वाशिंड.टन डी.सी(संयुक्त राज्य अमेरिका), २४ साउन । वरिष्ठ लोकगायक तथा मेरिल्याण्ड तथा पेन्सेलभेनिया राज्यका लागि नेपाल सरकारका अवैतनिक महावाणिज्यदूत प्रेमराजा महत तथा उहाँकी श्रीमति कविता केसी महत कोरोना भाइरसबाट संक्रमित हुनुभएको छ ।
अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरमै रहदा दम्पत्ति नै कोभिड १९ बाट संक्रमित हुनुभएको हो । वरिष्ठ लोकगायक महतले शुक्रबार दिउसो करिव ३ बजेतिर सामाजिक संजाल फेसबुकमार्फत आफू र धर्मपत्नी दुवै संक्रमित भएको सार्वजनिक गर्नुभएको छ ।
https://www.facebook.com/prem.r.mahat/posts/10163719657475316
अमेरिकामा कोरोना संक्रमण देखिएदेखि नै त्यहा रहेका नेपालीलाई स्वास्थ्योपचार र स्वयं निगरानीको सल्लाह दिंदै आउनुभएका महत आफूलाई पनि कोरोना संक्रमण भएपछि पूर्ण सतर्कताका साथ सामाजिक दूरी र सुरक्षाका सवै उपायहरु अपनाउदै एकान्तवासमा रहनुभएको छ ।
आफूलाई संक्रमणले छोएपछि त्यसलाई सार्वजनिक गरेर कोरोना भाइरसबाट बच्न सबैलाई सचेत गराउनु भएका महतले सामाजिक संजालमा नेपाली समुदायलाई यदि हामीले समयमै सतर्कता अपनाएनौ भने बिश्वमहामारी कोरोनाले हामी कसैलाई पनि अछुतो बनाने वाला छैन भनेर सावधानी अपनाउन आग्रह गर्नुभएको छ ।
वाणिज्यदूत महतले आफूले पर्याप्त ध्यान राख्दाराख्दै दुर्भाग्यबस आफू र धर्मपत्नी यसबाट बंच्न सकेनौ भन्नु भएको छ । आफ्नै घरको एक एक कोठामा एकान्तवासमा बस्नुभएका महत दम्पत्ती आफ्नै सुपुत्र डा.सरगम महतको निरीक्षण र निगरानीमा हुनुहुन्छ ।

वरिष्ठ कलाकार तथा समाजसेवी महतले यदि हाम्रो परिवार बाहेक यस्तो समस्या कसैमा देखिएको छ भने कृपया कत्ति पनि लाज नमानी यो रोगलाई गोप्य नराखी समुदायलाई सुसुचित हुने मौका दिन सबैमा अनुरोध गर्नुभएको छ ।


















