बेरुत(लेबनान्), २१ साउन । लेबनानको राजधानी बेरुतमा भएको ठूलो विस्फोटमा परी कम्तीमा ७० जनाले ज्यान गुमाएको र ४ हजार भन्दा बढी घाइते भएको त्यहाँका स्वास्थ्यमन्त्रीले जनाएका छन्।
अनलाइनमा राखिएका भिडिओमा धूवाँको विशाल मुस्लो र धेरै क्षति भएको देखिन्छ।
अधिकारीहरूले एउटा गोदाममा ६ वर्षदेखि राखिएको विष्फोटक पदार्थका कारण उक्त घटना भएको बताइरहेका छन्।
राष्ट्रपति मिसेल आउनले आफ्नो ट्वीटमा २ हजार ७ सय ५० टन अमोनियम नाइट्रेट असुरक्षित रूपमा राखिनु अस्वीकार्य रहेको बताउनुभएको छ।
अमोनियम नाइट्रेट विस्फोटन हुन सक्ने गुण भएको रसायन हो।
राष्ट्रपति आउनले सुप्रिम डिफेन्स काउन्सिलको बैठकपछि त्यस्तो ट्वीट गर्नुभएको हो।
विस्फोटनको कारण पत्ता लगाउन अनुसन्धान जारी राखिएको जनाइएको छ।

उद्धार तस्बिर
अस्पतालहरू भरिएका छन् भने कैयौँ भवनहरू ध्वस्त भएका छन्।
प्रधानमन्त्री हासान डियाबले उक्त घटनालाई विपत्तिको संज्ञा दिँदै दोषीहरूलाई जबाफदेही बनाइनुपर्ने बताउनुभएको छ।
उहाँले ‘खतरनाक गोदाम’ बारे चर्चा गर्नुभएको छ। जुन सन् २०१४ देखि त्यहाँ रहेको बताइएको छ।
२ सय ४० किलोमिटर परसम्म सुनियो
स्थानीय सञ्चार माध्यमहरूले मानिसहरू भग्नावशेषमा च्यापिएको देखाइरहेका छन्।
‘यस क्षेत्रका सबै भवन ध्वस्त भएका छन्। म अँध्यारोमा शिसा अनि भग्नावशेष हुँदै हिँडिरहेको छु’, एक जना प्रत्यक्षदर्शी समाचार संस्था एएफपीलाई बताए।

विस्फोटनको आवाज करिब २ सय ४० किलोमिटर पर रहेको साइप्रससम्म सुनिएको थियो।
सन् २००५ मा भएको पूर्व प्रधानमन्त्री रफिक हरिरिको हत्याको मुद्दामा फैसला आउनु केही समय अगाडि उक्त ठूलो विस्फोटन भएको हो।
राष्ट्रसङ्घीय न्यायाधीकरणले हरिरिको कार बम हमलामा भएको हत्याको घटनाका चार संदिग्धको सुनुवाइपश्चात् फैसला सुनाउन लागेको थियो।
ती चारै व्यक्ति इरान समर्थित हेज्बोल्लाह समूहका सदस्य थिए। सो समूहले उक्त हत्यामा आफू जिम्मेवार नभएको बताउँदै आएको छ।
फैसला शुक्रवार हुँदै थियो।
अन्तराष्ट्रिय जगतको प्रतिक्रिया
घटनाबारे ब्रिटेन र फ्रान्स सहित विभिन्न देशहरूले प्रतिक्रिया जनाएका छन्। उनीहरूले लेबननलाई आवश्यक सहयोग गर्ने बताएका छन्।
त्यसअघि लेबनानका प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय सहयोगको आह्वान गर्नुभएको थियो।

पछिल्लो समय लेबनानमा राजनीतिक अस्थिरता देखिएको छ।
सन् १९७५ देखि ११९० सम्म चलेको गृहयुद्धपछिको सबैभन्दा खराब आर्थिक सङ्कट व्यवस्थापनमा सरकारी भूमिका विरुद्ध त्यहाँ प्रदर्शन भइरहेको थियो।
त्यसबाहेक लेबनान र इजरायलबीच पनि तनाव देखिएको छ।
गत हप्ता इजरायलको सेनाले लेबनानसँगको सीमामा हेज्बोल्लाहले गरेको आक्रमण विफल पारिदिएको जनाएको थियो।
इजरायल प्रवेश गर्न खोजेको लडाकुहरूको समूहमाथि आफूहरूले पहिले आक्रमण गरेको उसले बताएको थियो।
तर बेरुतमा भएको विस्फोटसंग ‘इजराइलको कुनै पनि किसिमको सम्बन्ध नरहेको’ इजरायलका एकजना वरिष्ठ अधिकारीले बीबीसीलाई बताएका छन्।


















