ढोरपाटन (बाल्गुड.), १८ भाद्र (रासस) । बागलुङको ढोरपाटन नगरपालिकामा गएराति आएको बाढी र पहिरोमा परेर मृत्यु हुनेको सङ्ख्या ८ पुगेको छ।
सुकुर्दुङस्थित भूजी खोलाको बाढीमा अझै १३ जना बेपत्ता भएका प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार बाढीले १३ घर बगाएको छ। घटना स्थलमा फेला परेका ८ जनाको शवको पहिचान हुन सकेको छैन।
जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी राजेन्द्र रेग्मीका अनुसार बेपत्ता र मृतकको सङ्ख्या बढ्न सक्छ । ‘बाढी पीडित परिवारका सदस्यले दिएको जानकारीअनुसार बेपत्ताको सङ्ख्या बढ्न सक्ने अनुमान गरेका छौँ’, रेग्मीले भन्नुभयो।

अरिवरल वर्षासँगै गएराति १२ बजेको समयमा आएको बाढीले बस्तीका घर बगाएको घटनास्थलमा रहेका इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रमुख प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले जानकारी दिनुभएको छ ।
बुधबार बेलुका आएको सुकुर्दुङ खोलाको बाढीले बोबाङ, सुर्कुदुङ र शेरावाङ गाउँका घर बगाएको थियो ।
ढोरपाटन शिकार आरक्षको प्रवेशद्वार मानिने देउराली पहाडबाट पहिरो खसेर गाउँमा क्षति पुर्याएको स्थानीयले बताएका छन् ।
बाढीले लाँकुरीबोटका ११ घर, दुनेपधेँरीका ५ घर, घट्टबोटमा ८ घर, भसुन्डेमा १ घर बगेका छन् ।
यसैगरी सकुरदुङको सरस्वती आधारभूत विद्यालय, सुप्राङको जनचेतना प्रावि र बोबाङका तीनवटा जलविद्युत आयोजना र तीन वटा झोलुङ्गे पुलसमेत बगेको छ ।


















