Prakash Adhikari August 4, 2020

लण्डन(संयुक्त अधिराज्य), २० साउन(बीबीसी) । नमुना सङ्कलन गरेको ९० मिनेटमै नतिजा आउने नयाँ जीवन रक्षक कोरोनाभाइरस परीक्षण विधि यूकेमा आगामी साताबाट सुरु गरिने भएको छ।

कोभिड १९ र अन्य मौसमी बिरामीबीच छुट्याउन सकिने त्यस्तो स्वाब र डीएनए परीक्षण जाडो याममा निकै उपयोगी हुने बेलायतका स्वास्थ्यमन्त्रीले बताएका छन्।

हालको परीक्षण प्रकृया अन्तर्गत तीन चौथाइ नतिजा २४ घण्टाभित्रै आइसक्ने भएपनि एक चौथाइ नतिजाका लागि दुई दिनसम्म लाग्न सक्छ।

सो परीक्षणको पाँच लाख किट यूकेका वृद्ध हेरचाह केन्द्र र परीक्षण केन्द्रमा आगामी साता उपलब्ध हुनेछ। यो वर्ष थप लाखौँ त्यस्ता किट बनाइने बताइएको छ।

स्वास्थ्यमन्त्री म्याट ह्यान्ककले कोरोनाभाइरस परीक्षणसम्बन्धी यो नयाँ विकसित प्रविधि जीवन रक्षक हुने पनि बताउनुभएको छ।

उहाँले भन्नुभयो, ‘कोरोनाभाइरसको नयाँ तीव्र परीक्षणले ९० मिनेटभन्दा कम समयमा यथास्थानमै नतिजा दिएर हामीलाई कोरोनाभाइरसको लहर रोक्न मद्दत गर्नेछ।’

यो परीक्षणका लागि मेशिन निर्माण गरेको कम्पनी डीएनए नजका सहसंस्थापक प्राध्यापक क्रिस टुमाजुले नयाँ परीक्षण ‘द्रूत’र ‘विश्वसनीय’ रहेको बताउँदै यो जुनसुकै स्थानमा लगेर गर्न सकिने बताउनुभयो।

परीक्षण किट बनाएको अक्सफोर्ड नानोपोरका प्रमुख कार्यकारी गोर्डन साङ्घेराले यो परीक्षण विश्वभरका लागि सस्तो र सहज परीक्षण हुने सम्भावना रहेको बताउनुभयो।

बीबीसीकी स्वास्थ्य सम्वाददाता लरेन मोसले अहिलेसम्म यो नयाँ परीक्षणको विषयमा तथ्याङ्क सार्वजनिक नगरिएको भए पनि विश्वसनीय भए नभएको परीक्षण गर्ने विधि बनाइएको दाबी गरिएको बताउनुभएको छ।

मोसले यो परीक्षणको सबैभन्दा ठूलो फाइदा भनेको जाडो याममा लाग्ने अन्य फ्लुबाट कोभिड-१९ लाई छुट्याउन सकिनु नै रहेको बताउनुभएको छ।

Share Now

Leave a comment.