जनकपुरधाम (धनुषा), २ असोज । नेपालको जनकपुरको कुर्थादेखि भारतको जयनगरसम्मको हालको तयारी रेल्वेमा चलाउने उद्देश्यले खरिद गरिएका दुई थान रेल आज दिउँसोसम्म जनकपुर स्टेशन ल्याइने भएको छ।
ती रेलहरु बिहिबार नै जयनगर रेल्वे स्टेशनमा आइपुगेका छन् । रेलमा नेपालको राष्ट्रिय झण्डाको रंग लगाएर नेपालीपन दिइएको छ ।
रेल विभागले २०१९ को मे महिनामा ८४ करोड ६५ लाख रुपैयाँमा भारतको सरकारी कम्पनी कोंनकन रेल्वे कर्पोरेसनसँग रेल किन्ने सम्झौता गरेको थियो ।
पाँच वटा डिब्बासहितका एउटा रेलमा एकैपटक १२ देखि १३ सय यात्रुले यात्रा गर्न सक्छन् ।
रेलहरु शुक्रवार नै जनकपुर आइपुगे पनि व्यवसायिक रुपमा सञ्चालन दशैँ तिहारपछि मात्र सञ्चालन हुनेछन्।
कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सीमा नाका सिल गरिएका कारण तयार भइसकेको रेल भारतको पटनास्थित हाजीपुर स्टेसनमा ल्याएर राखिएको थियो।
रेल्वे विभागले केही दिन अगाडि भारतीय कम्पनीलाई रेल पठाउन पत्राचार गरेपछि हाजिपुरबाट जयनगर हुँदै जनकपुर ल्याइएको हो । परीक्षणपछि औपचारिक रुपमा रेललाई रेल्वे विभागले बुझ्नेछ।
रेल सञ्चालनका लागि मुख्य प्राविधिक टोली भने भारतबाटै आउने छन र उनीहरुले नेपालीलाई प्रशिक्षित गरी नेपाली प्राविधिक सक्षम भएपछि जिम्मेवारी हस्तान्तरण गर्नेछन् ।
ं
कम्पनीमा अहिले रेल्वे इन्जिनियरसहित मेकानिकल इन्जिनियर, रेल चलाउने ड्राइभर, स्टेशन म्यानेजर, टिकट काट्ने, र जाँच्ने लगायतको कर्मचारीको दरबन्दी सिर्जना गरिएको छ ।
रेल चलाउन रेल्वे विभागले तीन दिनअघि मात्र १ सय २९ कर्मचारीको नियुक्तिका लागि आवेदन खुला गरिएको छ। कर्मचारीका लागि फारम भर्ने अन्तिम मिति असोज १२ सम्म तोकिएको छ।
यसअघि नेपालमा कोइलाबाट चल्ने रेल चल्थ्यो । अब भने डिजेल इलेक्ट्रिफाइड मल्टिपल युनिट प्रविधिको रेल चलाउन लागिएको हो ।
भारतको जयनगरबाट धनुषाको कुर्थासम्म ३५ किलोमिटर लम्बाइको यो रेलमार्गका रेल लाइन तथा रेल्वे स्टेशन तयार भइसकेको छ। यसमा कुर्थाबाट विजलपुरा खण्ड १७ किलोमिटरसमेत गरेर ५२ किलोमिटरमा रेल चलाउने तयारी छ ।
जयनगरबाट आउने रेललाई ४ वर्षभित्र बर्दिवासमा पूर्व-पश्चिम रेलमार्गसँग जोडेर निजगढसम्म ल्याउने घोषणा सरकारले गरेको छ ।
सरकारले रेल सेवा सञ्चालनका लागि सरकारी स्वामित्वको नेपाल रेल्वे कम्पनीलाई जिम्मा दिएको छ ।
नेपालमा सन् १९७२ मा नेपाल रेल्वे कम्पनी स्थापना भएको थियो । यसले जनकपुर जयनगर खण्डको ४५ किलोमिटरको दूरीमा चल्ने रेल सेवा सञ्चालन गर्दथ्यो ।
नेपालका काठहरु भारतमा निर्माण उद्योगमा उपयोग गर्ने उद्देश्यले ब्रिटिस भारतको पालामा सन १९२७ मा भारतको रक्सौलदेखि अमलेखगञ्जसम्मको ३९ कि.मी रेल्वे निर्माण गरिएको थियो भने सने १९३७ मा भारतको जयनगरदेखि जनकपुरसम्मको रेल्वे निर्माण गरिएको थियो ।
त्रिभुवन राजपथ बनेपछि १९६५ बाट रक्सौल अमलेखगञ्ज रेल्वे सञ्चालनमा आएको छैन् । अहिले उक्त रेल्वे खण्डको रक्सौल सिर्सिया खण्ड भने स्तरोन्नति गरी सुख्खा बन्दरगाहसम्म सामान आयात तथा निर्यात गर्न सञ्चालन गरिएको छ ।


















