Prakash Adhikari September 11, 2020

पोखरा(कास्की),२६ भाद्र (रासस) । कास्कीको मादी गाउँपालिकामा १२ मेगावाट क्षमताको जलविद्युुत आयोजना निर्माण सम्पन्न भएको छ ।

मादीको वडा नं २ साविक नार्माजुङ गाविसमा हिमालयन हाइड्रोपावर लिमिटेडद्धारा प्रवद्र्धित ‘नामार्जुङ जलविद्युत आयोजना’ निर्माण सम्पन्न भएर आयोजनाले उत्पादन गरेको विद्युत राष्ट्रिय प्रसारण लाइनमा जडान गरिएको हो ।

.
मादी नदीको पानी एक हजार २५० मिटर लामो ‘ओपन क्यानल’मार्फत ६४ मिटर उचाइबाट आयोजनाको विद्युत गृहमा खसालेर विद्युत उत्पादन गरिएको हो ।

उत्पादित विद्युत ३३ केभी प्रसारण लाइनमार्फत ४ किमी तलको अपरमादी जलविद्युत आयोजनाको १३२ केभीमा जडान गरी त्यसमार्फत १२ किमी टाढाको नेपाल विद्युत प्राधिकरणको लेखनाथ स्थित सवस्टेशनमा जडान गरिएको आयोजनाका बोर्ड अफ डाइरेक्डर शिवकृष्ण श्रेष्ठले जानकारी दिनुभयो ।

आयोजना गत चैत पहिलो सातानै सम्पन्न भएको थियो ।

“आयोजना सम्पन्न भएर तीन दिनअघि राष्ट्रिय प्रशारणमा जडान गरेका छौँ, अबको १५ दिन परीक्षणकाल रहनेछ”, श्रेष्ठले भन्नुभयो ।

चिनियाँ थ्री गर्जेज कम्पनीले निर्माण गरेको अपर मादीको १३२ केभी प्रसारण लाइनमार्फत आयोजनाबाट उत्पादित विद्युत लेखनाथ पठाउनुपर्ने र चिनियाँ प्राविधिक आउन ढिलाइ भएकोले आयोजनाको विद्युत सबस्टेशनमा जडान हुन बिलम्बन हुन पुगेको बताइन्छ ।

निर्देशक श्रेष्ठले आयोजना जडानमा ५ महिना ढिलाई हुँदा कम्पनीलाई रु १५ करोड हाराहारीमा घाटा भएको बताउनुभयो ।

ग्लोबल आइएमइ बैकको नेतृत्वमा विभिन्न वित्तीय संस्थाको रु १ अर्ब ४७ करोड तथा लगानीकर्ता, सेयर निष्कासन तथा स्थानीयवासीको रु ९० करोड गरी रु २ अर्र्ब २७ करोडमा आयोजना निर्माण गरिएको आयोजनाका लगानीकर्ता रुद्र कुइकेलले बताउनुभयो ।

आयोजनामा ६ सय ९९ जनाले रु ६७ करोड ५० लाख लगानी गरेका छन् । त्यसैगरी सर्वसाधारण(पव्लिक) सेयर रु १३ करोड ५० लाख तथा आयोजना प्रभावित मादी गाउँपालिकाका जनताका लागि रु ९ करोड सेयर निष्कासन गरिने आयोजनाले जनाएको छ ।

आयोजना निर्माणका लागि विसं २०६७ मै लाइसेन्स प्राप्त गरेपनि त्यसपछि विसं २०६९ मा मादीको सिल्दजुरेमा गएको ठूलो पहिराका कारणले मादी नदी थुनिदा आयोजनाको पुर्नःसर्वेक्षण गर्नुपरेकाले काम शुरु गर्न ढिलाई भएको बताइन्छ ।

सो आयोजनाको माथि ४४ मेगावाटको सुपरमादी जलविद्युत आयोजना निर्माण भइरहेको छ भने त्यसभन्दा तल २५ मेगावाट क्षमताको अपर मादी विसं २०७३ मङ्सिरमा सम्पन्न भएको थियो ।

Share Now

Leave a comment.