीइओ समिट र अवार्ड समितिका निर्णायक सदस्यको रुपमा रहनुभएका भट्टलाई उहाँले विकास व्यवस्थापनमा गर्नुभएको योगदानको कदर गर्दै ‘प्रवल जनसेवा श्री पदक’बाट विभूषित पनि गरिएको थियो । उहाँलाई भारतको प्रख्यात अखबार टाइम्स अफ इण्डियाद्धारा आयोजित ‘टाइम्स एसेन्ट विश्व मानवसंशाधन विकास सम्मेलन २०१८ ‘मा’ सिईओ विथ ह्युमनरिर्सोस ओरियन्टेशन अवार्ड’बाट सम्मानित गरिएको थियो ।
नव नियुक्त कार्यकारी अधिकृत भट्टले सन २०१५ मा मनिलामा सम्पन्न एशियन एशोसिएसन अफ म्यानेजमेण्ट अर्गनाइजेशनमाm २०१८ मा चीनको गुयाड.मा भएको पहिलो एशियाली सार्वजनिक निजी साझेदारी बैठकमा वक्ताको रुपमा सहभागिता जनाउनुका साथै प्रधानमन्त्रीस्तरीय भ्रमणहरुमा सहभागिता समेत जनाउनुभएको थियो । उहाँले सन २०१६, २०१७ र २०१८ मा सम्पन्न राष्ट्रिय व्यवस्थापन परिषद्को सम्मेलनको अध्यक्षता पनि गर्नुभएको थियो ।


















