काठमाडौं, १ असोज । विगत २४ घण्टामा नेपालमा थप १ हजार २ सय ४६ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ भने सो अवधिमा चार जनाको मृत्यु भएको छ।
यो वृद्धिसँगै नेपालमा पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या ५९ हजार ५ सय ७३ पुगेको छ।
सरकारका अनुसार अहिलेसम्म ३ सय ८३ जनाको कोभिड १९ सँग सम्बन्धित कारणले मृत्यु भएको छ।
अहिले देशभरि १६ हजार २ सय ४१ जनामा सक्रिय सङ्क्रमण छ। तीमध्ये ७ हजार ९ सय ३ जना संस्थागत आइसोलेशनमा र अरू घरमै भएको मन्त्रालयले जनाएको छ।
प्रदेश नं २ र वाग्मती प्रदेशका जिल्लामा सङ्क्रमितको सङ्ख्या धेरै छ।
त्यसमा पनि काठमाडौं उपत्यकामा सक्रिय सङ्क्रमितको सङ्ख्या सर्वाधिक छ।
काठमाडौ र चितवनमा सबैभन्दा बढी
सङ्क्रमितमध्ये ४ सय २८ अर्थात् एक तिहाइभन्दा बढी महिला छन्। केही सातादेखि सङ्क्रमण भएका महिलाको सङ्ख्या बढेको तथ्याङ्कले देखाउँछ।
सबैभन्दा बढी काठमाडौं जिल्लामा ५ सय ७ जना सङ्क्रमित थपिएका हुन्।
भक्तपुरमा ५० र ललितपुरमा ६१ गरी काठमाडौं उपत्यकाका जिल्लामा ६ सय १८ जना थपिएको मन्त्रालयको तथ्याङ्कले देखाउँछ।
चितवनमा १ सय १ जना सङ्क्रमित थपिएका छन्।
त्यसैगरी सुनसरीमा ५४, मोरङमा ९४ र मकवानपुरमा ६३, जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।
मृतक कुन जिल्लाका ?
बुधवार मृत्यु भएकामध्ये तीन महिला र एक पुरुष रहेका छन्।
काठमाण्ठूमा ८७ वर्षीय पुरुषको मृत्यु भएको हो भने मोरङकी ६४ वर्षीया, चितवनकी ३६ वर्षीया र कैलालीकी ५७ वर्षीया महिलाको मृत्यु भएको हो।

के छ अरू तथ्याङ्क ?
बिरामीमध्ये १सय ८२ जना सघन उपचार कक्षमा र ३९ जना भेन्टिलेटरमा उपचाररत छन्।
विगत २४ घण्टामा १० हजार ६ सय ४१ वटा नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको डा. गौतमले बताउनुभयो।
डा. गौतमका अनुसार सो अवधिमा सङ्क्रमितमध्ये थप १ हजार २ सय ४३ जना कोरोना भाइरसको संक्रमण मुक्त भएका छन्। निको हुनेको कुल सङ्ख्या ४२ हजार ९ सय ४९ पुगेको छ।
अहिलेसम्म ७२ प्रतिशत सङ्क्रमितहरू रोगमुक्त भएको सरकारी तथ्याङ्क छ।(बीबीसी)


















