काठमाडौं, १२ असोज । नेपालमा कोरोना संक्रमितको संख्या ७५ हजारको निकट पुगेको छ भने यस घातक भाइरसको संक्रमणको कारण ४ सय ८१ जनाले जीवन गुमाएका छन् ।
सोमबार अपरान्हसम्म २४ घण्टामा १ हजार ३ सय ५१ जना कोरोनाभाइरस सङ्क्रमित थपिएसंगै देशभरि कुल सङ्क्रमितको संख्या ७४ हजार ७ सय ४५ जना पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
सोमबार आयोजित स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयको प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार सो अवधिमा ४ जनाको कोरोनाभाइरस सङ्क्रमणबाट मृत्यु भएको छ।
संस्थागत र होम आइसोलेशनमा गरी देशभरि १९ हजार ६ सय २४ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। अहिले क्वारेन्टाइनमा ६ हजार ३ सय १० जना छन् भने संस्थागत आइसोलेसनमा ८ हजार ६ सय ९५ जना र होम आइसोलेसनमा १० हजार ९ सय २९ जना रहेका छन् ।

गत २४ घण्टामा ७ सय ४२ जना कोरोनाभाइरस सङ्क्रमणमुक्त भएका छन्।
हालसम्म निको हुनेको सङ्ख्या ५४ हजार ६ सय ४० रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
नेपालमा विगत २४ घण्टामा १० हजार ८० पीसीआर परीक्षण भएको छ । योसँगै मुलुकमा कुल ९ लाख ९८ हजार ४ सय ७ पीसीआर परीक्षण भइसकेको छ ।



















