Prakash Adhikari August 4, 2020

 

काठमाडौँ, २० साउन । राष्ट्रिय सभाका विषयगत समितिका सभापतिको निर्वाचन साउन २३ गते हुने भएको छ । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको निर्देशनअनुसार सचिव राजेन्द्र फुयालले सोमबार निर्वाचन कार्यतालिका प्रकाशन गर्नुभएको छ ।
प्रकाशित कार्यतालिका अनुसार २३ गते दिनको १ बजे निर्वाचन हुनेछ ।

संघीय संसदको स्थायी सदनको रुपमा रहेको राष्ट्रिय सभाका सदस्यहरुको कार्यकाल ६ बर्ष रहे पनि एक तिहाई सदस्यहरुको पदावधि दुई दुई बर्षका अन्तरमा समाप्त हुने भएकोले राष्ट्रिय सभा नियमावलीमा समितिको कार्यावधि दुई वर्षको हुने व्यवस्था छ ।

२०७४ सालको निर्वाचनपछि गठन भएको राष्ट्रिय सभाका समितिहरुको दुई वर्षे कार्यकाल पूरा भएसँगै समितिहरको पुन निर्वाचनको तयारी भएको हो । निर्वाचनको लागि सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुका प्रतिनिधिहरुसंगको परामर्शको आधारमा शनिबार राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सबै समितिहरु पुनः गठन गर्नुभएको थियो । शुक्रबार समितिहरूको दुई वर्षे कार्यकाल पूरा भएको थियो ।

प्रकाशित निर्वाचन कार्यतालिका अनुसार साउन २२ गते बिहान ११ बजेदेखि ४ बजेसम्म मनोनयनको समय तोकिएको छ । मनोनयन राष्ट्रिय सभाका सचिवको कार्यकक्ष सिंहदरबारमै हुनेछ । दर्ता भएको उम्मेदवारको अन्तिम नामावली २२ गते नै अपराह्न सार्वजनिक हुनेछ ।

समितिको नेतृत्वमा समझदारी

राष्ट्रिय सभामा चार विषयगत समिति छन् । यसअघि चारमध्ये तीनमा सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का तर्फबाट सभापति चयन भएका थिए । एक समिति सभापति विपक्षी दलले पाएको थियो । हाल पनि उक्त समीकरण कायमै रहने दलहरूबीचमा समझदारी बनिसकेको छ ।

यसअघि सत्तारुढ दलकातर्फबाट नेकपाका पर्शुराममेघी गुरुङ विधायन व्यवस्थापन समितिमा, रामनारायण बिडारी प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा र दिलकुमारी रावल थापा (पार्वती) राष्ट्रिय सरोकार तथा समन्वय समिति सभापति रहनुभएको थियो ।

विपक्षी दलले पाएको दिगो विकास तथा सुशासन समिति सभापति तारादेवी भट्ट हुनुहुन्थ्यो ।

Share Now

Leave a comment.