Prakash Adhikari August 8, 2020

काठमाडौं, २४ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको माडी क्षेत्रमा भगवान रामको जन्मभूमि भएको हुनसक्ने अनुमानका आधारमा अयोध्यापुरीको अध्ययन अघि बढाउन निर्देशन दिनुभएको छ।

चितवनको माडी नगरपालिका–९ का वडाध्यक्ष शिवहरि सुवेदीलाई शुक्रबार टेलिफोन गरेर प्रधानमन्त्री ओलीले अयोध्यापुरीको अध्ययन नरोक्न निर्देशन दिनुभएको थियो।

‘त्यहाँ के कस्ता संरचना छन्, केके बनाउनुभएको छ ?’ प्रधानमन्त्री ओलीले टेलिफोनमा भनेको विषय उद्धृत गर्दै वडाध्यक्ष सुवेदीले भन्नुभयो, ‘भारतमा भएको अयोध्याका विषयमा त्यहाँका जनतासमेत विश्वस्त नरहेको पाइएकाले हाम्रो अयोध्याका विषयमा थप अध्ययन र संरक्षणमा जुट्नुपर्छ। तपाईँहरु के के गर्दै हुनुहुन्छ, तुरुन्तै काम अघि बढाउनुप¥यो।’

प्रधानमन्त्रीले आफूले अयोध्याका बारेमा अध्ययन गर्दा प्रमाण बलियो भेटिएको तथा सोमेश्वर गढी, वाल्मिकी आश्रमलगायत स्थानसमेत बलियो आधार भएको दाबी गरेको सुवेदीले जानकारी दिनुभयो। ‘प्रधानमन्त्री अयोध्याका विषयमा माडीको टोलीसँग छलफलका लागि आतुर हुनुहुन्छ,’ उहाँले भन्नुभयो।

हाल माडीमा रहेका धार्मिक सम्पदा र पुरातात्विक सामग्रीको संरक्षण गर्न अनुरोध गर्दै प्रधानमन्त्री ओलीले आउँदो रामनवमी पर्वमा ठूलो पूजा गरी काम शुरु गरिनेसमेत बताउनुभएको छ। ‘पुरातत्विक विभागसँग समन्वय गरेर अध्ययन र संरक्षणमा जुट्न प्रधानमन्त्रीको निर्देशन छ’, सुवेदीले भने। हालको वडा नम्बर ९ यसअघिको अयोध्यापुरी गाउँ विकास समितिमा पथ्र्यो।

यसैबीच प्रधानमन्त्री ओलीले माडीका नगर प्रमुखसहितका प्रतिनिधिलाई भेटवार्ताका लागि आज बालुवाटार बोलाउनुभएको छ।

माडी नगरपालिका प्रमुख ठाकुर ढकालले प्रधानमन्त्री ओलीले शनिबार भेटघाटका लागि बोलाएको जानकारी दिनुभएको छ। ढकालका अनुसार वडाध्यक्ष सुवेदी, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का माडी अध्यक्ष प्रभु महतो, सचिव नारदमणि पौडेलसहितको टोली प्रधानमन्त्रीलाई भेट्न काठमाडौँमा आउदै हुनुहुन्छ। ढकालले भन्नुभयो, ‘आज दिउँसो प्रधानमन्त्रीज्यूलाई भेट्ने कार्यक्रम छ।’

प्रधानमन्त्रीले गत असार २९ गते भानुजयन्तीका दिन राम नेपालकै ठोरी क्षेत्रमा जन्मेको हुनसक्ने अभिव्यक्ति दिनुभएको थियो।

माडीको अयोध्यापुरी, वाल्मिकी आश्रम, गोद्धकलगायत क्षेत्रमा पुरानो मुद्रा, इँटा, पुराना भवनका अवशेषजस्ता पुरातात्विक वस्तु भेटिँदै आएको छ। रासस

Share Now

Leave a comment.