रुसी राष्ट्रपति पुटिनका कट्टर आलोचक एलेक्सि नभाल्नीलाई ‘स्नायुमा असर पर्ने विष दिइएको’ जर्मनीको दावी
बर्लिन(जर्मनी), १८ भाद्र(बीबीसी) । रुसी विपक्षी नेता एलेक्सि नभाल्नीलाई नोभिचोक भनिने स्नायुमा असर गर्ने एउटा विष दिइएको भन्ने ‘स्पष्ट प्रमाण’ रहेको जर्मनीले जनाएको छ।
जर्मन चान्सलर एङ्गेला मर्केलले नभाल्नीको हत्या प्रयास भएको त्यस्तो पदार्थ नभाल्नीको सम्पर्कमा कसरी आयो भन्ने जवाफ रुस सरकारले मात्र दिन सक्ने बताउनुभएको छ ।

गत महिना साइबेरियामा उडानमा रहेको बेला अचानक बिरामी भएपछि नभाल्नीलाई उपचारका लागि बर्लिन ल्याइएको थियो।
![]()
जर्मनीको एक अस्पतालमा उपचाररत उहाँ अहिले कोमामा हुनुहुन्छ।
आलोचना

क्रेमलिनका एकजना प्रखर आलोचक नभाल्नीलाई सैन्य श्रेणीको विष दिइएको भन्ने जर्मन विज्ञहरूको भनाइ आएपछि त्यसको अन्तर्राष्ट्रिय रूपमा आलोचना भएको छ।
जर्मन चान्सलर एङ्गेला मर्केलले विश्वले उक्त ‘हत्या प्रयास’को जवाफ रुससँग खोज्ने बताउनुभएको छ।
नोभिचोक नामको रसायनिक हतियारको रूपमा प्रयोग गरिने त्यस्तो पदार्थ तत्कालीन सोभियत सरकारले शीतयुद्धका बेला विकास गरेको थियो।
ब्रिटिश प्रधानमन्त्री बोरिश जोनसनले यस घटनालाई ‘निर्लज्ज’ भन्दै त्यो के भएको हो भन्ने जवाफ रुस सरकारले दिनुपर्ने बताउनुभएको छ।
जोनसनले भन्नुभएको छ, ‘न्याय प्राप्ती सुनिश्चित गर्न हामी अन्तर्राष्ट्रिय साझेदारसँग मिलेर काम गर्नेछौँ।’
ह्वाइटहाउसले घटनामा संलग्न रुसका जोकोहीलाई जिम्मेवार ठहर्याउन अमेरिका आफ्ना साझेदारहरूसँग मिलेर काम गर्ने जनाएको छ।
युरोपेली सङ्घले समेत रुस सरकारसँग ‘पारदर्शी अनुसन्धान’को माग गरेको छ।
जर्मनीले थप के भन्यो ?
चान्सलर मर्केलले यस घटनालाई विपक्षी नेताहरूको मुख बन्द पार्ने प्रयास स्वरुप भएको बताउनुभएको छ।
जर्मनीले यसबारे उत्तर एटलान्टिक सन्धी सङ्घठन (नेटो) र ईयूलाई आफ्नो अनुसन्धानको नतिजाबारे जानकारी गराइसकेको जनाएको छ।
र ती सङ्गठनहरूले रुसको प्रतिक्रियाको आधारमा एउटा साझा र उपयुक्त कदम चाल्ने चान्सलर मर्केलको भनाइ छ।

बर्लिनले नभाल्निकी श्रीमती र जर्मनीका लागि रुसी राजदूतलाई समेत आफ्ना निष्कर्षहरू जानकारी गराइने जनाएको छ।
आरोप
नभाल्नीका सहकर्मीहरूले उहाँलाई राष्ट्रपति पुटिनको आदेशमा विष दिइएको आरोप लगाउने गरेका छन्।
क्रेमलिनले भने त्यसलाई अस्वीकार गरेको छ। मस्कोले जर्मन अधिकारीहरूसँग मिलेर त्यस पछाडिको अवस्था पत्ता लगाउन आफू तयार रहेको जनाएको छ।
क्रेमलिनका प्रवक्ताले जर्मनीलाई पूर्ण जानकारी दिन माग गरेका छन्।
रुसी विदेश मन्त्रालयका प्रवक्ता मरिआ जखारोभाले भने नोभिचोक सम्बन्धी आरोपको प्रमाण नभएको बताउनुभएको छ।
मरियाले भन्नुभयो, ‘खै कहाँ छ प्रमाण, कहाँ छ त्यसको सुत्र, कम्तिमा केही जानकारी ?’

यसअघिको प्रयोग
सन् २०१८ नोभिचोकको प्रयोग ब्रिटेनमा एकजना पूर्वी रुसी जासुस सर्जेई स्क्रिपल र उनकी छोरीमा समेत प्रयोग गरिएको थियो।
उहाँहरू त्यसबाट बच्न सफल भए पनि एकजना ब्रिटिश महिलाको पछि अस्पतालमा मृत्यु भएको थियो।
ब्रिटेनले रुसको सैन्य गुप्तचरलाई त्यस हमलाको आरोप लगाएको थियो।
अन्य रसायनियक हतियारको तुलनामा निकै कडा हुने नोभिचोकका केही स्वरुपले ३० सेकेन्डदेखि २ मिनेटभित्रै असर देखाउँछन्।



















