काठमाडौं, २ कार्तिक । लगानी बोर्डका पूर्वकार्यकारी अधिकृत ई. सुशील भट्टलाई प्रहरीले हिरासतमा लिएको छ। राष्ट्रिय योजना आयोगका सदस्य र लगानी बोर्डका कार्यकारी अधिकृत रहेर नीतिगत काममा सक्रिय भट्टलाई पक्राउ गर्नुपर्नाको कारण सरकारले सार्वजनिक गरेको छैन ।
तर उहाँलाई उहाँका भाइ दीपक भट्टसंगको सम्पर्क, कारोबार आदिमा मुछ्न खोजिएको अनुमान गरिएको छ । दीपक भट्टलाई नै सरकारले किन समात्यो ? यो प्रश्नको चित्त बुझ्दो जवाफ पनि आजसम्म पाइएको छैन । दीपकलाई जेलमा नै राखेर मुद्दामाथि मुद्दा चलाइएको छ । जबकी हिमालयन रिइन्स्योरेन्सको सञ्चालक समितिमा नरहनुभएका भट्टले कम्पनीको कोष शेयर खरिदमा शेयर दलाललाई दिएको दोष उहाँलाई लगाइएको छ । तर सो कम्पनीका तात्कालीन अध्यक्षलाई यही कसूरमा थुनामुक्त गरी मुद्दा लड्ने सहुलियत दिइएको छ ।
भट्टमाथि सम्पत्ति शुद्धीकरण यसरी खनिएको छ कि मानौ यो देशका सबै आर्थिक अनियमितता उहाँले गर्नुभएको हो । उहाँ तथा उहाँको परिवारका सदस्यलाई कारबाही गरेपछि देश फानान्सियल एक्सन टाक्स फोर्सको ग्रे लिष्ट बाट बाहिर निस्कन्छ । फाइनान्सियल एक्सन टाक्स फोर्सले नेपाललाई शेयर कारोबार बाहेक क्यासिनो, सुन, घरजग्गा र सहकारी कारोबार मार्फत सम्पत्ति शुद्धीकरण भएकोले त्यसमा सुधार गर्न पनि भनेको छ । तर सो टाक्स फोर्सले देखाएका अन्य क्षेत्रका कुनैपनि कारोबारीलाई सरकारले सामान्य सोधपूछ समेत गरेको देखिएको छैन ।
शेयर कारोबारमा पनि भट्ट जोडिएका कम्पनीमा मात्र किन सरकारको ध्यान गयो ? यो पनि रहस्यमय छ । कतिपय ब्यापारी र कुटनीतिक क्षेत्रका ज्ञाताहरु बर्तमान सरकार उत्तरको छिमेकीप्रति सहिष्णुभाव नदेशाउने शक्तिबाट प्रभावित भएकोले भट्ट परिवारमाथि बढी खनिएको बताउँछन् । भट्ट त्यस्तो व्यक्तिमा पर्नुहुन्छ जसले भारतले पहिलेदेखि तिरस्कार गर्दै आएको बुढीगण्डकी बहुउद्देश्यीय जलविद्युत आयोजनामा चीनको गेजुवा ग्रुपलाई झ्याप्पै ल्याइदिनुभयो । त्रिशूली थ्री ए जलविद्युत आयोजनामा पनि काम गराउनुभयो । चमेलिया जलविद्युत आयोजना पनि चिनिया कम्पनीबाट निर्माण गराउनुभयो । नेपालमा चिनिया कम्पनीलाई प्रबर्धन गराएको पुरस्कार उहाँलाई दिइएको हो भनिन्छ ।
यसबाहेक वर्तमान सरकारको आँखाको कसिंगर बन्नुभएका नेकपा एमालेका अध्यक्ष के.पी.ओलीसंगको निकटताको मूल्य पनि अहिले भट्ट परिवारले चुकाउनु परेको छ । सरकारको तारो बनेको भट्ट परिवार अब अदालतले कस्तो न्याय दिन्छ, त्यसको प्रतिक्षामा छ ।







