Prakash Adhikari August 5, 2020

 

काठमाडौं, २१ साउन (बीबीसी) । नेपालका विगत २४ घण्टामा विभिन्न स्थानमा थप ३ सय ८१ जनामा कोरोना भाइरसको संक्रमणको भएको छ भने थप दुई दुई जनाको कोरोनाबाटै मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मङ्गलवार अपराह्ण दिएको जानकारी अनुसार अहिलेसम्म कोभिडका कारण मृत्यु हुने सङ्क्रमितको आधिकारिक सङ्ख्या ६० पुगेको छ।

विगत २४ घण्टामा पुष्टि भएका सङ्क्रमितमध्ये १ सय ५० जना पर्सा जिल्लाका र ५० जना काठमाडौं उपत्यकाका रहेका छन्।

यो वृद्धिसँगै अहिलेसम्म देशभरि सङ्क्रमितको कुल सङ्ख्या २१ हजार ३ सय ९० पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौंमा आयोजित दैनिक प्रेस ब्रीफिङमा बताउनुभयो।

मन्त्रालयको तथ्याङ्कअनुसार अहिले सक्रिय सङ्क्रमण भएका व्यक्तिको सङ्ख्या ६ हजार १ सय ७४ छ।

को हुन् मृतकहरु ?

गत सोमवार झाडापखालाले ग्रस्त भई उपचारका लागि न्याश्नल अस्पताल लग्दै गर्दा बाटोमा मृत्यु भएकी पर्साकी १८ वर्षीया महिलामा पनि मृत्युपछि गरिएको परीक्षणमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको हो।

त्यस्तै कोरोनाभाइरस सङ्क्रमणबाट पर्सामा मृत्यु भएका व्यक्ति वीरगञ्ज महानगरपालिका वडा नम्बर १५ का ४६ वर्षीय पुरुष रहेका छन्।

उनको बुधवार बिहान मृत्यु भएको नारायणी अस्पतालका डा. निरज सिंहले जानकारी दिनुभयो ।

साउन १८ गते पीसीआर जाँचका लागि स्वाब सङ्कलन गरिएका ती पुरुषमा साउन १९ गते कोभिड १९ पुष्टि भएको थियो।

मधुमेहका रोगी रहेका उनलाई खोकी, ज्वरोका साथै श्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो।

कोरोनाभाइरस

वीरगञ्ज कारागार प्रमुख पनि सङ्क्रमित

पर्सामा बुधवार १५० जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ।

तीमध्ये नारायणी अस्पतालको प्रयोगशालामा १ सय ४७ जना, काठमाडौं दुई जना र भक्तपुरमा एक जना भएको डा. गौतमले बताउनुभयो।

वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा १७ जना बारा सिमरा क्वारेन्टाइनमा बसेका, वीरगञ्ज कारागारका प्रमुखसहित कैदीबन्दी एवम् कर्मचारी रहेको मेडीकल सुपरीटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिनुभएको छ।

कारागारका २७ जना लगायत प्रहरी, सैनिक र महानगरपालिका कर्मचारी रहेको उहाँले बताउनुभयो।

सङ्क्रमितहरूमा ५ वर्षको बालकदेखि ७४ वर्षका वृद्धसम्म रहेका उपाध्यायले जानकारी दिनुभएको छ।

उपाध्यायका अनुसार हाल पर्सामा सङ्क्रमितको सङ्ख्या ७ सय भन्दा माथि पुगेको छ ।

परीक्षणको अवस्था
विगत २४ घण्टामा पीसीआर विधिबाट ६ हजार ३ सय ५९ वटा परीक्षण भएको मन्त्रालयले जनाएको छ।

सो अवधिमा १ सय ३० जना निको भएका छन् भने भाइरसमुक्त भएका सङ्क्रमितको सङ्ख्या १५ हजार नाघेको छ।

अहिलेसम्म गरिएको पीसीआर परीक्षणको सङ्ख्या ४ लाख नाघेको छ।

अहिले देशभरि विभिन्न स्थानमा ९ हजार ९ सय २५ मानिसहरू क्वारेन्टाइनमा छन्।

Share Now

Leave a comment.