मस्कट(ओमान), २ कार्तिक । आईसीसी विश्वकप लिग–२ को अन्तिम खेलमा आज नेपाल ओमानसंग खेल्दै छ ।
ओमानको राजधानी मस्कटमा हुने खेल बिहान ११ः१५ मा सुरु हुनेछ ।
शीर्ष ६ मा स्थान बनाउन नेपालले अन्तिम खेलमा ओमानलाई हराउनैपर्ने भएको छ।
क्यानडाविरुद्ध शनिबार २४ रनले पराजित भएपछि नेपाललाई शीर्ष ६ मा पुग्ने सम्भावना कायम राख्न सोमबार हुने ओमानविरुद्धको खेल जित्नैपर्ने दबाब परेको हो।
अघिल्ला दुई खेलमा लगातार जित निकालेको नेपाल क्यानडाविरुद्ध भने लक्ष्य पछ्याउने क्रममा चुक्यो। क्यानडाले दिएको २ सय ५७ रनको लक्ष्य पछ्याएको नेपाल ४६ ओभरमा २ सय ३२ रनमै अलआउट भयो।
नेपाली बलरहरु शुरुका ओभरहरुमा विकेट लिन चुक्दा क्यानडाले राम्रो स्कोर बनायो । नेपाली ब्याटरहरु पनि अर्जुन कुमाल बाहेक क्रिजमा टिकेर खेल्न सकेनन् । लिगको अन्तिम श्रृँखला क्लिन स्वीप गर्ने नेपाली योजना तालमेल नमिल्दा सफल हुन सकेन ।
यो हारसँगै नेपाल विश्वकप लिग–२ को अंकतालिकामा सातौं स्थानमा झरेको छ।
नेपालका लागि अझै पनि अंक तालिकामा एक स्थान माथि उक्लने अवसर बाँकी छ। आजको खेलमा ओमानविरुद्ध जित हासिल गरेमा नेपाल क्यानडाभन्दा माथि उक्लिँदै आठ टोलीको अंक तालिकामा छैटौं स्थान सुरक्षित गर्न सक्नेछ।
यस खेलको नतिजाले सन् २०२७ को विश्वकपसम्म पुग्ने नेपालको यात्रामा कुनै परिवर्तन ल्याउने छैन। शीर्ष चारभित्र पर्न नसकेका कारण नेपाल पहिले नै क्रिकेट विश्वकप छनोट प्लेअफमा धकेलिसकेको छ।
ओमानले शीर्ष चारभित्र स्थान पक्का गर्दै विश्वकप छनोटमा सोझै प्रवेश पाइसकेको छ। उनीहरूले ३१ खेलबाट ३३ अंक जोडेका छन् ।
नेपाललाई लिग २ छनोट खेलमा सबैभन्दा ठूलो धोका नेदरल्याण्ड सेरिजको अनपेक्षित हारबाट भएको छ । नेपाल, नेदरल्याण्ड्स र नामिबिया सम्मिलित सो श्रृँखलाका चारै खेल नेपालले गुमाएको थियो । सो श्रृँखलाको कमजोर प्रदर्शन पछि नेपालले ओडीआई कप्तान पनि फेर्यो भने राष्ट्रिय टिमबाट पनि सोमपाल कामी, आरिफ शेख, कुशल भूर्तेललाई बाहिर राखेको छ ।







