काठमाडौं, २४ साउन । यस वर्षको ‘बीपी साहित्य सम्मान’ पुरस्कार इतिहासकार ज्ञानमणि नेपाललाई प्रदान गरिने भएको छ।
वी.पी. कोइराला स्मृति ट्रष्टले प्रत्येक वर्ष वी.पी.जयन्तीका अवसरमा यी पुरस्कार प्रदान गर्ने गरेको छ।
वी.पी. साहित्य सम्मानको पुरस्कारको राशी एक लाख एक हजार रुपैया रहेको छ।
ट्रष्टका कोषाध्यक्ष पुरुषोत्तम बस्नेतको संयोजकत्वमा ट्रष्टका सदस्यहरु डा. धुब्रचन्द्र गौतम र सुशीलमान शेरचन समेतको तीन सदस्यीय सिफारिस समितिले सर्वसम्मतिबाट यो निर्णय गरेको थियो।
त्यसरी नै ट्रष्टले प्रति वर्ष प्रदान गर्ने वी.पी. सेनानी सम्मान पुरस्कार–२०७७ यस वर्ष प्रजातन्त्र स्थापनाको संर्घषमा महत्वपूर्ण योगदान पुर्याउने होमनाथ दाहाललाई दिने निर्णय गरेको छ। पुरस्कारको राशी रु ५१ हजार रहेको छ।

यी पुरस्कारहरु भदौ २४ गते वी.पी. जयन्तीको अवसरमा काठमाडौंमा आयोजना हुने विशेष समारोहमा प्रदान गरिने छ।
ट्रष्टले वि.सं. २०७१ मा वी.पी. साहित्य सम्मान वरिष्ठ साहित्यकार स्व. रत्नशम्शेर थापा र वी.पी. सेनानी सम्मान नुतन थपलियालाई, २०७२ मा साहित्यकार गोपाल पराजुलीलाई र सेनानी सम्मान स्व तारानाथ कोइरालालाई, २०७३ मा साहित्य सम्मान पुरस्कार साहित्यकार भुवन ढुङ्गाना र सेनानी सम्मान श्यामलाल श्रेष्ठलाई, २०७४ मा साहित्यतर्फ प्रा.डा अभि सुवेदी र सेनानी सम्मान दाङका तीर्थराज चैतुलाई, २०७५ मा साहित्यतर्फ रोचक घिमिरे र प्रजातन्त्र सेनानी सम्मान स्व चक्र प्रसाद बास्तोला(मरणोपरान्त)लाई र गत वर्ष २०७६ मा बीपी साहित्य सम्मान तिलबिक्रम नेम्वाङ (बैरागी काईँला) र प्रजातन्त्र सेनानी सम्मान मधुकान्त सिंहलाई प्रदान गरेको थियो छ।


















