ललितपुर, ११ असोज । नेपालको धितोपत्र तथा वस्तु विनिमय बजारको नियमन निकायको रुपमा रहेको नेपाल धितोपत्र बोर्डमा कार्यरत कर्मचारीहरुको संगठन नेपाल धितोपत्र बोर्ड कर्मचारी यूनियनले उच्च शिक्षामा अध्ययनरत विद्यार्थीहरुमा पूँजी बजारको ज्ञान अभिबृद्धि गराउने उद्देश्यले निबन्ध प्रतियोगिता गर्ने भएको छ ।
यूनियनले सबै विश्वविद्यालयका स्नातकोत्तर र दर्शनाचार्य(एमफिल) तहसम्म अध्ययनरत विद्यार्थीहरुलाई यस निबन्ध प्रतियोगितामा सहभागी हुन आह्वान गरेको छ ।
यूनियनले प्रतियोगिताको लागि ६ शीर्षक चयन गरेको छ । यूनियनले चयन गरेका शीर्षकहरुमा देशको द्रुततर विकासमा पूँजी बजारको भूमिका(Role of capital market in rapid development of country) ,पूँजी बजारमार्फत महिला सशक्तिकरण( Women empowerment through capital market),वित्तीय साक्षरता र पूँजी बजार(Financial Literacy and capital market),पूँजी बजार सेवा प्रवाह र संस्थागत सुशासन(Capital market,service delivery and corporate governance),प्रभावकारी पूँजी बजारका लागि सूचना प्रविधि(Information Technology for efficient capital market) तथा कोभिड १९ र अबको पूँजी बजार( Covid-19 and way forward of capital market) रहेका छन् ।

प्रतियोगीहरुले नेपाली र अंग्रेजी कुनै पनि माध्यममा आफ्ना निबन्धहरु seboneu@hotmail.com मा पेश गर्न सक्नेछन् ।
आयोजक यूनियनले निबन्धहरु ४ हजार शब्दमा नबढाई लेखिएको हुनुपर्ने, असोज १४ भित्र यूनियनको ठेगानामा आइपुग्नु पर्ने र नेपालीमा लेखिने निबन्ध प्रिती फण्टमा १४ प्वाइन्ट र अंग्रेजीमा लेखिने निबन्ध टाइम्स न्यू रोमनमा १२ प्वाइन्टमा लेख्नुपर्ने जनाएको छ ।
प्रतियोगीले निबन्ध पठाउदा आफ्नो नामथर,ठेगाना, फोन नम्बर, इमेल,अध्ययनरत कलेज र विश्वविद्यालय अनिवार्य रुपमा उल्लेख गर्नु पर्नेछ । निबन्धका साथमा संबन्धित कजेल वा विश्वविद्यालयको परिचय पत्र पनि समाविष्ट गर्नु पर्नेछ ।
आयोजनक नेपाल धितोपत्र बोर्ड कर्मचारी युनियनका अनुसार निबन्धको नतिजा अक्टोबर २०२० मा मनाइने विश्व पूँजी बजार सप्ताहको अवसरमा प्रकाशित हुनेछ । प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुनेलाई क्रमश रु २० हजार, १५ हजार र १० हजार रुपैया नगद पुरस्कारसहित सम्मानपत्र दिइने छ भने प्रोत्साहन पुरस्कार विजेतालाई रु ५ हजार नगद रुपैयासहित सम्मानपत्र दिइने छ ।


















