नयाँदिल्ली(भारत), २२ भाद्र (बीबीसी) । दिल्ली र बेइजिङबीच तनाव बढिरहेका बेला गत साता चिनियाँ सेनाले सीमावर्ती भारतीय राज्यबाट पाँचजना नागरिकहरूलाई कब्जामा लिएको विवरण आएको छ।
दुई दिनअघि अरुणाञ्चल प्रदेशका एकजना सांसदले ट्वीट गर्दै पहिलो पटक त्यस्तो आरोप लगाउनुभएको थियो।
त्यसपछि एक भारतीय मन्त्रीले चिनियाँ सेनालाई ‘हटलाइन सन्देश’ पठाइएको बताउनुभएको छ।
चिनियाँ विदेश मन्त्रालयका एक प्रवक्ताले घटनाबारे जानकार नरहेको प्रतिक्रिया दिएका छन्। तर यो घटनाले दुई देशबीच तनाव थप बढ्नसक्ने ठानिएको छ।
सांसद तापिर गाओले ट्वीट गर्दै सेप्टेम्बर ३ मा सीमाक्षेत्र नजिकै पाँच नागरिकको अपहरण भएको आरोप लगाउनुभएको हो। उहाँले त्यसबारे थप विवरण दिनुभएको छैन ।
एक पत्रकारले मन्त्री किरण रिज्जुलाई उक्त ट्वीटबारे सोधेपछि उहाँले भारतीय सेनाले उक्त घटनाबारे चिनियाँ पक्षको जबाफ पर्खिरहेको बताउनुभयो।
भारतले चीनले सीमाक्षेत्रमा सैन्य तनावका लागि उक्साउने काम गरिरहेको आरोप लगाएको छ। भारतले अगस्टको पहिलो सातामा दुई पटक यस्तो आरोप लगाएको हो।
तर चीनले ती दुवै आरोपलाई अस्वीकार गरेको छ।

तनाव कम हुने आशा
भारतीय रक्षामन्त्री राजनाथ सिंहले दुई दिनअघि मस्कोमा चिनियाँ समकक्षीलाई भेटनुभएको थियो।
त्यसले चाँडै तनाव कम गराउन सम्वाद अघि बढाउने ठानिएकोमा उल्टै ‘वाक्युद्ध’ सुरु भएको छ।
चीनले सीमामा देखिएको तनाव ‘पूर्ण रूपमा’ भारतको गल्तीका कारण भएको र आफूले ‘एक इन्च पनि आफ्नो भूमि नछाड्ने’ बताएको छ।
भारतले चाहिँ चिनियाँले ‘ठूलो सङ्ख्यामा सैनिकहरू सीमाक्षेत्रमा ल्याएको, उनीहरूले आक्रामक व्यवहार देखाएको र यथास्थितिमा राख्नुपर्ने क्षेत्रमा एकतर्फीरूपमा प्रवेश गरेको’ आरोप लगाएको छ।
यद्यपि सीमाक्षेत्रमा नयाँ हिंसाको कुनै पनि घटना बाहिर आएको छैन। विश्लेषकहरूले जुनदेखि सीमाक्षेत्रमा सम्वेदनशील अवस्था रहेको बताउने गरेका छन्।
गत जुनमा भएको एउटा हिंसात्मक झडपमा २० भारतीय सैनिकहरू मारिएका थिए। त्यस घटनामा कति चिनियाँ मारिए भन्ने प्रष्ट छैन।
दुवै देशले बारम्बार एकअर्कालाई हिमालय क्षेत्रको लद्दाखमा सीमा पार गरेर उक्साउने गरको आरोप लगाउने गरेका छन्।
धेरैवटा सैन्य र कूटनीतिक वार्ता भए पनि परमाणु हतियारसम्पन्न दुई छिमेकीले सीमामा देखिएको समस्या समाधान गर्न सकेका छैनन्।


















