Prakash Adhikari September 28, 2020

न्यूयोर्क(संयुक्त राज्य अमेरिका), १२ असोज(बीबीसी) । द न्यू योर्क टाइम्स पत्रिकाका अनुसार अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सन् २०१६ मा सङ्घीय आयकर बापत जम्मा ७ सय ५० डलर अर्थात झण्डै ९० हजार नेपाली रूपैयाँ मात्र तिनुभएको खुलासा भएको छ।

त्यसबेला राष्ट्रपतीय उम्मेदवार बन्नुभएका ट्रम्प चुनावमा विजयी भएर ह्वाइट हाउसमा पहिलो कार्यकालको अन्तिम बर्षमा हुँदा यस्तो रहस्य खुल्न गएको हो ।

डोनल्ड ट्रम्प र उनको कम्पनीहरूका दुई दशक अवधिको कर सम्बन्धी अभिलेखहरू प्राप्त गरेको बताउने न्यू योर्क टाइम्सले उनले विगत १५ वर्षमध्ये १० वर्ष कत्ति पनि आयकर नतिरेको आरोप पनि लगाएको छ।

उक्त पत्रिकाका अनुसार ती कर अभिलेखले ‘निरन्तरको घाटा र वर्षौँको कर छली’ लाई उजागर गर्दछन्।

डोनल्ड ट्रम्पले उक्त समाचारलाई ‘फेक न्यूज’ अर्थात मिथ्या समाचार भन्नुभएको छ।

ट्रम्प टावर
ट्रम्प टावर
‘वास्तवमा मैले कर तिरेको छु। मेरो कर भुक्तानी सम्बन्धी विवरण आउने बित्तिकै तपाईँले त्यो देख्न सक्नुहुन्छ त्यसको अहिले अडिट भैरहेको छ, मेरा कर भुक्तानी विवरणहरू लामो समयदेखि अडिटमा छन्’, आइतवार न्यू योर्क टाइम्समा समाचार प्रकाशित भएपछि पत्रकारहरूसँग कुरा गर्दै उहाँले त्यस्तो स्पष्टिकरण दिनुभएको हो।

‘आइआरएस (आन्तरिक राजस्व सेवा०_ले मलाई राम्रो व्यवहार गर्दैन‘।। तिनीहरूले मसँग नराम्रो व्यवहार गर्छन्। आइआरएसमा त्यस्ता मान्छेहरू छन् जसले मलाई एकदमै नराम्रो व्यवहार गर्छन्’, राष्ट्रपति डोनल्ड ट्रम्पले भन्नुभएको छ।

कानुनी चुनौती
डोनल्ड ट्रम्पले उहाँको सम्पत्ति र व्यापारिक कारोबारसँग सम्बन्धित दस्तावेजहरू सार्वजनिक गर्ने विषयमा विभिन्न कानुनी चुनौतीहरूको सामना गरिरहनुभएको छ।

न्यू योर्क टाइम्सले उसको समाचारमा भएका सूचना तथा जानकारीहरू ‘कानुनी रूपमा नै त्यस्ता जानकारीमा पहुँच भएका स्रोतहरूबाट’ प्राप्त भएको जनाएको छ।

न्यू योर्क टाइम्सले भनेको छ उसले राष्ट्रपति ट्रम्प र ट्रम्प अर्गनाइजेशनको स्वामित्वमा रहेका कम्पनीहरूको सन् १९९० को दशक देखिका कर भुक्तानी विवरण र सन् २०१६ र २०१७ को राष्ट्रपतिका निजी कर विवरणहरूको अनुसन्धान गरेको हो।

Share Now

Leave a comment.