बाकु(अजरबैजान), १२ असोज । अर्मेनिया र अजरबैजानबीच दशकौं पुरानो सीमा विवाद आइतबार एकपटक पुनः चुलिएको छ ।
अर्मेनिया र अजरबैजान विवादित नागोर्नो–काराबाखको विषयमा एकपटक पुनः लडाईंको मैदानमा उत्रिएका छन् । त्यहाँ हेलिकोप्टर ड्रोनलाई हमला गरेर खसालिएको रिपोर्ट भेटिएको छ । कैयौं ट्रयांकहरु पनि क्षतिग्रस्त भएका छन् ।
दुबैतर्फका सैनिक र नागरिक हताहत भएका छन् । हालसम्म २३ जना मारिएको खबर छ ।
आइतबार नियन्त्रण रेखामा जुन प्रकारको भारी हतियारको प्रयोग भयो त्यो पछिल्ला केही वर्षमा भएको सबैभन्दा ठूलो झडप मानिएको छ ।

इरानको मध्यस्थताको प्रस्ताव
दुबै देशबीच सुरु भएको यो ताजा विवादमा संसारभरिका देशबाट प्रतिक्रिया आइरहेका छन् ।
आइतबार टर्कीका राष्ट्रपति रेचेप तैय्यप अर्दोआनले अजरबैजानको समर्थन गरेको घोषणा गर्नुभएको छ । यस्तै रुसले अर्मानिया र अजरबैजानसँग तत्काल संघर्षबिराम गर्न, दुबै पक्षलाई संयमता अपनाउन र कुराकानीमार्फत् मुद्दा सुल्झाउन आग्रह गरेको छ ।
अर्कोतर्फ अमेरिकाले दुबै देशलाई तुरुन्त लडाईं बन्द गर्न र विवादित बयान, कारवाहीबाट बच्न आग्रह गर्यो ।
यस्तै, फ्रान्सले दुबै देशलाई संघर्षविराम र छलफल गर्न आग्रह गरेको छ । फ्रान्समा ठूलो संख्यामा अर्मेनियाली समुदायको बसोबास छ ।
अजरबैजान र अर्मेनिया दुबै देशको सीमासँग जोडिएको देश इरानले पनि दुबै देशबीच शान्ति स्थापित गर्नका लागि मध्यस्थताको भूमिका निभाउन प्रस्ताव पेश गरेको छ ।
उता अजरबैजानका राष्ट्रपति इल्हाम अलियेवले आइतबार आफूले यो इलाकामा पुनः आफ्नो नियन्त्रण स्थापित गर्न सफल हुने विश्वास व्यक्त गर्नुभएको छ ।

अजरबैजानका राष्ट्रपति इल्हाम अलियेव
यसपटक कसरी सुरु भयो लडाईं ?
अर्मेनियाका रक्षामन्त्रीले बीबीसीसँगको कुराकानीमा नागोर्नो–काराबाखमा त्यहाँको राजधानी स्टेपनेकर्टसमेत थुप्रै बस्तीमा हमला भएको जानकारी दिनुभएको छ ।
त्यसपछि अधिकारीले एक महिला र एक बच्चाको मृत्यु भएको जानकारी दिनुभएको छ । नागोर्नो–काराबाखमा अलगाववादी समूहले आफ्ना करिब १६ जनाको मृत्यु भएको र करिब सयजना घाइते भएको जानकारी दियो ।
अर्मेनियाले आफ्नो दुई हेलिकोप्टर र तीन ड्रोन खसालिएको र तीन ट्याङक पनि नष्ट भएको बतायो ।
त्यसपछि अर्मानियाको सरकारले नागोर्नो–काराबाखमा ‘मार्शल ल’ लगाउने घोषणा पछि पूरा देशमा नै ‘मार्शल ल’ को घोषणा गरियो र सैनिक तैनाथ गरिदियो ।
अर्मानियाका प्रधानमन्त्री निकोल पाशिनियनले अजरबैजानमा सुनियोजित हमलाको आरोप लगाउँदै मानिसहरुलाई ‘आफ्नो पवित्र मातृभूमिको रक्षाका लागि तयार हुन’ अपिल गर्नुभयो ।
प्रधानमन्त्री पाशिनियनलेले यो इलाका एक ठूलो युद्धको अवस्थामा रहेको चेतावनी दिँदै टर्कीमाथि आक्रामक व्यवहारको आरोप लगाउँदै अन्तरराष्ट्रिय समुदायसँग इलाकामा कुनै पनि अस्थिरता रोक्नका लागि एकजुट हुन आह्वान गर्नुभयो ।

थुप्रै दशकदेखि चलिरहेको छ विवाद
अजरबैजानका रक्षामन्त्रीले एक हेलिकोप्टर नष्ट भएको चालक भने बाँच्न सफल भएका पुष्टि गर्नुभएको छ , साथै, उहाँले अर्मेनियाका १२ एयर डिफेन्स सिस्टममा क्षति पुगेको जानकारी दिनुभएको छ । यद्यपि, अर्मेनियाले थप क्षतिको जतिपनि दाबी गर्यो त्यो अजरबैजानका रक्षामन्त्रीले खण्डन गर्नुभएको छ ।
राष्ट्रपति अलियेवले देशबासीलाई सम्बोधन गर्दै अर्मेनियाली सेनाको हमलाको जवाफमा ठूलो मात्रामा जवाफी कारवाहीको आदेश दिनुभएको थियो ।
टिभीमा प्रसारित सम्बोधनमा उहाँले भन्नुभयो, ‘जवाफी कारवाहीमा अर्मानियालीको कब्जामा भएको अजरबैजानको आवसीय इलाका अब मुक्त भएको छ ।’
उहाँले भन्नुभयो, ‘मलाई पूरा विश्वास छ कि हाम्रो जवाफी कारवाहीले, ३० वर्षदेखि जुन अन्याय भइरहेको छ, त्यो कब्जालाई सधैंका लागि फुकुवा गरिदिनेछ ।’
अर्मेनियाली सेनाको सुरुवाती अस्वीकार पछि नागोर्नो–काराबाखका राष्ट्रपति अराइक हरतुन्यानले केही इलाका अजरबैजानसँग हारिसकेको पुष्टि गर्नुभएको छ ।

अर्मानियाले क्षतीको तस्बिर जारी गर्यो
नागोर्नो–काराबाख
नागोर्नो–काराबाख ४,४०० वर्ग किलोमिटरमा फैलिएको इलाका हो जहाँ अर्मेनियाली इसाई र मुस्लिम बसोबास गर्छन् ।
सोभियत संघको अस्तित्वको क्रममा यो अजरबैजान भित्र नै एक स्वायत्त क्षेत्र बनेको थियो ।
अन्तरराष्ट्रिय स्तरमा यसलाई अजरबैजानको हिस्साको रुपमा चिनिन्थ्यो तर यहाँ धेरैजसो अर्मोनियालीको जनसंख्या छ ।
सन् १९८० को दशकको अन्त्यदेखि सुरु भएका सन् १९९० को दशकसम्म चलेको युद्धको क्रममा ३० हजारभन्दा बढिको हत्या भएको थियो र १० लाखभन्दा बढि त्यहाँबाट विस्थापित भए ।
त्यतिबेला अलगावादी शक्तिले नागोरनो–काराबाखका केही इलाकामा कब्जा जमाए । यद्यपि, सन् १९९४ मा युद्धविरामपछि पनि यहाँ गतिरोध जारी छ । (बीबीसी)


















