काठमाडौं, २४ भाद्र । विगत २४ घण्टामा नेपालमा कोरोनाभाइरस सङ्क्रमणबाट ९ सय १८ जना मुक्त भएका छन् भने थप एक हजार ८१ जनामा सङ्क्रमित र ६ जना मृतक थपिएका छन्।
बुधवारको यो तथ्याङ्कसँगै नेपालमा कुल कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या ४९ हजार २ सय १९ र निको हुनेको सङ्ख्या ३३ हजार ८ सय ८२ पुगेको छ।
मन्त्रालयका अनुसार नेपालमा कोरोनाभाइरस सङ्क्रमणबाट मुक्त हुने दर लगभग ६९ प्रतिशत छ।
अहिलेसम्म नेपालमा ३ सय १२ जनाको कोभिड(१९ का कारण मृत्यु भएको मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले बताउनुभयो।
अहिले नेपालमा १५ हजार २५ जना सक्रिय सङ्क्रमित छन् जसमध्ये ७ हजार ३७ घरमै छन् भने बाँकी संस्थागत आइसोलेशनमा छन्।
सङ्क्रमितहरूमध्ये १ सय ६२ जना सघन उपचार कक्षमा र २२ जना भेन्टिलेटरमा उपचाररत छन्।
क्वारन्टीनमा ५ हजार ४ सय ८० जना रहेका छन्।
यो अवधिमा ११ हजार १ सय ६७ पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ।
यसरी बढिरहेको छ सङ्क्रमण। नेपालमा कोरोनाभाइरस। ।
सङ्क्रमित कहाँका कति ?
बुधवार थपिएका सङ्क्रमितमध्ये सबैभन्दा बढी काठमाडौं जिल्लाका ३ सय ९४ जना रहेका छन्।
भक्तपुरमा ३६ र ललितपुरमा ३४ गरी उपत्यकाका जिल्लामा कुल ४ सय ६४ जना सङ्क्रमित थपिएका छन्।
त्यस्तै मोरङमा ७७ जना, सुनसरीमा ५६ जना, रौतहटमा ७० जना, सिराहामा ८१ जना र मकवानपुरमा ४२ जना सङ्क्रमित थपिएका छन्।
त्यस्तै रूपन्देहीमा ४२ जना थपिएका छन्।
अहिले ५ सय भन्दा बढी सङ्क्रमित भएका सात जिल्लाहरूमा सुनसरी, सर्लाही, काठमाडौं, चितवन, भक्तपुर, ललितपुर र रूपन्देही रहेका छन्।
सक्रिय सङ्क्रमण नभएका जिल्लाहरूमा मनाङ, मुस्ताङ, डोल्पा, मुगु र हुम्ला रहेका छन्।
मृतक कुन जिल्लाका ?
बुधवार मृत्यु पुष्टि भएका मध्ये काठमाडौंमा ८३ वर्षीया महिला र ६७ वर्षीय पुरुष रहेका छन्।
त्यस्तै कास्कीकी ७३ वर्षीया र बाँकेको ८० वर्षीया महिलाको मृत्यु भएको छ भने अर्घाखाँचीका ४२ वर्षीय र नवलपरासीमा ६४ वर्षीय पुरुष रहेका छन्।


















