इस्लामाबाद(पाकिस्तान), २१ साउन(बीबीसी) । प्रधानमन्त्री इमरान खानले छिमेकी भारतसँगका विवादित क्षेत्रहरू समेट्दै पाकिस्तानको नयाँ राजनीतिक नक्सा जारी गर्नुभएको छ ।
उक्त नक्सामा हाल भारत प्रशासित जम्मू र कश्मीर क्षेत्र पाकिस्तानको भूभागमा समेटिएको छ।
कश्मीर विवाद

पाकिस्तानका अधिकारीहरूले सो क्षेत्रमा संयुक्त राष्ट्रसङ्घका प्रस्ताव अनुरूप जनमत सङ्ग्रह हुनुपर्ने बताउँदै आएका छन्।
पाकिस्तानको नयाँ नक्सा दिल्लीले कश्मीरलाई दिइरहेको विशेष राजनीतिक र संवैधानिक हैसियत खारेज गरिदिएको पहिलो वार्षिकीको ठीक एक दिन अगाडि जारी गरिएको छ।
भारत र पाकिस्तान दुवैले उक्त क्षेत्र पूरै आफ्नो दाबी गर्छन्।
पाकिस्तानको नयाँ नक्सामा भारतको गुजरात राज्यमा रहेका जुनागढ तथा सर क्रिक जस्ता भूभाग पनि समेटिएका छन्।
गत वर्ष भारतले पनि उसको नयाँ नक्सा सार्वजनिक गरेको थियो जसमा पाकिस्तान प्रशासित कश्मीर तथा गिल्गीट-बल्टिस्तान क्षेत्र समेटिएको थियो।
पाकिस्तानी प्रधानमन्त्री खानको भनाई
नयाँ राजनीतिक नक्सा जारी गरेपछि टिप्पणी गर्दै प्रधानमन्त्री इमरान खानले पाकिस्तानी सरकारको उक्त निर्णयको सबै विपक्षी दल तथा कश्मीरी (पाकिस्तान प्रशासित कश्मीर) नेतृत्वले स्वागत गरेको बताउनुभएको छ।
इमरान खानले भन्नुभयो, ‘पाकिस्तानको नयाँ राजनीतिक नक्साले पाकिस्तानी जनताको उमङ्गको प्रतिनिधित्व गर्छ।’
भारतले गत वर्ष कश्मीरबारे उठाएको ‘गैरकानुनी’ कदमलाई सो नक्साले नकार्ने उहाँले बताउनुभयो।
यसबीच भारतको विदेशमन्त्रालयले नयाँ पाकिस्तानी नक्साबारे प्रतिक्रिया व्यक्त गरेको छ।
Please see our Press Statement on a so-called ‘political map’ of Pakistan.https://t.co/axXjPCprCv pic.twitter.com/9LrnasrzCl
— Randhir Jaiswal (@MEAIndia) August 4, 2020
उसले त्यसलाई “हास्यास्पद राजनीतिक अभ्यास’ भन्दै गुजरात तथा जम्मू, कश्मीर र लद्दाखका भूभागमाथि अमान्य दाबी गरिएको र ती दाबीको न त कानुनी वैधता न त अन्तर्राष्ट्रिय विश्वसनीयता रहेको जनाएको छ।


















