Prakash Adhikari October 19, 2026

काठमाडौँ, २ कात्तिक (रासस) : नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको नवरात्रमा तिथि वृद्धि भई दुई दिन अष्टमी परेकाले दुवै दिन महाअष्टमीको कर्म गर्नुपर्ने जनाएको छ ।

समितिले स्वीकृति दिएको पात्रोमा कात्तिक १ र २ गते दुवै दिन महाअष्टमी उल्लेख गरिएको छ । कात्तिक १ गते गरिएको महाअष्टमीको कर्म २ गते पनि दशैँ घर वा पूजा कोठामा दोहो¥याउनुपर्ने समितिका पूर्वसदस्य एवं वाल्मिकी विद्यापीठ धर्मशास्त्र विभागका प्रमुख प्रा डा देवमणि भट्टराईले राससलाई जानकारी दिनुभयो ।

कात्तिक २ गते नवरात्रको नवौ दिन भएपनि कर्म भने आठौँ दिनमा गरिने नै गर्नुपर्छ । दशैँ घर पूजा कोठामा कात्तिक २ गते सोमबार पनि नव दुर्गामध्येकी आठौँ देवी महागौरीकै पूजा आराधना गर्नुपर्छ । अन्य कर्म पनि महाअष्टमीकै दिनमा गरेका कर्मलाई दोहोे¥याउनुपर्ने पनि उहाँले बताउनुभयो ।

आश्विन शुक्ल अष्टमीको राति गरिने कालरात्रि पूजा भने कात्तिक १ गते राति नै गर्नुपर्ने पनि समितिले स्वीकृति दिएका पात्रोमा उल्लेख गरिएको छ । अष्टमी दुई दिन भएकाले यस वर्ष नवरात्र पनि दशरात्र बन्न पुगेको छ । विजयादशमीका दिनमा टीका लगाउँदा १० रात्रिका जमरा लगाइने भएको छ । देवीको साधना एवं पूजा, आराधना गर्न एक दिन बढ्दा केही फरक नपर्ने धर्मशास्त्रविद्हरुको भनाइ छ ।

हनुमानढोकामा कालरात्रि पूजा सोमबार राति

राज्यका तर्फबाट हनुमानढोकामा गरिने कालरात्रि पूजा भने समितिसँगको परामर्श र तलेजुका पुजारीले गर्ने परम्पराअनुसार यही कात्तिक २ गते सोमबार राति गरिने हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख जयन्ती श्रेष्ठ प्रधानले राससलाई जानकारी दिनुभयो । हनुमानढोका दरबारमा महाअष्टमीको कर्म गरेपछि लगत्तै अर्को दिनमा महानवमीको पूजा, आराधनालगायत कर्म गर्ने परम्परा रहेकाले यस्तो निर्णय गरिएको जानकारी पनि उहाँले दिनुभयो ।

हनुमानढोका दरबारको दशैँ घरमा कात्तिक १ गते आइतबार पनि महाअष्टमीको सामान्य पूजा गरिएको छ । मूल पूजा भने सोमबार गरिने दरबार हेरचाह अड्डाले जनाएको छ । महाअष्टमीको राति हनुमानढोका दरबारमा १०८ पशु बलिसहित पूजा, आराधना गर्ने परम्परा रही आएको छ ।

Share Now