Prakash Adhikari September 18, 2020

वाशिंटन डी.सी.(संयुक्त राज्य अमेरिकां),२ असोज(बीबीसी)  । कोरोनाभाइरसबाट विश्वभरि सङ्क्रमित हुने मानिसहरूको सङ्ख्या ३ करोड नाघेको संयुक्त राज्य अमेरिकास्थित जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ।

चीनको वुहानमा गत वर्ष पहिलो पटक देखिएको कोरोनाभाइरसबाट हालसम्म मृत्यु हुनेहरूको सङ्ख्या ९ लाख नाघेको तथ्याङ्कले देखाउँछ।

कोरोनाभाइरसबाट विश्वमै सबैभन्दा धेरै सङ्क्रमण र मृत्यु अमेरिकामा भएको छ।

हालसम्म त्यहाँ ६६ लाख ६९ हजार ३ सय २२ भन्दा बढी सङ्क्रमित भएका छन् भने १लाख ९७ हजार ५ सय ८९ जनाको मृत्यु भएको उक्त विश्वविद्यालयले जनाएको छ।

गम्भीर स्थिति

दोस्रो धेरै सङ्क्रमित भारतका छन् भने तेस्रो बढी सङ्क्रमित रहेको देश ब्राजिल हो।

मृतकको सङ्ख्याको हिसाबले चाहिँ ब्राजिल दोस्रो स्थानमा छ भने भारत तेस्रो स्थानमा छ।

ब्राजिलमा १लाख ३४ हजार १ सय ६ जनाले कोरोनाभाइरसबाट ज्यान गुमाएका छन् भने भारतमा हालसम्म ८३ हजार १ सय ९८ जनाको मृत्यु भएको छ।

रुस १० लाख ८१ हजार १ सय ५२ सङ्क्रमितसहित चौथो स्थानमा छ भने पाँचौँ स्थानमा रहेको पेरुमा ७ लाख ४४ हजार ४ सय व्यक्ति सङ्क्रमित छन्।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार कोरोनाभाइरसबाट हालसम्म सबैभन्दा नराम्ररी प्रभावित देशका रूपमा अमेरिका, भारत र ब्राजिल रहे पनि पछिल्ला हप्तामा युरोपमा बढ्दो क्रममा सङ्क्रमण देखिएको छ।

Share Now

Leave a comment.