काठमाडौं, १८ भाद्र । विगत २४ घण्टामा नेपालमा थप १ हजार २ सय २८ जनामा कोरोनाभाइरस सङ्क्रमण देखिएको र ६ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाए अनुसार यो वृद्धिसँगै सङ्क्रमित व्यक्तिहरूको कुल सङ्ख्या ४२ हजार ८ सय ७७ पुगेको छ।
अहिलेसम्म २४ हजार २ सय ७ सङ्क्रमित निको भइसकेका छन् भने २ सय ५७ जनाको मृत्यु भएको छ।
बिहीवार अपरान्ह आयोजित दैनिक प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अहिले देशभरि १८ हजार ४ सय १३ सक्रिय सङ्क्रमित भएको बताए।
तीमध्ये ७ हजार ७ सय ४२ जना घरमै र १० हजार ६ सय ७१ जना संस्थागत आइसोलेशनमा छन्।
मृतक र सङ्क्रमितहरू
अहिले थपिएका सङ्क्रमित र मृतकहरू विभिन्न जिल्लाका हुन्।
मृतकमध्ये चार महिला र दुई पुरुष छन्।
रूपन्देहीमा दुई जना र चितवन, भक्तपुर, तनहुँ र सिन्धुपाल्चोकमा एक एक जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। उनीहरूको उमेर ४० देखि ९२ वर्षसम्म थियो।
नयाँ सङ्क्रमितमध्ये काठमाडौं उपत्यकाका ४४५ जना छन्।
तीमध्ये काठमाडौंका ३ सय ५७ जना, ललितपुरका ४६ जना र भक्तपुरका ४२ जना छन्।
त्यसैगरी मोरङमा थप ४६ जना, सुनसरीमा २७ जना, धनकुटामा ६४ जना, पर्सामा ६५ जना, बारामा ७१ जना, रौतहटमा २९ जना सर्लाहीमा १ सय ९ जना, कास्कीमा ३१ जना, रूपन्देहीमा ५२ जना र चितवनमा ५६ जनामा पनि सङ्क्रमण देखिएको छ।
थपिएका सङ्क्रमितमध्ये ३ सय ९४ जना महिला र ८ सय ३४ जना पुरुष छन्।
सो अवधिमा ९१७ सङ्क्रमित रोगमुक्त प्रमाणित भएको मन्त्रालयका प्रवक्ता डा. गौतमले बताए।
अहिलेसम्म पुष्टि भएकामध्ये झन्डै ५६ प्रतिशत सङ्क्रमितहरू निको भइसकेका छन्।
देशभरि क्वारेन्टाइनमा ६ हजार ७ सय ४९ जना छन्।
एक हजारभन्दा बढी मानिसमा सङ्क्रमण पुष्टि भएको यो छैटौँ पटक हो।
अघि भदौ १७ गते १ हजार १ सय २० जनामा, भदौ १४ गते १ हजार २ सय २१ जनामा र भदौ ११ गते १ हजार १ सय ११ जनामा देखिएको पुष्टि गरेको थियो।

त्यसअघि भदौ २ गते सङ्क्रमितको सङ्ख्या पहिलो पटक एक हजार नाघेको थियो।(बीबीसी)


















