Prakash Adhikari August 8, 2020

तिरुवन्तनपुरम(केरला,भारत) ,२४ साउन । दक्षिण भारतको केरला राज्यको एउटा विमानस्थलमा एअर इन्डिया एक्सप्रेसको एउटा यात्रुवाहक दुर्घटनामा पर्दा अहिलेसम्म कम्तीमा १८ जनाको मृत्यु भएको पुष्टि भएको छ।

संयुक्त अरब इमिरेट्सको दुबईबाट भारतीय नागरिकहरूलाई लिएर आएको उक्त विमान क्यालिटकमा शुक्रवार साँझ अवतरणका क्रममा दुर्घटनाग्रस्त हुँदा दुई टुक्रा भएको अधिकारीहरूले बताएका छन्।

विमानमा चालक दलका छ सदस्य र १ सय ८४ जना यात्रुहरू थिए।

उक्त बोइङ ७३७ विमान धावनमार्गमा चिप्लिएपछि दुर्घटना भएको उड्डयन अधिकारीहरूले बताएका छन्।

भारतीय समाचारसंस्था पीटीआईका शनिवार बिहान एक घाइतेको मृत्यु भएपछि मृतकको सङ्ख्या १८ पुगेको हो।

स्थानीय अधिकारीहरूका अनुसार सबै मृतकको सनाखत भइसकेको छ।

कसरी भयो दुर्घटना ?

दुर्घटना हुँदा विमानस्थल भएको क्षेत्रमा वर्षा भइरहेको थियो।

वर्षाका कारण विमानचालकहरूले अवतरण गर्ने पहिलो प्रयास स्थगित गरेका थिए। दोस्रो पटक अवतरण गर्ने प्रयास गर्दा स्थानीय समयानुसार साँझ १९ : ४० मा दुर्घटना भएको थियो।

दुर्घटनाग्रस्त एअर इण्डियाको विमान

दुर्घटनाग्रस्त एअर इण्डियाको विमान

दुर्घटनापछि दुई टुक्रा भए पनि विमानमा आगो लागेको थिएन।

भारतका नागरिक उड्डयनमन्त्री हरदीप सिंह पुरीले एउटा ट्वीट गर्दै उक्त विमान ‘ठूलो वर्षाको अवस्थामा धावनमार्गमा ठोक्किएको, त्यसपछि ३५ फिट भिरालो ठाउँमा गुडेको र दुई टुक्रा भएको” बताउनुभयो।

उनले उक्त दुर्घटनाबारे भारतको विमान दुर्घटनासम्बन्धी अनुसन्धान गर्ने निकाय एएआईबीले जाँचबुझ गर्ने बताउनुभयो।

केरलामा अहिले मनसुन चलिरहेको छ।

विमानमा को थिए ?

कोरोनाभाइरस महामारी फैलिएपछि यूएईमा अलपत्र परेका भारतीय नागरिकहरू उक्त विमान चढेर स्वदेश फर्किँदै थिए।

उडान नम्बर क्ष्ह् ज्ञज्ञघद्ध भएको उक्त विमानमा सवार यात्रुमध्ये १० जना शिशु थिए।

दुर्घटनास्थलमा उद्धार कार्य सकिएको र घाइतेहरूलाई क्यालिकट तथा मलापुरमस्थित अस्पतालहरूमा पुर्‍याइएको केरलाका मुख्यमन्त्री पिनारयी विजयनले बताउनुभयो।

Map
एक वरिष्ठ प्रहरी अधिकारीले दर्जनौँ मानिस घाइते भएको र तीमध्ये १५ जना गम्भीर रहेको जानकारी दिएका छन्।

एअर इन्डिया एक्सप्रेसले ज्यान गुमाउनेमध्ये दुई जना आफ्ना विमानचालक भएको पुष्टि गरेको छ।

दुर्घटनाबारे के भन्छन् अधिकारीहरू ?

भारतको राष्ट्रिय विपद्सम्बन्धी काम गर्ने निकायका महानिर्देशक एसएन प्रधानले क्यालिकट विमानस्थलमा ‘टेबलटप’ धावनमार्ग रहेको र विमान चिप्लिएपछि एउटा खोँचमा खसेको बताउनुभयो

उहाँले खोँचमा खस्दा विमानको तल्लो भाग ठोक्किएर दुई टुक्रा भएको र विमानको अग्रभाग ‘नराम्ररी क्षतविक्षत र ध्वस्त’ भएको बताउनुभयो।

उड्डयनमन्त्री पुरीले डीडी न्यूजसँग बोल्दै सुरुमा विमानमा आगो नलाग्दै केही यात्रुहरूलाई उद्धार गर्न सकिएको बताउनुभयो। उहाँका अनुसार कैयौँ यात्रुहरूलाई भने त्यत्तिकै छोड्नुपरेको थियो।

प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीट गर्दै दुर्घटनामा प्रियजन गुमाउनेका परिवारप्रति समवेदना व्यक्त गरेका छन्।

भारतमा मनसुन याममा पहिला पनि विमानहरू दुर्घटनामा परेका छन्।

सन् २०१० मे महिनामा एअर इन्डिया एक्सप्रेसको विमान मङ्ग्लोरमा धावनमार्गबाट चिप्लिएर दुर्घटनाग्रस्त हुनँदा १ सय ५८ जनाको मृत्यु भएको थियो।

मङ्ग्लोरमै गत वर्ष जुलाई महिनामा पनि एउटा विमान दुर्घटनामा परेको थियो। तर त्यसमा कसैको पनि मृत्यु भएको थिएन।

Share Now

Leave a comment.