Prakash Adhikari January 27, 2018

काठमाडौं, १३ माघ । प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान कार्यान्वयनकोलागि चार चार तहको निर्वाचन गर्न परेकोले आफूले चाहँदा चाहँदै पनि जनताको अपेक्षा अनुरुप काम गर्न नपाएको गुनासो गरेका छन्।

शनिबार वीपि स्मृति अस्पतालको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले आफूले मुलुकका लागि धेरै गर्न चाहे पनि गर्न नसकेको बताएका हुन्।

निर्वाचन आचारसंहिताका कारण पहिला केही काम गर्न नसकेको भन्दै उनले गरेका महत्वपूर्ण र दीर्घकालीन महत्व राख्ने निर्णयमा पनि आलोचना र टिप्पणी हुने गरेको भन्दै आक्रोश पोखे।

भूकम्प प्रभावितलाई थप एक लाख रुपैयाँ अनुदान सहायता दिने, जेष्ठ नागरिकले पाउने सामाजिक सुरक्षा भत्तालाई ६५ वर्ष कायम गर्ने लगायत सरकारका निर्णयले राज्य कोष रित्याउने काम गरेको भन्दै एमाले, माओवादी केन्द्र लगायत दलले विरोध गर्दै आइरहेका बेला प्रधानमन्त्रीले अनर्गल प्रचारबाजीका कारण गर्न काम गर्न नपाएको भन्दै गुनासो गरेका हुन्।

एमाले, माओवादी केन्द्रले नयाँ जनादेश आइसक्दा पनि सत्ता हस्तान्तरणमा ढिलाई गरेको भन्दै सरकारको आलोचना गरिरहेको बेला प्रधानमन्त्री देउवाले आफ्ना कारणले नभई संविधानका कारण सत्ता हस्तान्तरणमा ढिलाई भएको स्पष्ट परे।
उनले संविधानले व्यवस्था गरेको महिलाको सिट लगायत विषयले सत्ता हस्तान्तरणमा केही समय लागेको बताए ।

Share Now

Leave a comment.