काठमाडौं, ८ असोज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशमा कोरोना भाइरसका सक्रिय संक्रमित बिरामीको संख्या २५ हजार पुगेमा पुनः लकडाउन गर्न सरकारसमक्ष सिफारिस गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनका अवसरमा बुधबार सो कुरा बताउनुभएको हो ।
‘देशमा कोरोना भाइरसका संक्रमित विरामीहरुको संख्या र यस घातक भाइरसको संक्रमणबाट मृत्यु भएकाहरुको संख्यालाई दृष्टिगत गर्दै मन्त्रालयले सक्रिय सङ्क्रमितको सङ्ख्या २५ पुगेमा पुन : बन्दाबन्दी गर्न सिफारिस गर्ने निर्णय गरिएकोछ ‘, मन्त्रालयका प्रवक्ता डा .जागेश्वर गौतमले भन्नुभयो ।
अहिले देशभरि १७ हजार ४ सय १४ जनामा सक्रिय सङ्क्रमण छ।
मन्त्रालयका अनुसार तीमध्ये ८ हजार २ सय २८ जना संस्थागत आइसोलेशनमा र ९ हजार १ सय ६६ जना घरमै छन्।
वाग्मती प्रदेशका जिल्लामा १० हजार भन्दाबढी सक्रिय सङ्क्रमित छन्। त्यसमा पनि काठमार्डौं उपत्यकामा हुने सङ्क्रमितको सङ्ख्या बढी छ।
काठमार्डौमा ७ हजार १ सय ६० सहित उपत्यकामा अहिले ८ हजार ७ सय १० सङ्क्रमित घर र संस्थागत आइसोलेशनमा छन्।
संक्रमणको अवस्था
विगत केही समययता उपत्यकामा दैनिक सयौँ सङ्क्रमित फेला पर्ने गरेका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बुधबार अपरान्हसम्म वितेको २४ घण्टामा मात्र थप १ हजार १ सय ७२ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको जनाएको छ।
यससँगै नेपालमा पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या ६७ हजार ८ सय नाघेको छ।
काठमाडौं जिल्लामा मात्रै अहिलेसम्म १५ हजार भन्दाबढी मानिसमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
ललितपुर र भक्तपुरसहित उपत्यकामा अहिलेसम्म पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या १८ हजार ५ सय नाघेको छ।
विगत २४ घण्टामा ७ जनाको कोरोना भाइरस संक्रमणसँग सम्बन्धित कारणले मृत्यु भएको मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ।
नेपालमा अहिलेसम्म ४ सय ३६ सङ्क्रमितको मृत्यु भएको छ।
सो अवधिमा १ हजार ८ सय ९३ जना रोगमुक्त प्रमाणित भएको बताइएको छ।
गत भदौ २४ देखि प्रत्येक दिन एक हजार भन्दाबढी सङ्क्रमित फेला परिरहेका छन्। मङ्गलवार मन्त्रालयले १ हजार ३ सय २६ सङ्क्रमित फेला परेको जनाएको थियो।
गत शुक्रवार एकै दिन २ हजार २० जनामा सङ्क्रमण पुष्टि भएको थियो।
यो अहिलेसम्मकै सर्वाधिक दैनिक वृद्धि हो।
सङ्क्रमित र मृतक कहाँका ?
अहिले फेला परेका सङ्क्रमितमध्ये ४ सय २६ महिला र ७ सय ४६ पुरुष छन्।
काठमाडौं ४ सय ९२, ललितपुरमा ५० र भक्तपुरमा ९५ गरी उपत्यकामा ६ सय ३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।
त्यसैगरी मोरङमा ४४, सुनसरीमा ३७, बाँकेमा ३०, रूपन्देहीमा ६७ र सुर्खेतमा ४९ सङ्क्रमित थपिएका छन्।
मृतकमध्ये एक महिला र छ पुरुष छन्।
उनीहरूको उमेर १६ वर्षदेखि ८३ वर्षसम्म भएको मन्त्रालयले जनाएको छ।
मृतकमध्ये काठमाडौं र बर्दियामा दुईदुई जना, ललितपुर, झापा र सिराहाका एकएक जना छन्।
अन्य विवरण
मङ्गलवार अपराह्णदेखि बुधवार अपराह्णसम्म ९ हजार ४ सय ४९ वटा नमुनाको परीक्षण भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताएका छन्।
उनका अनुसार अहिलेसम्म नेपालमा ४९ हजार ९ सय ५४ जना सङ्क्रमित निको भइसकेका छन्।
यो सङ्क्रमितको कुल सङ्ख्याको ७३.७ प्रतिशत हो।
गम्भीर लक्षण भएका बिरामीमध्ये २ सय २० जना सघन उपचारमा र ४३ जना भेन्टिलेटरमा भएको जानकारी मन्त्रालयले दिएको छ।
अहिले देशभरि ७ हजार १ सय ४ जना क्वारेन्टाइनमा छन्।(बीबीसीबाट)